माओवादी सशस्त्र द्वन्द्वको पहिलो सहिद दिलबहादुर रम्तेलका नाममा बनाइएको स्मृति पार्कको निर्माण धमाधम भइरहेको छ।
गोरखाको बारपाक सुलिकोट गाउँपालिका-८ स्थित रम्तेलको गाउँ जराङ डाँडामा उक्त पार्क बनाइएको हो। करिब आठ करोड रूपैयाँ लागतमा डिपिआर तयार भए पनि बजेट अभावका कारण चार करोड रूपैयाँ हाराहारीमा पार्क निर्माण भइरहेको गाउँपालिका अध्यक्ष विष्णु भट्टले जानकारी दिए।
२०५२ मा माओवादी द्वन्द्व सुरू भएसँगै फागुन १४ गते स्थानीय सूर्यज्योति माविका प्रधानाध्यापक वीरबहादुर गुरूङलाई तत्कालीन राज्य पक्षले पक्राउ गरेको थियो। उनलाई छुटाउन आन्दोलनमा होमिएका विद्यार्थीमाथि प्रहरीले गोली प्रहार गर्दा रम्तेलको घटनास्थलमै मृत्यु भएको थियो।
एघार वर्ष उमेरका उनी जराङ गाउँस्थित ब्राह्मचारिणी निमाविमा कक्षा ४ मा अध्ययनरत थिए। उक्त घटनामा रामबहादुर भट्ट घाइते भएका थिए।
स्मृति पार्कमा गोरखा जिल्लाका १ सय ८८ जना सहिद र राज्य पक्षबाट बेपत्ता पारिएका २० जनाको नाम अंकित शिलालेख राखिएको छ । द्वन्द्वकालीन सामग्री र दस्तावेजसहित भिडिओ कक्ष, इ-लाइब्रेरी, सभाहल लगायतको पनि निर्माण भइरहेको छ।
यहाँबाट मनास्लु, गणेश हिमाल लगायतका हिमशृंखला देख्न सकिन्छ। यो ऐतिहासिक जराङ डाँडा सांस्कृतिक तथा धार्मिक विविधताको उदाहरणसमेत रहेको स्थानीय बताउँछन्।
जराङ डाँडामा निर्माणाधीन पार्कका दृश्यहरू-