पोखराको विन्ध्यावासिनी मन्दिर सभाहलमा शनिबार विशेष ‘यज्ञ’ चलिरहेको थियो। बाहिर मन्दिरमा भक्तजनको घुइँचो थियो। उनीहरूले बजाएको घण्टीको ध्वनी सभाहल भित्रसम्म गुञ्जिएको थियो। सभाहलमा माइक जोडेर बोलिएका आवाजमा घण्टीको ध्वनी मिसिँदा सहभागीहरू कुनै अनुष्ठानमा भाग लिइरहेको अनुभूति गर्थे।
‘आज हाम्रो लागि विशेष दिन हो,’ कवि तीर्थ श्रेष्ठले मञ्चमा उभिएर भने, ‘मलाई श्रद्धालु भक्तजनको अनुभव भएको छ।’
मन्दिरमा पूजा गर्न गएका भक्तजनको घुइँचोजस्तै सभाहलमा पनि अनुष्ठानमा भाग लिन गएका व्यक्तिहरूले भरिएका थिए। माइकमा नेपाली कला जगतका शिखर व्यक्तित्वमाथि चर्चा भइरहेका थिए। मन्दिरमा बजेका घण्टीका गुञ्जनले सभाहलभित्र गरिएका अनुष्ठानलाई संगीतमय बनाइदिएको थियो।
मन्दिरको सभाहलमा वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’ र उनका श्रीमती पार्वती बराल दुबोको माला लगाएर बसेका थिए। वात्स्यायनका व्यक्तित्व र चित्रकारितामाथि वरिष्ठ साहित्यकार सरूभक्त र तीर्थ श्रेष्ठले स्वतन्त्रतापूर्वक प्रशंसा गरिरहेका थिए।
नेपाली कला जगतका विश्वस्तरका प्रतिभा भनेर उनीहरू जब उनीहरू वात्स्यायनको प्रशंसा गर्दथे, मन्दिरमा बजेका घण्टीको ध्वनी अझ सुमधुर सुनिन्थ्यो।
‘वात्स्यायनको चित्रकला देशविदेशका आर्ट ग्यालरीमा संग्रहित छन्,’ सरूभक्तले भने, ‘उहाँलाई बालकृष्ण समले त्यतिबेलै साल्भाडोर डालीजस्ता विश्वस्तरका चित्रकार नेपालमा जन्मेका छन् भनेर उहिल्यै चर्चा भन्नुभएको थियो।’
व्यंग्य चित्रलाएई उचाइमा पुर्याउने काम गरेको भन्दै उनले नेपाली कला जगतका निर्विकल्प उचाइ पाएको व्यक्तित्व भनेका छन्।
पोखरामा रहेर चित्रकला मात्र होइन, वाङ्मयका क्षेत्रमा पनि उत्तिकै अभिभावकीय भूमिका खेलेको भन्दै सरूभक्तले भने, ‘हामीले सधैं उहाँको आशीर्वाद पाउन सक्यौं, उहाँसँग संगत गर्न पायौं, यसका लागि उहाँप्रति आभारी छौं।’
कवि तीर्थ श्रेष्ठले कलाकार वात्स्यायन सबैको मन मुटुमा बस्न सफल भएको बताए।
कलाकारितामा मात्र नभएर साहित्यका क्षेत्रमा पनि वात्स्यायनले उत्तिकै चासो दिने गरेको उनले बताए।
‘कसैले कसैलाई यसै आकर्षित गर्न सक्दैन,’ श्रेष्ठले भने, ‘वात्स्यायनले कलाको माध्यमबाट हामीलाई साहित्यिक गतिविधि गर्न अभिभावकका रूपमा प्रोत्साहन गर्नुभयो।’
मन्दिरमा देवता जसरी रथयात्रामार्फत् भित्रिएका वात्सायानले आफ्नाबारे धेरै बोलेनन्। आफ्नाबारे सरूभक्त र तीर्थ श्रेष्ठले भने भन्दा धेरै कुरा आफ्ना नरहेको उनले सुरूमै बताए। त्यसपछि उनले कलाकारिताप्रति आफ्ना सुरूआती लगाव स्मरण गरे।
