गत फागुन २१ गते कैलाली गोदावरी नगरपालिका-८ स्याउलेकी २२ वर्षीया कल्पना विकको मृत्यु भयो। १७ दिनसम्म सेती प्रादेशिक अस्पतालको प्रसूति वार्डमा उपचार क्रममा उनको मृत्यु भएको हो।
मृत्यु भएपछि परिवारले दाहसंस्कार पनि गरे। तर अहिले २० दिनपछि उनको मृत्युको कारण खुल्यो। धामी झाँक्रीको भर पर्दा कल्पनाले आफ्नो ज्यान गुमाएकी हुन्।
सेती प्रादेशिक अस्पताल प्रसूति वार्डका इन्चार्ज डाक्टर खगेन्द्र भट्टका अनुसार कल्पनाको गर्भमै बच्चाको मृत्यु भएको थियो।
कल्पनाको फागुनमा सुत्केरी हुने समय थियो। तर गर्भमै बच्चा बितेपछि त्यसको असर कल्पनामा देखिन थालेको थियो। ज्वरो, कम्पन जस्ता समस्याहरू देखिन थालेको थियो।
त्यस्तो देखिए पनि परिवारले उनलाई अस्पतालमा लगेनन्। बरू धामी झाँक्री खोज्नतिर लागे।
कल्पनामा देखिएको समस्या यसअघि कहिल्यै नदेखिएको हुँदा भूत लागेको आशंकामा धामी झाँक्री खोज्न थालेको ससुरा प्रेम विकले बताए।
‘कसैले डाइरिया भयो भने, कसैले मिर्गी भयो भने, कसैले भूत लाग्यो भने, हामीले यसो बिमार कहिल्यै देख्याको पनि थिएन, भूत नै लाग्यो हो भन्ने भयो, धामी झाँक्रीको खोजीमा लाग्यौं, त्यतिञ्जेलसम्म ढिला भयो,’ उनले भने।
उनका अनुसार धामी झाँक्रीले कल्पनामा केही समस्या नभएको बताएका थिए। बरू उल्टै ‘बलियो धामी’लाई देखाए ठीक हुने भन्ने आश्वासन पाए। त्यही भनाइको पछि लागेर उनीहरू धेरै धामी-झाँक्री कहाँ पुगे।
तर कल्पनाको स्वास्थ्यमा सुधार भएन। उनलाई झन् झन् गाह्रो हुन थाल्यो।
‘हामीले के जान्नु लाटामान्छे पर्यौं, अचम्मको काम्ने बिमारी भएपछि छिट्टै अस्पताल जानुपर्छ भन्ने थाहा पनि पाएनौं,’ प्रेमले भने।
चार दिनसम्म धामी झाँक्रीकै भर पर्दा कल्पनाको स्वास्थ्य जटिल बन्दै गयो। त्यसपछि परिवारले खर्च जुटाएर उनलाई सेती प्रादेशिक अस्पतालमा पुर्याएका थिए।
प्रादेशिक अस्पतालको प्रसूति वार्डका इन्चार्ज डाक्टर भट्टका अनुसार कल्पनालाई लगभग व्यथा लाग्नेक्रमको अवस्थामा अस्पताल ल्याइएको थियो। उनको इमर्जेन्सी वार्डमा सामान्य तरिकाले नै बच्चालाई निकालिएको थियो। बच्चा मरिसकेको थियो। तर कल्पनाको स्वास्थ्य अवस्था त्यसपछि झन् गम्भिर बन्न थाल्यो।
‘उहाँलाई कम्पन हुँदादेखि फोक्सो लगायत शरीर र रगतमा पनि इन्फेक्सन भएको रहेछ, यही कारण जटिल भयो,’ उनले भने, ‘उहाँलाई सास फेर्न गाह्रो भयो, आइसियुमा राखेर उपचार गर्यौं, भर्ना भएदेखि नै भेन्टिलेटरमै राखेर उपचार गर्यौं। भेन्टिलेटर भन्दा बाहिर ल्याउन नसकिने अवस्था थियो।’
उपचार गराउँदा पनि विस्तारै शरीरका अंगहरूले काम गर्न छाडे। किड्नी, लिभर, फोक्सो, तीनवटै अंगले काम गर्न छोड्यो।
‘उहाँलाई भेन्टिलेटरमा राखेर दुई तरिकाबाट फोक्सो-मुटुलाई चलाउने गर्यौं, सबै डाक्टरहरू लागेर उहाँलाई बचाउने प्रयास गरे, तर बचाउन सकिएन, यदि समयमै अस्पताल आएको भए यस्तो घटना हुने थिएन,’ उनले भने।
ढिलो उपचार पाएको हुनाले कल्पनाको मृत्यु भयो। गर्भावस्थामा आउने जोखिमबारे परिवारलाई सल्लाह नपाएको कारण यस्तो घटना हुनपुगेको डाक्टर भट्टको भनाइ छ।
उनका अनुसार अज्ञानताका रूढीवादी परम्पराले गर्दा गर्भवती महिलाहरू जोखिममा छन्।
गोदावरी नगरपालिका–८ की वडा सदस्य लक्ष्मी विकले अन्धविश्वासका कारण अहिले धेरै महिलाहरूले ज्यान गुमाउनु परेको बताइन्।
‘यस्तो घटना हुनु दु:खद् कुरा हो, अस्पताल लग्नुपर्छ भन्ने ज्ञान नभएकै कारण यस्तो जोखिम भयो, यो विषयमा जनचेतना दिन धेरै आवश्यक छ,’ उनले भनिन्।