मिथिलाक कथासभ : अध्याय १७
केही साताअघि विराटनगरबाट मेरो नाममा एउटा कुरियर आयो।
‘मिथिलाक कथासभ’ श्रृंखलामा अहिलेसम्म प्रकाशित सोह्रवटा कथा पढेपछि मलाई थप लेख्न सहयोगी होला भनेर विराटनगरका अधिवक्ता अमरकुमार मल्लिकले दुईवटा किताब र एउटा लामो चिठी पठाएका थिए। चिठीमा उनले आफूले पठाएका किताबको चर्चा गर्नुका साथै कायस्थ समुदायबारे केही जानकारी दिएका थिए।
उनले लेखेका थिए, ‘जर्ज अरवेलद्वारा लिखित ‘एनिमल फार्म’ को नेपाली अनुवाद गरेका भक्तपुर निवासी बिजुलीप्रसाद कायस्थका अनुसार भक्तपुर तथा सम्पूर्ण नेवार कायस्थ आफ्नो नाउँका पछाडि जातिसूचक नामका रूपमा कसजू, सांयजू, फैंजू लेख्छन्। ‘कस’ को अर्थ लेखक हुन्छ भने ‘जू’ आदरार्थी शब्द हो।’
उनले अगाडि लेखेका थिए, ‘नेवार कायस्थ कसजूहरू आफूलाई चण्डेश्वर ठाकुरका वंशज मान्छन्। सनातन हिन्दु परम्परामा पितृ पक्ष तर्पणका लागि घरमा लेखेर राखेको नामावलीअनुसार उनीहरूले पूर्वजका रूपमा चक्रधरका नाममा स्मरण र तर्पण गरिआएका छन्।’
मल्लिकले आफ्नो चिठीमा कसजूहरूबारे थप व्याख्या पनि गरेका थिए।
एक अपरिचित व्यक्तिले विराटनगरदेखि किताबको कुरियरसहित चिठी लेखेर मलाई कायस्थ समुदायबारे किन जानकारी दिए भनेर अचम्म लागेको थियो। यसअघि ‘मिथिलाक कथासभ’ श्रृंखलामा मैले वैद्य र धोबी समुदायबारे लेखेकी थिएँ। त्यही भएर कायस्थबारे पनि जानकारी दिएका हुन सक्छन् भन्ने मैले ठानेँ।
चिठीमा उल्लिखित जानकारीले मलाई कायस्थ समुदायबारे थप जान्न जिज्ञासु बनायो।
म यसको उत्तर खोज्दै चिठीमा उल्लेख भएको बिजुलीप्रसाद कायस्थलाई खोज्न थालेँ। त्यही चिठीको अन्तिममा भक्तपुरका संस्कृतिविद् पुरूषोत्तम लोचन मेरा लागि सहयोगी हुन सक्छन् भनेर उनले नम्बर पनि पठाइदिएका थिए।
मैले उनले पठाइदिएको नम्बरमा संस्कृतिविद् लोचनलाई फोन गरेपछि थाहा भयो, बिजुलीप्रसाद कायस्थको त धेरै अगाडि नै निधन भइसकेको रहेछ। त्यसपछि म उनको छोरा वीरेन्द्र कायस्थलाई भेट्न उनको हालको घर शान्तिनगर पुगेँ।
वीरेन्द्र कायस्थ ज्योतिषशास्त्री रहेछन्। मैले उनलाई सोधेँ, ‘तपाईंहरूलाई लेखापढीको काम गर्ने भएर कसजू भनिएको हो?’