वात्स्यायनले तीन वर्षकै उमेरमा आमा गुमाउनुपर्यो। त्यतिबेला उनलाई फुपूले हेरचाह गर्थे। उनले पनि फुपूलाई आमा मान्थे। फुपूले आफ्नो घर सजावट गरेको वात्स्यायनले अहिले पनि भुलेका छैनन्।
‘सानो होइन, मिनी साइजको घर थियो, दुइपाखे,’ शनिबार पोखरामा अभिनन्दित भएपछि उनले भने, ‘घरमा सम्पूर्ण चिज व्यवस्थित गरेर राखिएको थियो, अत्यन्त सुन्दर थियो।’
पोखराको आर्वामा जन्मेका वात्स्यायनले फुपूको घरमा बस्दा देखेको दृश्य अझै व्याख्या गर्दै गए।
उनका अनुसार घर अगाडि मण्डला कमेरो पोतिएको थियो। त्यसको बीचमा माटो। जब अँध्यारो हुन्छ, त्यतिबेला माटोकै टुकी बालिन्थ्यो। त्यतिबेला देखिएको मण्डलाको दृश्य उनको मष्तिष्कबाट अझै मेटिएका छैन।
‘म अँगेनामा बसेर मण्डला हेर्छु, एकदम जीवन्त, एकदम आकर्षक,’ उनले भने।
मानिसले घर व्यवहार गर्दा प्रयोग गरेका सामग्रीलाई उनले कलाका आँखाले हेरेछन्।
पोखराका प्रकृतिले उनलाई अझ प्रेरणा दिएछ।
‘मलाई लाग्छ, मेरो गाउँघरमा सजाइने सजावट छ, त्यसको सौन्दर्य चेत, अर्को प्राकृतिक सौन्दर्य चेत,’ उनले थपे, ‘त्यसले गर्दा म चित्रकलातर्फ लागे जस्तो लाग्छ।’
बाल्यकालमा आर्वामै बसेर प्रारम्भिक शिक्षा लिँदा नै उनले चित्रकारिता थालिसकेका थिए।
पढ्नभन्दा चित्र बनाउन उनको ध्यान जान्थ्यो। प्रारम्भिक शिक्षा लिएपछि उनलाई परिवारले पोखराको नदीपुरमा मामाघर ल्याइदिए। त्यसपछि उनले उच्च शिक्षा हासिल गरे।
पोखरामा क्याम्पस पढ्दा पढ्दै काठमाडौंमा कला विषय नै पढ्न पाइने उनले थाहा पाए। त्यसपछि उनलाई कलाकारिता अध्ययन गर्ने हुटहुटी जाग्यो।
‘म कसरी काठमाडौं जाने भनेर दिनरात बेचैन भएँ, छटपटी भएँ,’ उनले भने, ‘त्यतिबेला तेर्सापट्टीमा अफिस थियो, त्यहाँ काम गर्दा जम्मा पारेको पैसा लिएर म काठमाडौं पढ्न गएँ।’
१७ वर्षकै उमेरमा विवाह गरेर वात्स्यायन काठमाडौं गएका थिए। विवाहका सुरूआती दिनमा श्रीमतीसँग बोलचालै नभएको उनले खुलाए। आफू काठमाडौं पढ्न गएकै बेला श्रीमती पनि एउटा तालिमका लागि काठमाडौं पुगेको उनले बताए।
काठमाडौंमा सँगै बस्दा खर्च सकिएपछि उनी आफू पोखरा फर्किएको बताए। त्यतिबेला श्रीमतीलाई तालिम सकेर आउनू भनेर फर्किएको उनले बताए।
