काठमाडौंको नेवाः समुदायमा एउटा विश्वास छ- सहरका विभिन्न आठ दिशामा बस्ने आठ जना अजिमाले कुनै पनि विघ्नबाधा प्रवेश गर्न दिने छैनन्।
अष्टमात्रिकासमेत भनिने यी आठ अजिमालाई दिदीबहिनी मानिन्छ। उनीहरूमध्ये तीन जना— कंगः अजिमा, टेबहाः अजिमा र वटु अजिमाको आज पाहांचःह्रे जात्राका अवसरमा असनमा भेट भएको छ।
कुनै बेला सात जना अजिमालाई असनमा भेटाउने चलन थियो। अहिले यो चलन संशोधन हुँदै तीन जनामा सीमित हुन पुगेको छ।
यहाँ प्रश्न उठ्छ, आठ अजिमामध्ये सात जनाको मात्र किन भेट गराइयो होला?
यसको पछाडि एउटा कथा छ-
काठमाडौं सहरको रक्षा गरिरहेका अष्टमात्रिकामध्ये विष्णुमति खोला नजिकै बस्ने इन्द्रायणी अजिमा सबभन्दा गरिब हुन्छिन्। उनका बालबच्चा पनि धेरै हुन्छन्। एकदिन जेठी दिदी वत्सलाले इन्द्रायणी र उनका बालबच्चालाई नखट्य (भोज) मा आउन निम्तो दिन्छिन्।
इन्द्रायणी सबै दिदीसँग भेट हुने खुसीले दंग पर्दै नखट्य खान वत्सलाको घर पुग्छिन्। तर त्यहाँ अरू दिदीहरू आएका हुँदैनन्।
इन्द्रायणी वत्सलालाई प्रश्न गर्छिन्, 'अरू दिदीहरू खै त तता (दिदी)?'
वत्सला भन्छिन्, 'उनीहरू हिजै आइसके। तिमी नराम्रो नमान है, हामी दिदीबहिनीहरू तिमी सँगै रहँदा अप्ठ्यारो महसुस गर्छौं।'
इन्द्रायणी छक्क पर्दै सोध्छिन्, 'त्यसो किन तता?'
वत्सला भन्छिन्, 'हामी सबै दिदीबहिनी राम्रो लुगा र गहनामा सजिएका हुन्छौं। तिमी चाहिँ झुत्रीझाम्री भएर आउँछौ। तिम्रा बच्चाहरू पनि झुत्राझाम्रा लुगा लगाएर आउँछन्। होहल्ला गरेर घरको शान्ति भंग गर्छन्। त्यही भएर अरू दिदीबहिनीलाई हिजो बोलाएर तिमीलाई मात्र आज बोलाएको।'
इन्द्रायणीको मन दु:खले भारी हुन्छ।
उनले यो पनि थाहा पाउँछिन्, उनी र उनका बालबच्चालाई अघिल्लो दिन पकाएर बचेका बासी खानेकुरा खुवाउन लागिएको रहेछ।
उनी नखट्य नखाई आफ्ना बालबच्चा च्यापेर वत्सलाको घरबाट निस्किहाल्छिन्।
हिँड्ने बेला वत्सलालाई भन्छिन्, 'म गरिब छु भन्ने कुराले मलाई कहिल्यै नराम्रो महसुस भएन, जति आज तपाईंको वचनले नराम्रो लाग्यो। आज तपाईंले मलाई गरिब हुनु नै मेरो सबभन्दा ठूलो अपराध हो भन्ने महसुस गराउनुभयो।'
त्यहाँबाट आफ्नो घर फर्कने क्रममा फसिःकेव भन्ने ठाउँ पुगेपछि इन्द्रायणीको भेट एक बूढी आमासँग हुन्छ। आफूलाई दिदीले गरेको सबै व्यवहार ती बूढी आमालाई सुनाएर उनी मन हल्का पार्छिन्।
सबै कथा सुनेपछि ती बूढी आमाले इन्द्रायणी र उनका भोकाएका बच्चाहरूलाई खानेकुरा हुन्छ भनेर एउटा फर्सी दिएर पठाउँछिन्।
घर पुगेपछि इन्द्रायणी त्यो फर्सी पकाउन थाल्छिन्। पकाउँदा पकाउँदै उनी र उनका बालबच्चा निदाउँछन्। पछि उठेर हेर्दा उनी छक्क पर्छिन्- फर्सीको झोल त सुनको झोलमा परिणत भइसकेको हुन्छ!