जवाफमा उनले भने, ‘हामी लेखापढी गर्ने मात्र होइन, शासन व्यवस्थामा सहयोग गर्ने काम पनि गर्थ्यौं। काठमाडौंमा छ थरका काजी र ललितपुरमा छ थरका प्रधान भनेझैं भक्तपुरका मल्लराजाको राजसभामा छ थरका जाति थिए। तिनीहरू जोशी, अमात्य, राजभण्डारी, कसजू (कायस्थ), पक्वां र भदेल हुन्। यसबाहेक घों काजी, भौ काजी, कस काजी र तिमिला काजी गरेर चार काजीहरू पनि थिए। यीमध्ये कसजूहरूले आर्थिक व्यवस्थाको लेखाजोखा, आम्दानी–खर्चको लगत राख्नुका साथै देश र दरबारको सुरक्षा व्यवस्था गर्थे।’
उनका अनुसार कायस्थहरूको काम दरबारी लिखत राख्ने मात्र थिएन। उनीहरूले विभिन्न ठाउँ गएर ग्रन्थ, थ्यासफूहरू (हस्तलिखित ग्रन्थ) पनि लिपिबद्ध गरेको पाइन्छ। उदाहरणका लागि, मया कसले ‘भार्गव धनुशास्त्र’, दाँते कसले ‘नरपति जयाचार्य स्वरोदय’, भागिराम कायस्थले ‘चाणक्य नीति’ र रामचन्द्र कायस्थले ‘चाणक्य सार’ जस्ता ग्रन्थ सारेको वा लेखेका छन्। राजा आनन्द देवका पालामा भक्तपुरका गोपति कायस्थ मिथिला गएर रामायणको किस्किन्धा पर्व सारेर ल्याएको उदाहरण पनि छ।
‘मल्लराजा जितामित्रको समयमा भाजुराम कसजू काजी खलकमा पुगेका थिए र चौतारियासमेत भए। राजा जितामित्रको सहयोगमा उनी भक्तपुरका निकै शक्तिशाली मान्छे बने। उनले भक्तपुरमा अनेकौं सुधारका काम गरेका छन्,’ वीरेन्द्रले मसँग भने, ‘भार्वाचो ढोका र नः पुखु ढोकादेखि दत्तात्रयसम्म ढुंगा छापेर उनले पक्की सडक निर्माण गराएका थिए। सिँचाइ सुविधाका लागि कुलोको व्यवस्था, खानेपानीका लागि टोलटोलमा ढुंगेधारा निर्माण, राजा जगज्योर्ति मल्लले बनाएको सिद्धपोखरी मर्मत लगायत उनले गरेका मुख्य काम हुन्।’
विक्रम सम्बत् १७३५ मा खौमा टोलको देवलको अभिलेखमा पनि ‘सुमति जितामित्र मल्ल धैर्यशाली ठूला राजा हुन् भने बुद्धिमान असल मन्त्री भाजुराम हुन्’ भनेर लेखिएको पाइन्छ। त्यही अभिलेखका आधारमा वीरेन्द्र कायस्थ यी राजा र मन्त्रीलाई भारतका अकबर र वीरबलसँग तुलना गर्छन्।
उनका अनुसार भक्तपुरमा भएका कसजू, फैजू र सांयजू (सैंजू) समुदाय कायस्थअन्तर्गत पर्छन्, जो राजा हरसिंहदेवको सिमरौनगढ राज्य तहसनहस भएपछि राजखलकसँगै नेपाल उपत्यका आएका थिए। उनले कायस्थहरू कसरी सांयजू भए भन्ने उदाहरण पनि दिए।
‘मल्लकालमा भोट (तिब्बत) युद्ध भएको थियो। भोटलाई हामी सांय देश भन्छौं। कायस्थहरूले भोट युद्धमा विजय हासिल गरेछन्। भोटलाई हराएको भनेर उनीहरूलाई सांय उपाधि दिइएको रहेछ,’ उनले भने, ‘राजाले दिएको उपाधि नै उनीहरूले आफ्नो थरमा राखेका हुन्। त्यसरी नै अन्य थरहरू पनि बनेका होलान्।’
