भरतपुर आँखा अस्पतालमा बिहान ९ नबज्दै ७७ वर्षे वृद्ध जोशजाँगरका साथ प्रवेश गर्छन्। साँझ सबै चिकित्सक कर्मचारी बिदा भएर घर–घर जाँदै गर्दा उनी अस्पताल वरपर नै भेटिन्छन्।
उनको एउटै चिन्ता छ– अस्पताललाई कसरी समयसापेक्ष सुधार गर्दै बिरामीलाई सहज सेवा दिन सकिन्छ भन्ने। विगत ३९ वर्षदेखिको यो दैनिकी अहिले पनि निरन्तर चलिरहेको छ।
आँखा अस्पतालको सेवा सुविधा विस्तारमा तल्लिन ‘मोफसका आँखा बा’ उनको परिचय हो, भरतपुर महानगरपालिका–१० का चिजकुमार मास्के। उनलाई ‘आँखा बा’का रूपमा यहाँ चिन्ने गरिन्छ।
नेपालमा आँखा उपचारको शुभारम्भ गर्ने रामप्रसाद पोखरेललाई देशले ‘आँखा बा’ भन्दै गर्दा मोफसलमा मास्केले ‘आँखा बा’को उपमा पाएका छन्।
२०४२ मा भरतपुरमा आँखा अस्पताल खोल्न उत्प्रेरित गर्नेमध्येका एक मास्के हुन्। तत्कालीन समयमा २० समाजसेवी मिलेर नेपाल नेत्रज्योति सङ्घमार्फत २०४४ मा महेन्द्र स्मारक आँखा अस्पताल सञ्चालनमा आएको हो।
सुरुआतका दिनमा तिनै समाजसेवीले मासिक रु एक हजार र पछि एकमुष्ट रु पाँच हजार सङ्कलन गरेर सञ्चालनमा ल्याइएको यो अस्पतालले क्रमशः विकासको गति लिन सफल भयो।
लामो समयसम्म थोरै बिरामीले सेवा पाएको यस अस्पतालमा २०६० पछि भने फड्को मार्न सफल भयो। त्यसका नेतृत्वकर्ता मास्के नै हुन्।
सुरुआतीदेखि नै समूहमा उनी रहे पनि जुन समयदेखि उनले नेतृत्व सम्हाले, अस्पतालले ठूलो सफलता हात पार्यो।
२०६० मा सेवा फाउन्डेसनले व्यवस्थापनमा सहकार्य गरेसँगै अस्पताल क्रमशः सुधारको बाटोमा अघि बढेको हो। मास्के भन्छन्, ‘विसं २०६७ बाट अस्पताल आफैँ खर्च धान्ने अवस्थामा पुग्यो।’
यतिबेला वार्षिक ४० हजार हाराहारी बिरामी हुने गर्दथे। एक दशकभन्दा बढीको यो समयसम्म आइपुग्दा यो सङ्ख्या वार्षिक तीन लाख नाघेको छ।
२००३ मा गोरखाको पाटेचौरमा जन्मेका मास्केले २०४२ देखि आफ्नो अधिकांश समय आँखा उपचारको क्षेत्रमा बिताए।
नेपाल नेत्रज्योति सङ्घको संस्थापक सदस्य मास्के सङ्घको कोषाध्यक्ष, उपसभापति, दुईपटक जिल्ला सभापति भएर आँखा उपचारमा सेवा पुर्याएका हुन्। सो सङ्घको केन्द्रीय कोषाध्यक्ष भएर सेवा गरिसकेका मास्के हाल पनि सङ्घको केन्द्रीय सदस्य छन्।
ऋण खोजेर अस्पतालका चिकित्सक कर्मचारीलाई तलब खुवाउनुपर्ने बाध्यता रहेको अस्पतालको नेतृत्व सम्हालेसँगै अस्पतालले फड्को मार्यो। उनी सभापति भएपछिका दिनमा कहिल्यै आर्थिक अभावमा पछाडि फर्किनुपरेको छैन। ‘मैले नेतृत्व छाड्दाका दिनमा अस्पतालको खातामा रु ११ करोड हाराहारी रकम सङ्कलन भएको थियो,’ उनले भने।
