रूकुम पश्चिममा एक हप्तादेखि बेपत्ता एक व्यक्तिको शव मंगलबार कुकुरले पत्ता लगाएको छ।
रूकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ३ छेडाका बोल्न नसक्ने ६५ लोकबहादुर केसी चैत १ गतेदेखि बेपत्ता थिए। उनी बिहान ८ बजे घरबाट घाँस काट्न भनेर गएदेखि बेपत्ता भएका थिए।
लोकबहादुरको शव मंगलबार दिउँसो २ बजेतिर पूर्ण रूपमा माटोले पुरेको अवस्थामा छेडादेखि माछामी जाने भित्री सडक खण्डको गड्याङ भन्ने स्थानमा सडकदेखि झन्डै ६० मिटर तल फेला परेको हो।
जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले माटोले पूर्ण रूपमा पुरेको अवस्थाको शव कुकुरको सहयोगमा फेला परेको सेतोपाटीलाई बताए।
बेपत्ता लोकबहादुरको खोजी गरिदिन भन्दै भाइ डिल्लीबहादुर खत्रीले चैत २ गते प्रहरीमा निवेदन दिएका थिए। लगातार खोजी गर्दा पनि फेला नपरेपछि सोमबारमात्रै बाँकेको कोहलपुरबाट तालिम प्राप्त कुकुर रूकुम पश्चिम लगिएको थियो।
सोही कुकुरसहित खोजी गर्ने क्रममा लोकबहादुरको शव फेला परेको हो।
घटनास्थल क्षेत्रमा डोजरले खनेर बाटो निर्माणको काम भइरहेको हुँदा बाटो खन्ने क्रममा माथिबाट झरेको ढुंगाले लागेर लोकबहादुरको मृत्यु भएको हुन सक्ने आशंका गरिएको भट्टराईले जानकारी दिए।
‘हामी अहिले घटनास्थलको मुचुल्का तयार पार्दैछौं,’ उनले भने, ‘त्यसपछि शव पोष्टमर्टमका लागि अस्पताल लगिने छ।’
पोष्टमर्टम रिपोर्टपछि मृत्युको कारणबारे थप भन्न मिल्ने उनले जानकारी दिए।
मृतकका आफन्तले भने कसैले उनको हत्यापछि शव गाडेको हुन सक्ने आशंका व्यक्त गर्दै आएका छन्।
‘घाँस काट्न भनेर लगिएको हतियार अर्कै ठाउँमा र शव अर्कै ठाउँमा फेला पर्नुले थप शंका पैदा गरेको छ,’ एक स्थानीयले भने, ‘लोकबहादुरको हत्या भएको हुन सक्छ।’
प्रहरी अधिकारीहरू भने लोकबहादुरको हत्या हुनुपर्ने त्यस्तो खास कारण केही नदेखिएको बताउँछन्।
घटनास्थल सोलाबाङ प्रहरी चौकीदेखि १ किलोमिटर उत्तर पश्चिम गर्छ।