इस्लाम परम्पराको एक महिने रमजान ‘रोजा’ (व्रत) शुक्रबारदेखि सुरू भएको छ। हिजरी संवतको ‘सवान’ महिना अन्त्य हुनुसँगै बिहीबार साँझ चन्द्रमा देखिएपछि इस्लाम धर्मगुरू मोल्वी, मौलानाले तत्कालै ‘तराबी’ नमाज (प्रार्थना) गरेर यस वर्षको रमजान अब सुरू भएको बताएका हुन्।
‘सवान’ महिना सकिनासाथ पहिलो पटक चन्द्रमा देखिएपछि तत्काल विशेष नमाज पढेर भोलिपल्टदेखि रमजान सुरू हुने इस्लाम परम्परा छ। सोअनुसार बिहीबार साँझ विशेष नमाज पढेर इस्लाम धर्मावलम्बीले आज ‘रोजा’ सुरू गरेका हुन्।
रमजानका बेला बालक, वृद्ध, अशक्त बिरामीबाहेकका सबै मुसलमानले ब्रह्मचर्यमा रही रोजा गर्नुपर्ने मान्यता छ। बिहान सूर्योदयको एक घडी अगाडिदेखि सूर्यास्तको एक घडी पछिसम्म अन्न पानी केही नखाइ दिनहुँ नमाज पढेर यो व्रत गरिन्छ। एकमहिने रोजा सम्पन्न भएसँगै हिजरी संवतको ‘सव्वाल’ महिना सुरू हुने र त्यसै दिन इद-उल-फित्र पर्व मनाउने गरिन्छ। यो पर्व इस्लाम परम्परामा मुख्य पर्व मानिन्छ।






