सभापति हुनुअघिसम्म दैनिक दुई सय हुने बिरामी आफूले छाड्दै गर्दा छ सय पुगेको उनले बताए।
आफू सभापति हुनुअघि वर्षमा दुई सय आँखाको शल्यक्रिया हुने गरेकामा छाड्दै गर्दा यो संख्या आठ हजार पुर्याउन सकेकामा उनलाई गर्व छ।
उनको निरन्तरको साथका कारण अहिले बिरामीको संख्या बढ्दै गएको छ। अस्पतालको दुई उपचार केन्द्र हुँदै गर्दा सभापति भएका मास्केले दुई कार्यकाल पूरा गरेर बिदा भए।
अहिले उपचार केन्द्रको यो संख्या १४ पुगेको छ। तीनवटा थप गर्ने तयारीमा छ।
‘म सभापति हुँदै गर्दा दुई विशेषज्ञ चिकित्सकसहित २५ कर्मचारी थिए, अहिले यो सङ्ख्या विशेषज्ञ र अन्य चिकित्सक २३ सहित एक सय ५० स्वास्थयकर्मी, कर्मचारी पुगेको छ,’ उनले भने।
अस्पतालमा एमडी अध्ययन गर्नेमात्रै नौ चिकित्सक छन् भने तीन जनाले ‘फेलोसिप’ गरिरहेका छन्। नेत्र सहायक र स्नातकसमेत अध्ययन–अध्यापन हुँदै आएको छ।
अस्पतालमा बिरामी बढेपछि फेलोसिप र स्नातक गर्न विद्यार्थी आउने गरेका हुन्।
जिल्लाको सामाजिक व्यक्तित्व भएकाले धेरैले उनलाई सम्मान गर्थे। दाता जुटाएर अस्पताल बलियो बनाउने काममा उनको महत्वपूर्ण योगदान छ। उनकै पालामा भरतपुर उकालोमा चिजकुमार–विष्णुकुमारी श्रेष्ठ बहिरङग विभाग सञ्चालनमा आएको हो।
आफूले पहिलो पटक सभापति भइसकेपछि अरु साथीहरूलाई पालो दिन्छु भन्दा दाताले थप सहयोग गर्छु भनेर एक कार्यकाल थप गरेको उनले बताए।
आँखा उपचारका लागि व्यवस्थापकीय क्षमता बढाउन मास्केले भारतको कोलकाता, मधुराई, सिङ्गापुर, मलेसिया, हङ्कङ, बैङ्कक लगायतका सहरमा पुगेका छन्।
उनलाई एसिया प्यासिफिक एकेडेमी अप्थल्मोलोजी कंग्रेसले सम्मानसमेत गरिसकेको छ।
नेपाल नेत्रज्योति सङ्घ केन्द्रीय समितिले स्थापना दिवसका अवसरमा उनलाई “लाइफटाइम अचिभमेन्ट अवार्ड’ले सम्मान गर्दैछ।
स्वयंसेवीहरूलाई पहिलोपटक यो अवार्ड दिन लागिएको हो।
सङ्घका केन्द्रीय महासचिव भरतबहादुर चन्द मास्केलाई मोफसलको ‘आँखा बा’को उपमा दिन सकिने बताउँछन्। उनले भने, ‘उहाँको इमान्दारिता र खटाइका कारण भरतपुर आँखा अस्पताल यो अवस्थामा पुगेको हो।’
एक व्यक्तिको निरन्तर लगावले आँखा उपचारको क्षेत्रमा अतुलनीय योगदान पुगेको छ। भरतपुर आँखा अस्पतालमा नेपालसहित छिमेकी भारतबाट समेत उपचारका लागि आउने गर्दछन्।
आफू बाँचुन्जेल अस्पतालको सेवा गरिरहने बताउँदै उनले भने, ‘जुनदिनसम्म आँखा देखेर हिँड्न सक्छु, त्यस दिनसम्म आँखा उपचारको स्वयंसेवी भएर सेवा गर्छु।’