झापाको शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्रा (रोशन)ले निर्माणाधीन माइधार—दोमुखा कालोपत्रे सडक खण्डमा पर्ने ह्युमपाइपमा जडान भएको 'हेडवाल' भत्काएका छन्।
पालिकाको जेसिबी आयोजनास्थलमा लगेर उनले बुधबार ‘हेडवाल’ भत्काएका हुन्।
‘हेडवालमा’ प्रयोग भएको ढुंगा कमसल भएको अनुगमनका क्रममा भेटिएको भन्दै उनले नगरपालिकाको जेसिबी बोलाएर ठाउँको ठाउँ ‘हेडवाल’ भत्काएका हुन्।
उनले सेतोपाटीसँग भने, ‘विकास निर्माणमा कसैसँग पनि कुनै पनि विषयमा ‘कम्प्रमाइज’ हुँदैन।’
उक्त योजना स्थानीय सतासी निर्माण सेवाले ठेक्का लिएको थियो।
प्राविधिकका अनुसार हेडवालमा ४० प्रतिशत फोस्के ढुंगा भेटिएको थियो।
‘मेयर साहेबले हटाउन निर्देशन दिएपछि तत्काल ती ढुंगा हटाइएको हो,’ नगरपालिकाका एक प्राविधिकले भने, ‘फोस्के ढुंगामा माटोको मात्रा धेरै हुने हुँदा सिमेन्टसँग सजिलै जोडिँदैन। कमसल ढुंगा प्रयोग हुँदा ह्युमपाइपको हेडवाल कच्चा भएर जुनसुकै बेला पनि क्षति हुन सक्छ।’
ठेकेदारका प्रतिनिधिले पनि ढुंगा हटाउन सहमति दिएका थिए।
‘हेडवालमा’ प्रयोग भएको ढुंगा कमसल होइन। ढुंगा कुनै पनि मानेमा कमसल हुदैन,’ तर, मेयर साहेबले हटाउन भनेपछि हटाइएको ठेकेदारका प्रतिनिधिले बताए।
माइधार—दोमुखा सडक गएको फागनु ३ गतेदेखि निर्माण सुरू भएको थियो।
४ करोड २४ लाख ८३ हजार २४५ रुपैयाँ लागतमा निर्माण सुरू भएको सो सडकमा २ वटा ह्युमपाइप निर्माण हुनेछ।
यस्तै, ३ वटा बक्स कल्भर्ट पनि निर्माण हुने नगर प्रमुख थोप्राले बताए।
उनका अनुसार नालारहित सडकको ७ मिटर चौडा कालोपत्रे हुनेछ।
आन्तरिक तथा बाह्य पर्यटकका लागि पूर्वको आकर्षक गन्तव्यका रूपमा स्थापित दोमुखासम्म पुग्ने सडक २०३३ सालमा निर्माण भएको थियो। त्यसपछि यो सडकको स्तरोन्नति हुन सकेको थिएन।
नगर गौरवको योजना अन्तर्गतका रूपमा सञ्चालित उक्त कालोपत्रे योजनाको अनुगमन गर्न मेयर थोप्रा सातामा ५ पटकसम्म पुग्ने गरेको स्थानीय रामबहादुर दाहालले बताए।