उनी सुनको झोल थालमा खन्याउँछिन्।
यहाँ अर्को अचम्म के हुन्छ भने, जति खन्याए पनि झोल सकिँदै सकिन्न!
घरमा भएभरका भाँडामा खन्याउँदा पनि सुनको झोल आउन बन्द नभएपछि उनी खोलामा खन्याउन जान्छिन्।
खोलामा सुनौलो पानी बग्न थाल्छ र खोलाको नाम नै 'लुँ खुसि' रहन्छ। नेपाल भाषामा 'लुँ' भनेको सुन र 'खुसि' भनेको खोला हो।
त्यस दिनपछि इन्द्रायणी काठमाडौं सहरकै सबभन्दा धनी महिला हुन्छिन्। उनलाई सबैले 'लुँति अजिमा' भन्न थाल्छन्।
अर्को वर्ष फेरि नखट्य बोलाउनुपर्ने बेला आउँछ। ठूली दिदी वत्सला इन्द्रायणी उर्फ लुँति अजिमालाई निम्तो दिन उनकै घर पुग्छिन्।
वत्सला भन्छिन्, 'तिम्रो सम्पन्नता देखेर मलाई निकै खुसी लाग्यो। म तिमीलाई अर्को साता हुने नखट्यमा बोलाउन आएको।'
इन्द्रायणीले पुराना सबै कुरा बिर्सिएर भन्छिन्, 'म आउँछु तता।'
अर्को साता इन्द्रायणीले पहिलोपटक आफ्ना दिदीहरूसित सँगै बसेर नखट्य खाने अवसर पाउँछिन्।
सबै जना भोज खानै लाग्दा उनी आफ्ना गरगहना फुकाल्छिन् र त्यसलाई खानेकुरामाथि राख्दै भन्छिन्, 'ल खा, ल खा। राम्ररी खा।'
इन्द्रायणीको यस्तो व्यवहार देखेर सबै चकित पर्दै सोध्छन्, 'यो के गरेको तिमीले?'
जवाफमा इन्द्रायणी भन्छिन्, 'तिमीहरूले आज मलाई जुन सम्मान देखायौ, त्यो सम्मान मलाई होइन, मैले लगाएका यी गहनालाई गरेका हौ। त्यही भएर तिमीहरूले बनाएका खानेकुरा म यही गहनालाई खुवाउँछु। मलाई थाहा छ, तिमीहरूको मनमा मेरो कुनै स्थान छैन। मेरो सम्पन्नता देखेर मात्र तिमीहरूले मलाई निमन्त्रणा दिएका हौ। तिमीहरूजस्ता लालची दिदीबहिनीलाई अबबाट म कहिल्यै भेट्ने छैन। म यत्ति भन्न यहाँ आएकी हुँ।'
यति भनेर वत्सलाको घरबाट निस्केर हिँडेकी इन्द्रायणी अर्थात् लुँति अजिमाले त्यसपछि आफ्ना दिदीहरूलाई कहिल्यै भेटिनन्।
त्यही भएर काठमाडौंका आठ अजिमामध्ये लुँति अजिमा पाहांचःह्रे जात्रामा सहभागी हुँदिनन्। बालाचःह्रेको समयमा उनको छुट्टै जात्रा हुन्छ। त्यसैले पाहांचःह्रेमा हुने खट जात्रालाई काठमाडौं कोर-सिटीको तल्लो भाग (क्वने) को जात्रा भनिन्छ, जबकि बालाचःह्रेको जात्रा माथिल्लो टोल (थने) को जात्रा हो।
पाहांचःह्रेमा लुँति अजिमाको जात्रा किन हुन्न भन्नेबारे अर्को पनि कथा छ।
एकचोटि लुँति अजिमा जात्रामा भाग लिन आउँदा आउँदै ढिला भइछन्। त्यो दिनबाट उनलाई जात्रामा आउन दिइएनछ र पाहांचःह्रे भन्दा चार महिनाअघि उनको नाममा छुट्टै जात्रा गर्न थालिएछ।
कथा-किम्बदन्ती जे भए पनि पाहांचःह्रेमा हामी लुँति अजिमालाई देख्न पाउँदैनौं।
