पाँच वर्षअघि रूपन्देहीका केही गाउँहरू डुल्दै जाँदा उद्योगी तिलप्रसाद भट्टराईले विद्यार्थीहरू गाउँलेका घरमा गएर पानी मागेको देखे।
विद्यालयमा पिउने पानी नभएर उनीहरू पानी खोज्दै घरघर पुग्दा रहेछन्।
उनले त्यही बेला पानीको अभाव भएका विद्यालय र समुदायमा स्वच्छ पानी उपलब्ध गराउने विचार गरेका थिए।
रूपन्देहीको दक्षिणी भेगमा २० फिट हाराहारी गहिराइमा भूमिगत पानी भेटिन्छ तर पिउन योग्य मानिँदैन। यस्तो पानी पहेँलो र गन्ध आउने हुन्छ।
यो पानीमा उच्च मात्रामा आर्सेनिक तत्व हुने भएकोले पिउन अयोग्य मानिन्छ। आसेर्निकयुक्त पानी स्वास्थ्यका लागि दीर्घकालीन रूपमा हानिकारक हुन्छ।
तैपनि अधिकांश सामुदायिक विद्यालय र घरपरिवारले १५–२० फिट गहिराइमै हाते पम्पबाट पानी निकालेर प्रयोग गर्ने गरेका छन्।
कतिपय विद्यालयहरूले त बजेट अभाव देखाएर यस्तो हाते पम्प पनि राखेका छैनन्।
यस्तो समस्या देखेपछि भट्टराईले तीन वर्षमा १० वटा विद्यालय र केही समुदायमा स्वच्छ पिउने पानी व्यवस्था गरिदिएका छन्।
‘स्कुलमा विद्यार्थीहरूलाई पिउने पानीको समस्या पर्दो रहेछ। दिनहुँ धेरै विद्यार्थी पानी खोज्दै घरमा आउने भएपछि कतिपयले गेटमै ताला लगाउँदा रहेछन्,’ उनले भने, ‘यस्तो देखेपछि पिउने पानी नभएका विद्यालयमा पानी उपलब्ध गराउँदै जान्छु भनेर प्रण गरेको थिएँ।’
भट्टराईले २०७६ सालमा ‘पिउने पानी परियोजना’ सुरू गरे। उनका अनुसार हालसम्म १० वटा विद्यालयका चार हजार विद्यार्थी र कम्तीमा एक सय घरपरिवारलाई पिउने पानी पुगेको छ।
उनले यसै साता लुम्बिनी सांस्कृतिक नगरपालिका– ११, जितवापुरमा बोरिङ जडान गरी पिउने पानीको सामूहिक धारा हस्तान्तरण गरेका छन्।
उनले आफू सदस्य रहेको ‘रोटरी क्लब अफ सेन्ट्रल बुटवल’ को ‘स्वस्थ जीवनका लागि स्वच्छ पिउने पानी’ अभियान अन्तर्गत सामुदायिक विद्यालय र समुदायमा पिउने पानी व्यवस्था मिलाएका हुन्।
उनका अनुसार काम संस्थागत भए पनि लगानी व्यक्तिगत हो।
हालसम्म कति खर्च भयो?