आफूहरू सिमरौनगढबाटै आएको हो भन्ने संकेत विजया दशमीको साँझ ‘पायो न्हयाकेगु’ जात्रामा हुने संवादमा पाइने वीरेन्द्र बताउँछन्।
‘मल्लकालीन समयसम्म सिमरौनगढका मान्छे दसैंमा आफ्नो कुलदेवी तुलजा भवानी दर्शन गर्न भक्तपुर आउँथे। त्यस बेला भक्तपुरका मान्छेले सिमरौनगढका मान्छेको हालखबर कस्तो छ भनेर सोध्दा रहेछन्। अहिले सिमरौनगढबाट त्यसरी आउने क्रम बन्द भइसक्यो, तर त्यो संवाद नेपाल भाषामा अझै जीवित छ,’ वीरेन्द्रले भने, ‘अहिले पनि पायो न्हयाकेगु जात्रा बेला भक्तपुरमा सिमरौनगढका मान्छेको हालखबर कस्तो छ भनेर नेपाल भाषामा कुराकानी गरिन्छ।’
यति हुँदाहुँदै काठमाडौं उपत्यकाका कायस्थ र मधेसका कायस्थमा फरक रहेको पनि उनले बताए। मधेसका कायस्थले आफ्नो जाति लेख्दा कायस्थ नभई कर्ण, मल्लिक, श्रीवास्तव आदि लेख्ने गर्छन्।
वीरेन्द्रले यति जानकारी दिइसकेपछि बल्ल मैले विराटनगरबाट अमरकुमार मल्लिकले पठाएको चिठीको आसय बुझेँ। उनी आफैं पनि त्यही समुदायका रहेछन्। यसबारे थाहा पाउनेबित्तिकै मैले मल्लिकलाई फोन गरेँ।
उनले मलाई आफू कायस्थअन्तर्गत नै पर्ने बताए र यो पनि भने, ‘जसरी कायस्थहरू भक्तपुर आएर कसजू, फैजू र सांयजू भएका छन्, त्यसरी नै अन्य जातजाति पनि काठमाडौंको थरमा परिणत भएर नेवार भएका छन्।’
उनले केही उदाहरण दिए, ‘हाडाहरू बिजुक्छें भए, राठौरहरू ग्वंग भए।’
इतिहासकार शिवराज श्रेष्ठ ‘मल्ल’ ले आफ्नो किताब ‘मिथिलाका कर्नाटवंशीहरू र नेपाल मण्डलमा उनीहरूको प्रभाव (भाग–१)’ मा यसबारे विस्तृत चर्चा गरेका छन्।
‘सिमरौनगढको पतनपछि राजा हरसिंहदेवका साथ भक्तपुर आएका छ थर राजपुत, क्षत्रीय र ब्राह्मण (छ थरे शैवमार्गी नेवारहरू) हुन्। तिनीहरू टोनेल जान्छें (धोंजू, वजिमय, बाटाजू), मोनेल (मूलः), राणा (सत्ता), राईठौर (राठौर–गोंगल), हाडा (बिजुक्षें), कचुआ (गाहीठीका जोशीहरू) हुन्,’ उनी लेख्छन्।
संस्कृति अध्येता डेनियल राइटको वंशावलीमा भने सिमरौनगढको राजखलक नेपाल उपत्यका आउँदा उनीहरूसँगै सात थरका मानिस पनि आएका थिए भनेर उल्लेख छ। त्यसमा ब्राह्मण, भंडेल, आचार्य, जोशी, वैद्य, रजक र खड्गी थरका मान्छे पर्छन्।
हामीले राइट वंशावलीमा भएका सात थरमध्ये वैद्य र रजक समुदायबारे अगाडिका अध्यायमा चर्चा गरिसकेका छौं। कायस्थ समुदायबारे पनि थाहा पाएपछि मलाई नेपाल उपत्यका आएर थर परिवर्तन गरेका अन्य जातजातिबारे जान्न मन लाग्यो। त्यही क्रममा मैले शिवराज श्रेष्ठ ‘मल्ल’ लाई भेटेँ र काठमाडौं उपत्यकाका नेवारहरू कसरी बने भन्ने जिज्ञासा राखेँ।
