बुद्धको जन्मस्थल लुम्बिनीको दक्षिणतर्फ छ खुनगाई गाउँ। गाउँमा मुस्लिम र हिन्दु समुदायको बाक्लो बसोबास छ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–१, खुनगाई चोकबाट पाँच सय मिटर दक्षिणपूर्वमा भेटिन्छ पूर्वमेयर मनमोहन चौधरीको पुरानो घर।
काँचो इँटाको गारो भएको घुमाउरो घरमा झिँगटीको छानो छ। फराकिलो आँगनबाटै देखिन्छन् काठका कलात्मक खम्बा। ती खम्बा राखेर बरन्डा निकालिएको छ। बरन्डामा प्लास्टिकका डोरीले बुनिएका कुर्सी–टेबल राखिएका छन्। मनमोहन आगन्तुकहरूलाई बरन्डामै स्वागत गर्छन्।
खोपी राखेर बनाइएको भित्तामा लस्करै केही तस्बिर र केही प्रमाणपत्र सजाइएका छन्।
'भित्तामा तस्बिर र बरन्डामा कुर्सी थपिए पनि घर वर्षौंदेखि उस्तै छ,' मनमोहनले भने।
मूल ढोका बुट्टेदार छ। काँचो इँटाको ४२ इन्च मोटो गारो र छानोमा लगाइएका काठ उस्तै छन्। छानाको झिँगटी चाहिँ भत्किन थालेको छ। घरअगाडि पाकरीको रूख वरिपरि चौपारी (चौतारी) छ। त्यसको नजिकै छ एउटा इनार। पाकरीको बोटमा चराहरू आइरहन्छन्। उनीहरूको चिरबिरले घर गुलजार भइरहन्छ।
यो पुरानो घरमा परिवारका दस जना सदस्य बस्छन्। यो घर कहिले बनेको हो भन्ने मनमोहनलाई पनि यकिन छैन।
'करिब साढे दुई सय वर्ष पुरानो हो भन्ने अनुमान छ,' उनी भन्छन्।
मनमोहनका बुबा विष्णुप्रसाद रूपन्देही जिल्लाको पहिलो 'जिल्ला सभापति' बनेका थिए। त्यसपछि लुम्बिनी आदर्श गाउँपालिकाको प्रधानपञ्च भए। प्रधानपञ्च भएपछि गाउँटोलका झैझगडा र विवाद आफ्नै आँगनको चौपारीमा बसेर मिलाउँथे। गाउँलेहरूलाई नियम–कानुनका कुरा सुनाउँथे।
हजुरबा शिवशरण प्रसादले पनि चौपारीमै बसेर गाउँलेहरूसँग छलफल गरेको मनमोहनसँग सम्झना छ।
बीचमा खुला ठाउँ राखेर घुमाउरो आकारमा बनाइएको उक्त घर लुम्बिनीमा चौधरी परिवारको सबैभन्दा पुरानो घर मानिन्छ। कलात्मक घर संग्रहालय जस्तो देखिन्छ।
हजुरबा शिवशरणले 'म यही घरमा जन्मेको हुँ' भनेको मनमोहनलाई अझै सम्झना छ।
'हजुरबा जन्मिँदा यही घर थियो रे। हजुरबा मेरा जिजुबाजेका पनि जिजुबाजेले बनाएको घर हो भन्नुहुन्थ्यो,' उनले भने।
मनमोहनलेका जिजुबाजे सीताराम बिक्रम सम्बत् १९२० मा जन्मेका थिए भने सीतारामका बुबा शिवचरण १९०० सालमा। आफ्ना हजुरबाको भनाइका आधारमा शिवचरणका कुप्रीबाजे (हजुरबाका हजुरबा) ले उक्त घर बनाएको मनमोहनको अनुमान छ। शिवचरणका कुप्रीबाजे बिक्रम सम्बत् १८०० तिर जन्मेका थिए। यही आधारमा उनले घर कम्तीमा साढे दुई सय वर्ष पुरानो भएको अनुमान गरेका हुन्।