भट्टराई यतिउति खर्च भयो भनेर बताउन चाहँदैनन्।
भन्छन्, आफ्नो इच्छाले गरेको काममा यति खर्च भयो भन्दै हिँड्नु उचित हुँदैन। एउटा हातले गरेको सहयोग अर्को हातले समेत थाहा पाउनु हुँदैन भनिन्छ। मैले पानीको व्यवस्था गरिदिएको हुँ, यति हो।’
क्लबका अध्यक्ष हिमाल गैरेका अनुसार खानेपानी परियोजनाको सबै खर्च भट्टराईले व्यक्तिगत रूपमा व्यहोरेका छन्।
गैरे भन्छन्, ‘यति खर्च भयो भनेर हामीलाई भन्नुभएको छैन। हामी त समुदायलाई हस्तान्तरण गर्ने समयमा सहभागी हुनेमात्रै हुने हो।’
हाते पम्पबाट निकालिएको पानी खाँदै आएका जितवापुरका बासिन्दाले अहिले झन्डै पाँच सय फिट गहिराइबाट तानिएको पानी पाएका छन्।
‘जितवापुर स्वच्छ पिउने पानी परियोजना उपभोक्ता समिति’ का अध्यक्ष ओमप्रकाश यादवले सरकारले गर्नुपर्ने काम टाढाका एक जना उद्योगीले गरिदिएको बताए।
उनले भने, ‘यति गहिरो बोरिङ गरेर स्वच्छ पानी खान पाउँछौँ भनेर हामीले कल्पना पनि गरेका थिएनौं। सरकारले नगरेको काम तिलप्रसादजीले गरिदिनुभयो।’
परियोजना हस्तान्तरण कार्यक्रममा रूपन्देही, क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले पानीको चरम अभाव भएको ठाउँमा तिलप्रसादले पुण्यको काम गरेको बताए।
उनले परियोजनाको नियमित मर्मतसम्भार र संरक्षणको जिम्मा समुदायले लिनुपर्ने पनि बताए।
भट्टराईले सरकारको मात्र नभई नागरिकको पनि दायित्व हुने ठानेर स्वच्छ पानीका लागि आफूले प्रयास गरेको बताए।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले लुम्बिनी क्षेत्रमा पिउने पानी समस्या समाधान गर्न सबैको साझा प्रयास आवश्यक रहेको बताइन्।
उक्त परियोजनाबाट जितवापुरका करिब ३० घर परिवारमा खानेपानीको समस्या समाधान भएको छ।
जितवापुरमा स्वच्छ खानेपानीको समस्या नयाँ होइन। हरेक परिवारले पाँच सय फिट गहिरो बोरिङ गरेर पानी निकाल्न सम्भव हुँदैन।
भट्टराईले लुम्बिनी सांस्कृतिक नगरपालिका, मायादेवी, सम्मरीमाई, कोटहीमाई र मर्चवारीमाईका सामुदायिक विद्यालय र समुदायमा गरी १० वटा पिउने पानी परियोजना निर्माण गरी हस्तान्तरण गरेका छन्।
उनले केही विद्यालयमा पिउने पानी व्यवस्थासँगै शौचालय पनि निर्माण गरिदिएका छन्।
लुम्बिनी सांस्कृतिक नगरपालिका–५, ढोडहवास्थित तरकुल्लाह आधारभूत विद्यालयका शिक्षक मदन पौडेलले विद्यालयमा बोरिङ जडान भएपछि आर्सेनिकयुक्त पानी पिउनुपर्ने बाध्यताबाट मुक्ति मिलेको बताए।
उनले भने, ‘उहाँ (भट्टराई) त हाम्रो लागि जलदेवता नै हुनुभयो। पहेँलो पानी पिउनुपर्ने बाध्यता थियो, अहिले स्वच्छ पानी पाएका छौँ।’
भूमिगत पानीको सतह गहिरिँदै जान थालेपछि स्वच्छ पिउने पानीको लागि सामुदायिक विद्यालय र घरपरिवार आफैंले लगानी गरेर स्वच्छ पानी पाउने अवस्था नरहेको उनको भनाइ छ।
उनका अनुसार १५–२० फिटमा भेटिने पानीमा आर्सेनिक धेरै हुन्छ। तीन–चार सय फिट गहिराइबाट पानी निकाल्न चार–पाँच लाख रुपैयाँ लाग्छ।
सम्मरीमाई गाउँपालिका–६, मधैयास्थित जनता आधारभूत विद्यालयका प्रधानाध्यापक शिव वसन्त यादवका अनुसार विद्यालयमा पानी उपलब्ध भएपछि विद्यार्थीहरू कक्षा छोडेर पानी खोज्दै गाउँ डुल्नुपर्ने बाध्यता हटेको छ।
पानीको अभाव झेलिरहेका विद्यालयहरूले भट्टराईलाई निवेदन पनि बुझाउन थालेका छन्। दक्षिणी क्षेत्रका केही सामुदायिक विद्यालयहरूको निवेदन आएको भट्टराईले बताए।
को हुन् तिलप्रसाद?