उनका अनुसार काठमाडौंलाई विशेषगरी नेवार समुदायको मूल थलो मानिन्छ। यी नेवार को होलान् र यो जाति कसरी बन्यो होला भन्नेमा विभिन्न व्यक्तिको विभिन्न मत छ।
एकथरी अनुसन्धाताहरू भन्छन्– नेवारहरू भारतको मद्रास नजिकैको नयार वा नायर देशबाट आई नेपालमा बसोबास गरेका हुन्। त्यही नयार वा नायर शब्द अपभ्रंश भई नेवार भएको हो।
इतिहासकार शिवराज श्रेष्ठ ‘मल्ल’ ले यसबारे एउटा भनाइ सुनेका थिए, ‘चन्द्रभागा नदी किनारको बाह्रमल्लारका अम्बल (क्षेत्र) मा नयाँ देश छ। त्यही नयाँ देशबाट नेवारहरू आएका हुन्।’
उनले भाषा वंशावलीमा पनि उक्त कुरा उल्लेख भएको सुनेका थिए। तर फेला पार्न सकेनन्।
‘यस्ता केही वंशावली लुकाइएको कुरा स्वयं इतिहासकार धनवज्र बज्राचार्यले गर्नुहुन्थ्यो। त्यो सत्य उजागर गर्ने प्रयास कुनै पनि इतिहासकारले गरेनन्,’ शिवराजले मसँग भने।
शिवराजले जहिलेदेखि यो थाहा पाए, उनी वंशावलीमा उल्लेख भएका ठाउँहरू खोज्न थाले। जति नै खोज्दा पनि उनले चन्द्रभागा नदी कहाँ पर्छ भनेर फेला पार्न सकेनन्।
त्यसैबीच उनी चितवनमा रहेको आफ्नो रिसोर्टको काममा व्यस्त हुन थाले। रिसोर्टमा भारतबाट थुप्रै पर्यटक आउँथे। एकदिन बम्बईबाट आएका एक जना सरकारी अधिकारीसँग उनको भेट भयो। कुराकानी गर्दै जाँदा शिवराजले आफूले पूरा गर्न नसकेको अनुसन्धानबारे बताए, ‘जति खोज्दा पनि मैले त्यो चन्द्रभागा नदी कहाँ छ भनेर पत्ता लगाउन सकिनँ।’
ती अधिकारीले उनको समस्या हल गरिदिँदै भने, ‘हिमाञ्चल प्रदेशमा चन्द्र र भागा भन्ने दुइटा नदी छ। त्यो टाँडी भन्ने ठाउँमा भएको पुलमा पुगेपछि मिसिएर चन्द्रभागा हुन्छ र जम्मू प्रदेशमा पुगेपछि चेनाव हुन्छ। चेनाव नै चन्द्रभागा हो।’
शिवराजले चेनाव नदीको विषयमा भारतका इतिहासकार राधाकुमुद मुखर्जीको किताबमा पढेका थिए। भारतको नक्सामा पनि देखेका थिए। बम्बईका ती सरकारी अधिकारीले चेनाव नै चन्द्रभागा हो भनेपछि शिवराजको जिज्ञासा सुल्झियो। उनी आफ्नो अनुसन्धानमा पुनः केन्द्रित भए।
त्यसपछि उनी एक जना प्राध्यापकको सुझावमा त्रिभुवन विश्वविद्यालयको पुस्तकालय गए र भारतका पुराना नक्साहरू खोज्न थाले।
पुरानो नक्सा हेर्दै जाँदा उनले चन्द्र र भागा भन्ने दुइटा नदी भेट्टाए। नयाँ नक्सामा त चेनाव नै लेखिएको थियो, पुरानोमा भने चन्द्र र भागा भनेर लेखिएका दुइटा नदी उनले भेटे।
‘त्यही नक्सामा मैले नयार भन्ने ठाउँ पनि फेला पारेँ। त्यहाँ बाह्रस्यूँ भनिने क्षेत्र र शकहरूको मल्लारी (पुरातात्विक महत्वको) क्षेत्र पनि फेला पारेँ,’ शिवराजले भने, ‘कतिपय अनुसन्धाताले भाषा वंशावलीलाई वाहियात भनेका छन्। त्यो नक्सा देखेपछि मलाई वंशावली वाहियात लागेन। त्यो त अतिरञ्जित पुराणको शैलीमा लेखिएकाले मात्र मान्छेले नपत्याउने भएको रहेछ। तर त्यसमा इतिहासको सत्य लुकेको छ। त्यसलाई हामीले खोज्ने धैर्य भने राख्नुपर्छ।’