लुँति अजिमासँग जोडिएको कथा काठमाडौं संस्कृतिमा कतिसम्म अभिन्न छ भने आज पनि वत्सलाले आफ्नी दिदीबहिनी बोलाएर भोज खुवाएको सम्झनामा पाहांचःह्रे बेला दिदीबहिनी, पाहुना र साथीभाइ डाकेर नखट्य खुवाउने चलन छ। कतिपयले पाहांलाई पाहुना र चःह्रे भनेको चतुर्दशी हो भनेर पनि अर्थ्याउँछन्। कतिको यो जात्रा पिचास चतुर्दशीबाट आएको हुनसक्ने भनाइ छ।
पाहांचःह्रेको मुख्य आकर्षण असनको खट जुधाउने जात्रा हो। तर पाहांच:ह्रे त्यतिमै सीमित छैन। यो जात्रा तीन दिनसम्म चल्छ। यसमा लुकु महाद्यः (लुकेको महादेव) को पूजादेखि साना केटाकेटीलाई मरःजा (भात, मासु, गेडागुडी लगायत विभिन्न खानेकुरा) खुवाउने, ङेतमरू अजिमाको नृत्य प्रदर्शन गर्ने, यसिः उठाउने लगायत विभिन्न उत्सव हुन्छन्।
वर्षभरि लुकेर बस्ने लुकु महाद्यःलाई खाडलबाट बाहिर निकाल्न पाहांचःह्रेको पहिलो दिन ढक्कन खोलिन्छ। यी महादेव किन लुकेर बसेका हुन् भन्नेबारे पनि एउटा कथा छ।
एकपटक भगवान शिव भष्मासुर नामका राक्षसको तपस्याबाट निकै खुसी भएछन्। उनले भष्मासुरलाई वरदान दिँदै भनेछन्, 'तिमीले जसको शिरमा आफ्नो हात राख्छौ, त्यो भष्म हुनेछ।'
महादेवबाट यस्तो वरदान पाएका भष्मासुरले प्रसन्न हुँदै त्यसको परीक्षण गर्न खोजे। परीक्षणका लागि उनले महादेवकै शिरमा आफ्नो हात राख्ने प्रयास गरे।
महादेवलाई थाहा थियो, आफ्नो वरदानका कारण जसै भष्मासुको हात उनको शिरमाथि पर्नेछ, उनी भष्म हुनेछन्। त्यसपछि महादेव डराएर भाग्दै खाडलभित्र लुक्न गए।
त्यसैको सम्झनामा पिचास चतुर्दशीका दिन लुकु महाद्यःको पूजा गर्न थालिएको भनाइ छ।
काठमाडौंका नेवारहरू भूत, प्रेत, पिचासबाट मुक्ति पाउन यस दिन आफ्नो घरआँगन सफा गर्छन् र फोहोर फ्याकिएको ठाउँमा लुकेर बसेका महादेवको स्वरूप बाहिर निकाल्छन्। उनलाई जाँड-रक्सी, लसुन, अदुवा, मासु लगायत परिकार चढाई विधिपूर्वक पूजा गरी भोज खान्छन्।
सामान्यतया महादेवको पूजामा मासु चल्दैन। यही एउटा पर्व हो, जुन दिन महादेवलाई मासु चढाउने गरिन्छ। यसको पछाडि पनि छुट्टै कथा छ-
एकदिन शिवकी पत्नी पार्वतीले आफ्नो पूजामा बलि र मद्यपान सबै हुने तर महादेवको पूजामा केही नहुँदा आफूलाई अप्ठ्यारो लागेको बताइछन्। यो सुनेर महादेवले तोरी फुलेको खेतमा मुलाको फूलको बोटमुनि लुकेर पिचास रूप धारण गरेछन् र मद्यपान, मासु लगायतका खानेकुरा खान थालेछन्।
आज पनि लुकेर बसेका महादेवले मासुसहितको भोज खाएको कसैले नदेखोस् भनेर तोरी र मुलाको फूलले छोप्ने चलन छ। यो दिन मासु खान महादेवले पिचास रूप धारण गर्छन् भन्ने मान्यता पनि छ।
पाहांचःह्रेको दोस्रो दिन बेल विवाह नगरेका केटी र ब्रतबन्ध नगरेका केटाहरूलाई मरःजा खुवाइन्छ। अजिमाको प्रसादका रूपमा पोषणयुक्त खानेकुरा मरःजा खुवाएपछि बालबालिकालाई भूतप्रेतले नछुने र रोग नलाग्ने जनविश्वास छ।