पाल्पामा जन्मेका तिलप्रसाद २०२७ सालमा जागिर खोजी गर्दै बुटवल आएका थिए। पढाइमा निकै तेज थिए तर गरिबीका कारण आठ कक्षामाथि पढ्न पाएनन्।
पढाइ छाडेपछि उनी बुटवल ओर्लेका थिए। जागिर खोज्दै एक दिन बुटवलको सडक विभाग कार्यालयमा पुगेका थिए।
त्यहीँ भेट भएका एक जनाले भारतमा काम मिलाइदिन्छु भनेपछि उनकै पछि लागेर १६ वर्षको उमेरमा दिल्ली पुगे।
ती व्यक्तिले एक जना शिक्षकको घरमा खाना पकाउने काममा लगाइदिए। त्यो परिवारमा उनले काम मात्रै पाएनन्, माया पनि पाए। तिनै शिक्षकले उनलाई पोलिटेक्निकल कलेजमा इलेक्ट्रिक विषय पढ्न भर्ना गरिदिए।
दुई वर्षको पढाइ सकेपछि भट्टराईले भारतको ‘नेसनल रेडियो कम्पनी’ मा जागिर पाए। कार्यालय सहयोगीबाट काम सुरू गरेका भट्टराई एकाउन्टेन्ट (लेखा परीक्षक) भए।
उनको निकै राम्रो प्रगति भयो। कम्पनीले दिल्लीमा घर किनिदियो। स्वदेश पनि आइरहन्थे। बिहे भयो। भारतमै पाँच सन्तान जन्मिए।
चौध वर्ष काम गर्दा उनी कम्पनीका ‘मल्टिमिटर टेक्निसियन’ भए। छोराछोरी पनि हुर्कंदै गए। अन्ततः उनले नेपाल फर्किने निधो गरे।
भारतमा इलेक्ट्रिक क्षेत्रको कामको अनुभव भएकाले उनले नेपालमा बिजुलीको केबुल (तार) उत्पादन गर्ने योजना बनाए।
यही योजनाअनुसार भट्टराई २०४८ सालमा बुटवल फर्किए। उद्योगको लागि बुटवल औद्योगिक क्षेत्रमा ठाउँ पाए।
‘लुम्बिनी केबुल उद्योग’ नाममा साझेदारीमा उद्योग सुरू गरे। उद्योगले टेलिभिजन, रेडियो, इमर्जेन्सी लाइट लगायतमा लाग्ने लिड तार र डिस एन्टिनामा लाग्ने तार उत्पादन गर्न थाल्यो।
व्यवसाय बढ्दै गयो। साझेदारीमै प्लास्टिक दाना उत्पादन गर्ने ‘लुम्बिनी पोलिमर प्रालि’ सुरू गरे।
प्लास्टिकका मिटर बक्स बनाउने ‘लुम्बिनी प्लास्टिक फिटिङ प्रालि’ पनि सुरू गरे।
हाल उनले एकल लगानीमा ‘पूजा इलेक्ट्रिक प्रोडक्ट’ उद्योग चलाएका छन्। यसले बिजुलीका बोर्ड र स्वीच उत्पादन गर्छ।
अर्को छ ‘पूजा प्लास्टिक उद्योग’ जसले प्लास्टिक हेंगर, पर्दा झुन्ड्याउने पाइप, डोर बेल, पिठो चाल्ने चाल्नी लगायतका सामान उत्पादन गर्छ।
उनको एकल लगानीका दुई वटा उद्योगमा ६० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।
उनले यिनै उद्योगको कमाइको केही अंश सार्वजनिक हितमा प्रयोग गरेका हुन्।
भट्टराई भन्छन्, ‘समाज सेवामा कति खर्च भयो, मेरो सम्पत्ति कति छ भन्ने कुरा ठूलो होइन। म ७१ वर्षको भएँ। मैले कमाएको सम्पत्ति यिनै उद्योग हुन्।’
उनले बुटवल औद्योगिक क्षेत्र उद्योग संघको अध्यक्ष र नेपाल औद्योगिक क्षेत्र उद्योग संघको केन्द्रीय अध्यक्षका रूपमा पनि जिम्मेवारी पूरा गरेका छन्।
मानिसले आफ्नो सम्पत्तिको केही अंश सार्वजनिक हितमा उपयोग गर्नुपर्छ भन्ने उनको मान्यता रहेको छ। यसै अनुसार उनी खानेपानी परियोजनामा लागेका छन्।
यस्तो कामबाट आफूलाई सन्तुष्टि मिल्ने उनको भनाइ छ।