त्यही धैर्यका कारण शिवराजको अनुसन्धान केही हदसम्म पूरा भयो।
उनका अनुसार भाषा वंशावली लेख्नेहरूले नयारलाई ‘नायर’ लेखे जसले गल्त सन्देश दिएको छ। नायर भारतको मद्रास (मालाबार) मा पर्छ तर नेवारहरू मद्रासबाट नभई गढवाल र हिमाञ्चल प्रदेश वरिपरि पर्ने ‘नयार देश’ बाट आएका हुन्। यसको प्रमाण के हो भने चन्द्रभागा नदी, बाह्रमल्लार लगायत ठाउँ मद्रासमा भेटिन्न। यो गढवाल र हिमाञ्चल प्रदेश वरिपरिको नयारमा भेटिन्छ।
एघारौं शताब्दीमा मिथिलाको राजधानी सिमरौनगढ बनाउने नान्यदेव त्यही नयार देशबाट आएको उनी बताउँछन्।
सिमरौनगढ त कर्नाटकबाट आएकाहरूले बनाएका होइनन् र?
मेरो यो प्रश्नमा शिवराजले भने, ‘नान्यदेवका पुर्खा सम्भवतः महाभारत युद्धपछि अयोध्याबाट दक्षिणी राजस्थान र उत्तरपूर्वी महाराष्ट्र हुँदै दक्षिण पश्चिममा पर्ने कोकण देशमा बसेको देखिन्छ। बम्बईबाट दक्षिणमा पर्ने कोकण भन्ने ठाउँलाई नै अहिले कर्नाटक भनिन्छ। त्यहाँ सूर्यवंशीहरू छन्। कतिले आफूलाई रघुवंशी अर्थात् रामकै सन्तान पनि भन्छन्। त्यही ठाउँबाट उनीहरू हिमाञ्चलमा रहेको नयाँ देश पुगे, जसलाई नयार भनिन्छ।’
उनले अगाडि भने, ‘भाषा वंशावलीमा के छ भने नान्यदेव २०–२१ वर्ष उमेरमा दिल्लीका राजाकहाँ काम गर्न बसे। दिल्ली त्यति बेलाको इन्द्रप्रस्थ हो। नयारबाट दिल्ली करिब दुई–तीन सय किलोमिटर टाढा पर्छ। उनी त्यहाँ पुगेको कुरा कसरी सम्भव छ भने त्यति बेला घोडामा त्यतिको दुरी पार गर्नु सामान्य कुरा थियो। म आफैं पनि नयार नजिकैको हरिद्वार जाँदा दिल्लीबाट तीन–चार घन्टा मात्र लागेको थियो।’
नान्यदेव दिल्लीमा काम गरिरहेकै बेला उनका आमाबुवा र श्रीमतीको मृत्यु भयो। उनी निराश भएर अयोध्या गए। त्यही क्रममा उनले कुलदेवी तुलजा भवानी अनि गाडेर राखेको धन भेटेको भनिन्छ। त्यही धनबाट उनले विशाल गढ भएको राजधानी सिमरौनगढ बनाएको भनाइ छ।
यो राज्य एक जना राक्षसले एकै रातमा बनाएको भन्ने कथा पनि छ।
कथाअनुसार नान्यदेवले गाडेको धन फेला पारे पनि उनलाई विशाल जंगलमा कसरी राज्य बनाउने भन्ने चिन्ता थियो। नान्यदेवलाई चिन्तामा देखेपछि उनकी एक दासीले भनिछन्, ‘चिन्ता नलिनुस् महाराज, तपाईंको समस्याको सामाधान म गर्दिन्छु।’
ती दासीको लंकाका राक्षससँग सम्बन्ध रहेछ। उनले आफ्ना प्रेमी राक्षसलाई उक्त कुरा बताएपछि ती राक्षसले एकै रातमा विशाल किल्ला भएको राज्य बनाइदिने बाचा गर्दै भनेछन्, ‘महाराज तपाईं भरे चाँडै सुत्नू। कोही पनि हल्ला नगर्नुहोला, नत्र मेरो काम बिथोलिन्छ।’