कलाकारिताप्रति वात्स्यायनको लगाव घटेको थिएन। वात्स्यायन कलाकारिता सिक्न दिल्ली गए। दिल्लीमा उनले एक जना कलाकारसँग काम गरे। तिनै कलाकारले उनलाई नेपाल फर्कन रक्सौलसम्मको टिकट काटेर पठाइदिएको वात्स्यायनले बताए।
‘दिल्लीमा म १५ दिन जति भौंतारिएँ। दिल्लीमा एकदम प्रतिस्पर्धा हुन्छ, हरेक कुरामा। नेपाल सानो देश छ, सजिलो हुन्छ। उतै फर्क, उतै अध्ययन गर भनेर मलाई टिकट काटेर फर्काइयो,’ वात्स्यायनले भने।
दिल्लीबाट उनी पोखरा फर्केनन्। कलाकारितामा डुब्न हिँडेका उनी फेरि काठमाडौं पुगे। काठमाडौंबाट चित्रकलासम्बन्धी तालिम लिन जापान गए। जापानबाट फर्केर भने उनी स्थायी रूपमा पोखरालाई स्टुडियो मानेर कलाकारितामा डुबे।
‘जापानबाट फर्केपछि मलाई काठमाडौं बस्न मन लागेन, उकुसमुकुस वातावरण नमिल्दो,’ उनले भने, ‘त्यतिबेला २५ वर्ष काटिसकेको थिएँ, पढ्नका लागि छात्रवृत्ति पाउने उमेर सकिएको थियो, काठमाडौं बस्ने सपना पनि देखिनँ।’
काठमाडौं बस्दा वरिष्ठ कलाकारहरू लैनसिंह बाङ्देल, बालकृष्ण सम जस्ता अग्रजसँग काम गर्न पाएको उनले बताए। उनीहरूसँग काम गर्दाका अनुभव र सल्लाहले आफूलाई निखार्न भूमिका खेलेको उनको अनुभव छ।
पोखरा फर्किएर पोखरेली कला विकासमा लागि परेका वात्स्यायनले विक्रम संवत २०२२ सालदेखि नै संस्थागत पहल गरेका थिए। पोखरामा अहिले भएका सबैजसो कलाकारका गुरू रहेका वात्स्यायनले त्यतिबेला खोलेको संस्था नै अहिले रूपान्तरित भएर सिर्जनशील कलाकार समूह क्रियाशील छ।
विदेशमा भएका कला प्रदर्शनीहरू देखेपछि उनले नेपालको सामाजिक विषयवस्तु समेट्ने गरी कलाको छुट्टै पहिचान हुनुपर्नै धारणा बनाएको बताए।
चित्रकलामा सामाजिक विषयवस्तु उठाउने वात्स्यायन कार्टुनमा विसंगतिमाथि गहिरो ब्यङ्ग्यवाण प्रहार गर्छन्।
जीवनका ४५ वर्ष बढी समय चित्रकलामा खर्चिएका वात्स्यायनका चित्रकला र कार्टुन दर्जनौं प्रदर्शनीमा सहभागी छन्। चित्रकला यात्रामा उनले डेढ दर्जन बढी पुरस्कार र सम्मान पाइसकेका छन्।
जीवनको ८० औं वर्ष पार गरेको अवसरमा पोखरेली युवा सांस्कृतिक परिवारले उनलाई शनिबार रथारोहणसहित सम्मान गरेको थियो। वात्सायानको आफ्नै निवासबाट रथयात्रा गरेर उनलाई विन्ध्यावासिनी मन्दिर पुर्याइएको थियो।
नेपाली चित्रकलालाई उचाइमा पुर्याउन वात्स्यायनले गरेको योगदानलाई कदरस्वरूप रथयात्रा र अभिनन्दन गर्न पाउँदा आफूहरूलाई खुसी लागेको परिवारका अध्यक्ष उपेन्द्र पौडेलले बताए।
वात्स्यायनले चित्रकारितामार्फत् सामाजिक विकृतिमाथि चोटिलो प्रहार गरी सभ्य समाज बनाउन योगदान दिएको उनले बताए।