'बिक्रम सम्बत् १८४० देखि ६० को बीचमा शिवचरणका कुप्री बाजेले बनाउनुभएको जस्तो लाग्छ,' उनले भने।
मनमोहनको हिसाबअनुसार उनी घर बनाउने पूर्वजका नवौं पुस्ता हुन्। घरमा उनका नातिनातिना छन्। उक्त घरमा हालको पछिल्लो पुस्ता बाह्रौं हो।
यति धेरै पुस्ता हुर्केको घरलाई संग्रहालय बनाउने मनमोहनको योजना छ। काँचो इँटा भए पनि गारो मोटो भएकाले बलियो रहेको उनको विश्वास छ।
भन्छन्, 'छानो मर्मत गर्ने मान्छे खोज्दै छु। झिँगटी बनाउने मान्छे मिल्यो भने झिँगटीले नै छाउने सोचेको छु।'
उनका अनुसार केही वर्षअघि एक जना जापानी नागरिकले घरवरिपरिको परिसरलाई संग्रहालय बनाउँछु भनेर मागेका थिए। दिऊँ जस्तो लागेको भए पनि निर्णय गर्न सकेनन्।
'उति बेला त दिऊँ जस्तो लागेको थियो तैपनि दिइनँ। अब त कसैले मागेर कहाँ दिनु? दिन्नँ। मर्मतसम्भार गरेर आफैं संग्रहालय बनाउने योजना छ,' उनले भने।
सरकारले मनमोहनका हजुरबा शिवशरणलाई लुम्बिनी गार्डेनको 'मेनेजर' (व्यवस्थापक) नियुक्त गरेको थियो। त्यस बेला बुद्ध जन्मस्थल लुम्बिनी 'लुम्बिनी गार्डेन' नामले चिनिन्थ्यो।
शिवचरणपछि सीताराम र विष्णुप्रसाद मेनेजर भए। उनीहरूले बनाएका आफ्ना भिजिटिङ कार्ड मनमोहनसँग अहिले पनि सुरक्षित छन्। स्वदेशी र विदेशी पर्यटक र पुरातत्वविदहरू लुम्बिनी आउँदा मेनेजरसँग भेट गर्थे।
गाउँमा बस्ती पातलो थियो। होटल र लज थिएनन्। लुम्बिनी आउने स्वदेशी र विदेशी पुरातत्वविदहरू मात्र होइन, पर्यटकहरू पनि मेनेजरकै घर जान्थे। यस्ता पाहुना धेरै हुन थालेपछि मनमोहनका जिजुबाजे सीतारामले घरकै सामुन्ने एउटा पाहुना-घर (गेस्ट हाउस) बनाएका थिए। केही वर्षअघि त्यो भत्कियो।
'भारतीय लेखकहरू राहुल सांकृत्यायन र राधामुकुन्द मुखर्जी, दलाइ लामा, जापानका प्रसिद्ध गुरू निचिदात्स फुजी लगायत प्रसिद्ध व्यक्तिहरू हाम्रो घरमा बसेका थिए,' मनमोहनले भने।
भारतमा यात्रा साहित्यका प्रवर्तक मानिने र ३० वटाभन्दा बढी भाषाका ज्ञाता राहुल सांकृत्यायन सन् १९२० मा लुम्बिनी आएका थिए। निचिदात्स फुजी पहिलोपटक सन् १९३१ मा लुम्बिनी आएका थिए। लुम्बिनीको अध्ययन क्रममा उनी दुई महिना यही घरमा बसेको मनमोहनको भनाइ छ।
'फुजी जापान पुगेपछि आफ्नो यात्रा वृत्तान्तमा लुम्बिनी आउँदा हाम्रै घरमा बसेको भनेर लेखेछन्। त्यही पढेर एक जना जापानी घर खोज्दै आएका थिए,' मनमोहनले भने, 'उनैले संग्रहालय बनाउने भनेर घर मागेका थिए।'