त्यस रात सबै जना चाँडै सुते। कसैले होहल्ला गरेनन्। तर उज्यालो हुन नपाउँदै कुखुरा बासेछ। अनि ती राक्षस काम नसकिँदै छाडेर गएछन्। यसरी बनाउँदा बनाउँदै काम पूरा नभएकाले सहरको नाम नै ‘सिमधःगढ’ राखियो। नेपाल भाषामा ‘सिमधः’ भनेको काम पूरा नभएको हो। पछि यही सिमधःगढ अपभ्रंश हुँदै सिमरौनगढ भएको हो भनिन्छ।
केही इतिहासकार भने सिमलका अग्ला रूखहरूको बीचमा सहर बसेकाले सिमरावनगढ अर्थात् सिमरौनगढ नाम रहेको भन्छन्।
‘मध्यकालीन इतिहासअनुसार त नान्यदेवको नाम चालुक्य राजाको सेनापतिका रूपमा आएको छ। चालुक्य सम्राट (विक्रमादित्य छैठौं) को महासामन्त (राज्यपाल) का रूपमा नान्यदेवले सन् १०९० तिर उत्तरी विहारको नानपुरमा राजधानी बनाई राज्य सञ्चालन गरेका थिए,’ शिवराजले भने, ‘त्यसपछि चालुक्य सम्राटहरूको उत्तर भारतमा नियन्त्रण छुट्दै गरेको मौकामा नान्यदेवले आफैं राजा हुने प्रयास गरे। उनी सिमराको पूर्वी भागमा पर्ने विकट चारकोसे जंगलमा वनगढ बनाउने प्रयासमा लागेका थिए। चालुक्य सम्राटको डरले यो काम गोप्य र अत्यन्त शीघ्र गर्नुपर्ने बाध्यता थियो। त्यसैले यो राज्य राक्षसलाई एक रातमा बनाउन लगाएको र गाडधन पाएको कथा गुथ्नुपरेको थियो होला।’
इतिहासकार शिवराज श्रेष्ठ ‘मल्ल’ ले सन् २००४ मा प्रकाशित आफ्नो किताब ‘मिथिलाका कर्नाटवंशीहरू र नेपाल मण्डलमा उनीहरूको प्रभाव (भाग–१)’ किताबमा यस्ता यावत् कथा र इतिहास समेटेका छन्। मैले यो किताबको भाग–१ मार्टिन चौतारीको पुस्तकालयमा फेला पारेकी थिएँ। अन्य भाग भने फेला पार्न नसकेकाले शिवराजलाई अलि अगाडिदेखि नै भेट्न खोजेकी थिएँ। यो संयोग अमरकुमार मल्लिकको चिठीले जुरायो।
शिवराजसँग भेटेपछि मैले के थाहा पाएँ भने उनले किताबको अन्य भाग लेख्ने सोच बनाए पनि निकाल्न सकेका रहेनछन्। उनी अहिले ८५ वर्षका भइसके। शारीरिक अवस्थाका कारण पनि किताब निकाल्न नसकेको उनले बताए। तर, उनले दोस्रो भागको किताब निकाल्न खोजी गरेका केही कथा मलाई सुनाए।
‘नान्यदेवका दुई छोरा थिए– मल्लदेव र गांगदेव। नान्यदेवले गांगदेवलाई सिमरौनगढको गद्दीमा राखे। मल्लदेवलाई भने मिथिलाको उत्तरपूर्वी क्षेत्रको राजा बनाए। मल्लदेवको राज्य सिन्धुली–दोलखा–पलाञ्चोकसम्म फैलिएको हुनसक्छ,’ उनले भने, ‘सिमरौनगढका अन्तिम राजा हरसिंहदेव दिल्लीका बादशाह गयासुद्दिन तुगलकको आक्रमणबाट भाग्दै सहायता माग्न सुरूमा दोलखा गएका थिए भन्ने कुराले पनि यही संकेत गर्छ। कोही आफन्त भएरै उनी त्यहाँ गएका होलान्!’