तेस्रो दिनको आकर्षण त असनको खट जात्रा भइहाल्यो।
संस्कृति अध्येता सुरेशकिरण मानन्धर पाहांचःह्रेमा निश्चित एक मात्र गतिविधि नहुने भएकाले यसलाई इन्द्रजात्राजस्तै धेरै जात्राहरूको मिश्रण भएको सांस्कृतिक उत्सव मान्छन्।
'खट जात्रा र लुकु महाद्य:को आपसमा कुनै सम्बन्ध छैन। हिजो घोडेजात्रा भयो, त्यसको पनि पाहांचःह्रेसँग कुनै सम्बन्ध छैन। मरःजा खुवाउने, य:सि उठाउने, विभिन्न नाचहरू निकाल्ने यी कुनै पनि गतिविधिको एकअर्कासँग सम्बन्ध छैन,' उनी भन्छन्, 'पाहांचःह्रेलाई पाहा अर्थात् पाहुना बोलाएर भोज खुवाउने पर्व हो भनौं भने पाहुना बोलाएर भोज त हामी अरू बेला पनि खुवाउँछौं। पाहांच:ह्रेलाई पिचास चतुर्थी भनौं भने पिचास भगाउने कुनै गतिविधि हुन्न। त्यसैले पाहांचःह्रे खासमा के हो भन्नेमै दुबिधा छ।'
उनी लुकु महाद्यःको कथा पनि त्यति यथार्थपरक नभएको बताउँछन्।
'काठमाडौंको यति पुरानो जात्रामा लुकेको महादेवको कुरा कसरी आयो बुझ्न सकेको छैन। महादेव भेटिएकै खुसीमा यो उत्सव मनाएको भनौं भने महादेवको उत्पत्ति नै भुइँबाट भएको मानिन्छ,' उनी भन्छन्, 'पाहांचःह्रेको समयमा पशुपतिनाथमा पनि जात्रा हुन्छ। पशुपतिबाट एक साताअगाडि नै मान्छेहरू काठमाडौं आउँछन्। किन आएको भन्दा अष्टमात्रिकालाई बोलाउन आएको भन्ने कथा छ। तर त्यति कुराले पनि पाहांचःह्रेको पूर्ण अर्थ बोक्दैन।'
उनले अगाडि भने, 'यी सबै कथाले पाहांच:ह्रेको वास्तविक कुरा भनेको छैन भन्ने मलाई लाग्छ।'
उनी पाहाचःह्रेको सम्बन्ध मौसमसँग हुनसक्ने बताउँछन्। अहिले जाडो सकिएर गर्मी सुरू हुने बेला हो। यो मौसममा खेतीपातीको चटारो हुँदैन। मानिसहरू फुर्सदिला हुन्छन्। त्यही भएर काठमाडौंमा मात्र नभएर विभिन्न ठाउँमा यति बेला विभिन्न खट जात्रा भइरहेका छन्। कीर्तिपुरमा केही समयअघि मात्र खट जात्रा भएको थियो।
काठमाडौंमा पाहांचःह्रे बेला अष्टमात्रिका मात्र नभई विभिन्न टोलमा भएका देवदेवीको खट जात्रा निकालेर नगर परिक्रमा गराइन्छ। काठमाडौंपछि भक्तपुर, ललितपुर लगायत ठाउँमा पनि खट जात्रा सुरू हुन्छ।
गर्मी याम सुरू भएपछि धेरै जना बिरामी पर्ने र झाडापखाला लाग्ने डरले स्वस्थ जीवनका लागि अष्टमात्रिकाको प्रार्थना गर्ने चलन सुरू भएको हुनसक्ने सुरेश किरण बताउँछन्।
'साना केटाकेटी झनै बढी बिरामी पर्ने भएकाले उनीहरूलाई मरःजा पनि त्यही कारण खुवाउने गरिएको हो,' उनले भने।
आज हुने खट जात्रामा लुँति अजिमाको अनुपस्थितिको कथाले भने वर्षौंदेखिको परम्परा धान्दै आएको उनको भनाइ छ।
'लुँति अजिमा जात्रामा सरिक नहुनुको त आफ्नै कारण भइहाल्यो, बाँकी सात अजिमामध्ये तीन जनालाई मात्र भेट गराउनुको कारण चाहिँ के होला?'