मनमोहनका अनुसार दलाइ लामा पनि सन् १९६० तिर लुम्बिनी आएका बखत यही घरमा बसेका थिए।
उनले भने, 'दलाइ लामा दुई दिन यही घरमा बसेको मलाई सम्झना छ।'
जापानी वास्तुविद केन्जो टाँगे सन् १९७२ मा लुम्बिनी गुरूयोजना बनाउन आउँदा हात्तीमा चढाएर लुम्बिनी घुमाएको पनि मनमोहनको भनाइ छ। सन् १९५६ मा राजा महेन्द्र पनि लुम्बिनी भ्रमणका क्रममा आफ्नो घर आएको उनले बताए। त्यही बेला राजा महेन्द्रले विष्णुप्रसादलाई लुम्बिनी गार्डेनका मेनेजर नियुक्त गरेका थिए।
लुम्बिनीका अध्येता प्राध्यापक डा. गितु गिरी लुम्बिनी र चौधरी परिवारबीच गहिरो सम्बन्ध रहेको बताउँछन्।
'चौधरी परिवारको घर ठ्याक्कै कहिले बनेको हो भन्ने त अनुसन्धानबाट मात्रै भन्न सकिएला। तर राहुल सांकृत्यायन, निचिदात्स फुजी, दलाइ लामा, केन्जो टाँगे, राजा महेन्द्र लुम्बिनी आएर त्यही घरमा बसेको भन्ने प्रमाण भेटिएका छन्,' उनले भने।
अध्ययनका लागि आउने पुरातत्वविदहरूलाई लुम्बिनी घुमाउने, घरमा राख्ने र मायादेवी मन्दिरको संरक्षण गर्ने काममा चौधरी परिवारको महत्वपूर्ण योगदान रहेको गिरीले बताए। उनका अनुसार चौधरी परिवारले मायादेवी मन्दिर जिर्णोद्धारको काम पनि गरेको थियो।
'पाल्पाली गभर्नर जनरल खड्गशमशेर र जर्मनीका पुरातत्वविद एलोइस फुहरर सन् १८९६ मा लुम्बिनी पुग्दा चौधरी परिवारले लुम्बिनीको संरक्षण गरेको थाहा पाएको भन्ने कुरा लिखतहरूमा भेटिन्छ,' गिरीले भने।
त्यो समय सञ्चारको सुविधा राम्रो थिएन। पाहुना आउने कुराको पूर्वजानकारी हुँदैन थियो। मनमोहनका जिजुबाजे सीताराम पाहुना आउने कुरा पत्र पठाएर जानकारी दिन अनुरोध गर्थे। पाहुना आउने थाहा हुँदा सीताराम हात्ती वा बयलगाडा पठाउँथे।
'पाहुनाहरू भारतको नौगढ र नौतनहवासम्म रेलमा आउँथे। त्यहाँबाट ककरहवा नाका हुँदै लुम्बिनीसम्म ल्याउन हात्ती र बयलगाडा जान्थे,' मनमोहनले भने, 'उनीहरू यही घरमा बस्थे। उनीहरूलाई हात्ती र बयलगाडामा लुम्बिनी घुमाउने काम चौधरी परिवारकै हुन्थ्यो।'
तीन पुस्ता लुम्बिनी गार्डेनको मेनेजर भएकाले लुम्बिनीमा चौधरीको घरलाई 'मेनेजरको घर' भनेर चिनिन्थ्यो।
२०७४ सालमा मनमोहन लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर निर्वाचित भएपछि 'मेनेजरको घर' को परिचय फेरिएर 'मेयरको घर' हुँदैछ। यही घरलाई अब पूर्वमेयर चौधरी संग्रहालय बनाउने योजनामा छन्।
सामाजिक र राजनीतिक रूपले सक्रिय चौधरी परिवारमा अहिले पनि मानिसहरूको आउजाउ चलिरहन्छ।