शिवराजले अगाडि भने, ‘जयस्थिति मल्लको पुर्खाको विषयमा पनि जानकारी लुकाइएको छ। मलाई यिनै विषयसँग जोडिएका ऐतिहासिक तथ्य खोजेर अर्को भाग लेख्न मन थियो। अब त मन भए पनि लेख्न सक्दिनँ। कसैले यस विषयमा अध्ययन–अनुसन्धान गरिदिए हुन्थ्यो भन्ने लाग्छ।’
सिमरौनगढ राज्य चौधौं शताब्दीतिर गयासुद्दिन तुगलकको आक्रमणमा तहसनहस भएपछि हरसिंहदेव भागेर आफ्नो ससुराली पर्ने नेपाल उपत्यका (भक्तपुर) हिँडेका थिए। उनको बाटैमा निधन भयो। त्यसपछि उनकी रानी देवलदेवी आफूसँगै आएका भाइभारदार र सिमरौनगढका केही जनतालाई लिएर नेपाल उपत्यका आइन्। त्यति बेला सिमरौनगढबाट आएका जातजाति धेरैजसो अहिले नेवार भएर बसेका छन्। पछि राजा जयस्थिति मल्लले यिनै विभिन्न जातजातिलाई पेसाअनुसार वर्ण व्यवस्थामा वर्गीकरण गरेका थिए। त्यही बेलादेखि नेवार समुदायभित्र वर्ण व्यवस्था प्रचलित रहँदै आएको छ।
शिवराजले दिएको तर्कअनुसार हामी यी नेवारहरू नयार भन्ने देशबाट आएका हुन् भन्न सक्छौं। तर, के सबै नेवार नयार देशबाटै आएका हुन् त?
होइन।
शिवराज श्रेष्ठ ‘मल्ल’ भन्छन्, ‘नेपाललाई एकीकृत गराउने कुनै समुदाय छ भने त्यो नेवार समुदाय हो। गोपालवंशीहरू आए र नेवारकै ज्यापु समुदायमा मिसिए। किराँतहरू पनि आए र यहीँ मिसिए। लिच्छविहरू वैशालीबाट आएका थिए। ती सबै कहाँ गए त? धेरैजसो यहाँका ज्यापु भएर बसेका छन्। कर्नाटकबाट आएकाहरू पनि यहीँका भएर बसे। मध्ययुगमा आएका खसहरूलाई पनि नेवारहरूले आफूसँगै मिलाएर राखे।’
उनले अगाडि भने, ‘यहाँको नेवार समाज कस्तो रहेछ भने यसले जो–जति पनि यहाँ आएका थिए, ती सबैलाई आफूमा समाहित गराइदिँदो रहेछ र आफूजस्तै बनाइदिँदो रहेछ।’
त्यही भएर शिवराज नेवारलाई कुनै जाति भन्दा भाषा र संस्कृति मान्छन्। भन्छन्, ‘जसको भाषा र संस्कृति मिल्यो, त्यो नेवार हो। विभिन्न ठाउँका मान्छे यहाँ आएर नेवार भएको भए पनि नेवार काठमाडौं उपत्यकामा आफैं विकसित भएको समुदाय हो। उनीहरूको मूल हाँगा ज्यापुहरू हो।’
‘नेपालका नेवारहरू पहिचान र पृष्ठभूमि’ किताबका लेखक तुलसी नारायण श्रेष्ठ पनि यो कुरामा सहमत छन्। उनका अनुसार नेपाल भाषा बोल्ने र नेपाल उपत्यकामा विकास भएको संस्कृति र सभ्यतालाई अंगिकार गर्ने सबै नेवारमा रूपान्तरित भएका थिए।