हाम्रो यो प्रश्नमा सुरेश किरणले भने, 'अहिले तीन जना अजिमा मात्र उपस्थित भए पनि पहिले पहिले सातै अजिमाको भेला गराउने चलन थियो।'
उनले यो चलनलाई असन चोकमा आएर खुल्ने सातवटा बाटोसँग जोडे र भने, 'असन चोकमा उभिएर हेर्ने हो भने त्यहाँ ती सातवटै बाटोको भेट हुन्छ। ती सातवटा बाटा हुँदै साततिरबाट अष्टमात्रिकाको खट ल्याउने गरिन्थ्यो। अहिले किन तीन जना अजिमाको खट मात्र ल्याइन्छ भन्ने यकिन कारण खुल्न सकेको छैन। विगतमा भव्य रूपले मनाइने पर्वहरू समयक्रममा विभिन्न कारणले खुम्चिँदै गएका हुन सक्छन्।'
पाहांचःह्रेका अन्य विविध पाटा सँगसँगै यसबारे पनि अध्ययन हुनुपर्ने उनको भनाइ छ।
भाषा विज्ञ एवं अनुसन्धाता चुन्डा बज्राचार्य पनि असनमा अजिमाका खटहरू ल्याउँदा सातवटै बाटोबाट ल्याइने बताउँछिन्। ती सात बाटा हुन्- कमलाछि, असन गल्ली, भोटाहिति, बालकुमारी, न्हैकन्तला, थँहिति त्यौड, इतुम्बहा बाहिरको त्यौड। अहिले भने कंगः, टेबहाः र वटु अजिमा मात्र भेट गराइन्छ।
बज्राचार्यका अनुसार अजिमाहरूको स्थापना गुणकामदेवले गरेका थिए। उनले कान्तिपुर (काठमाडौं) सहर निर्माण गरेपछि यसको सुरक्षाको जिम्मा आठ जना अजिमालाई दिए। उनीहरूलाई खटमा राखी जात्रा गर्ने चलन भने नेपाल सम्बत् ५८० मा अमर मल्लले चलाएका थिए।
'पाहांचःह्रेको रातदेखि पुजारी र गुठियारहरूले देवीहरूलाई खटमा विराजमान गराउँछन्। टुँडिखेलमा घोडेजात्रा समाप्त भएपछि राति लुँति अजिमाबाहेक अरू सबै अजिमाको खट टुँडिखेलमा मिलाउन ल्याइन्छ। सबभन्दा पछाडि कान्छी बहिनी मानिने कंग अजिमाको खट ल्याई मिप्वाः (राँको) अदलाबदली गरी खट जोड्ने काम समापन हुन्छ,' बज्राचार्यले आफ्नो किताब 'नेवाः सांस्कृतिक चाडपर्व' मा लेखेकी छन्, 'टुँडिखेलमा जुन समय खट मिलाउने कार्य भएको हो, त्यही समय दिउँसो असनमा खट मिलाउनुपर्छ भन्ने भनाइ छ। त्यो सम्भव भने छैन।'
असनमा खटहरू भेट गराउँदा असनवासीले चतांमरि, लावा, फूल, फलफूल चढाएर पूजा गर्छन्। यहाँ पनि टेबहाः र वटु अजिमाको खट ल्याएपछि बल्ल कंग अजिमाको खट ल्याई मिप्वाः साटासाट हुन्छ।
यसरी अमर मल्लले सुरू गरेको अजिमाहरूको खट जात्रा हामी अहिलेसम्म देख्न सक्छौं।