नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ।
भण्डारी गत फागुन ३ गते काठमाडौंको बुद्धनगरस्थित आफ्नै घरमा ग्यास सिलिन्डर पड्किएर गम्भीर घाइते भएका थिए। उनको भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा फागुन ४ गतेदेखि उपचार भइरहेको छ।
उपचारको ३६औं दिनसम्म आइपुग्दा बिहीबार भण्डारी अरूको सहयोगमा केही समय कुर्सीमा बस्न र केही समय हिँड्डुल गर्न सक्ने भएको उनका सहयोगी माधव न्यौपानेले जानकारी दिए।
'डा. भण्डारी आज अरूको सहयोगमा कुर्सीमा बस्नुका साथै तीन मिनेट हिँड्नुभयो,' न्यौपानेले भने।
भण्डारीले राम्रोसँग बोल्न थालेको र स्मरणशक्ति ठीक अवस्थामा रहेको बताइएको छ। उनको फिजियोथेरापी क्रमिक रूपमा भइरहेको पनि न्यौपानेले बताए।
जलेको भागमा संक्रमण रोकथाम गर्न अस्पताल प्रशासन र चिकित्सकले अन्य व्यक्तिलाई भेटघाट बन्द गरेको अस्पतालले जनाएको छ। फागुन ३ गते जलेर घाइते भएकी भण्डारीकी आमा हरिकलाको भने फागुन ४ गते कीर्तिपुर अस्पतालमा निधन भएको थियो।