‘नेपाल उपत्यका एउटा ठूलो तलाउबाट मानव वस्तीको रूपमा परिणत भएको समयदेखि अठारौं शताब्दीको उत्तरार्धमा तत्कालिन गोरखाका राजा पृथ्वीनारायण शाहबाट नेपाल उपत्यकाको विजय गरिएको समयसम्ममा उपत्यका र वरपरका नेपाल भाषा, संस्कृति र सभ्यतालाई अंगिकार गर्ने तत्कालिन निवासीका सन्तानको सामुहिक रूप नै आजको नेवार समुदाय हो भन्दा फरक पर्दैन,’ उनले किताबमा लेखेका छन्।
उनले अगाडि लेखेका छन्, ‘दक्षिण भारतबाट विभिन्न समयमा आएका बृजि, राठौर, चौहान, हाडा, शाक्य, कोली, तिरहुते ब्राह्मण, भट्ट ब्राह्मण, बंगाली ब्राह्मण लगायत यहाँको नेवार समुदायका मिसिएका थिए। खस समुदाय पनि नेपाल उपत्यका प्रवेश गरी नेवारमा रूपान्तरण भएको पाइन्छ।’
तिब्बतबाट नेपाल उपत्यका प्रवेश गरेका केही मंगोल जातिका बौद्ध धर्मालम्बीहरू पनि नेवार समुदायमा रूपान्तरित भएका थिए। त्यस्तै नेपाल भाषालाई आफ्नो मातृभाषाको रूपमा अंगिकार गरेका मुसलमान र क्रिस्चियनहरू पनि नेवार भएका थिए।
‘इसा पूर्वको एक हजार वर्ष र इसापछिको एक हजार वर्षभित्र पूर्व–पश्चिम, दक्षिण–पश्चिमबाट आएका तिब्बती बर्मेली र आर्य भाषाभाषीको समिश्रणबाट एउटा नयाँ समुदायको जन्म भयो। दोस्रो सह्रशताब्दीको आसपासमा यसको स्पष्ट पहिचान हुन थाल्यो र संस्कृति, सभ्यता, कला, नेपाल सम्बत, नेपाल भाषा, नेपाल लिपि लगायत विकास भयो,’ तुलसी नारायण श्रेष्ठले किताबमा लेखेका छन्, ‘यसरी जन्मिएको समुदायलाई नेपाल शब्दको प्राकृत रूप नेपाल/नेबाल भनियो र पछि नेवार भन्न थालियो। नेपाल मण्डल मूलतः यही समुदायको आदिभूमि हो।’
नेवार समुदायको चर्चा गर्दा हामीले सिमरौनगढबाट आएका कनार्टवंशी कायस्थहरू यहाँ कसजू, फैजू, सांयजू लगायत थरमा परिणत भएको कुरा अगाडि बताइसक्यौं। अब हामी अन्य नेवार थरहरूबारे पनि कुरा गरौं, जो कर्नाटवंशीबाट नेवार थरमा परिणत भएका छन्।
हाडा भन्ने थरबाट सुरू गरौं, जो भक्तपुर आएपछि बिजुक्छें भए।
हाडा कुल देवता घरको प्रवेशद्वारको बायाँतर्फ सम्बत् ८४६ अंकित अभिलेख छ, जसमा चन्द्र हासको नाम छ। हाडा कुलका व्यक्तिहरू उनलाई आफ्नो मूल पुरूष मान्छन्। जनश्रुतिअनुसार हाडा कुलमा मूल पुरूष मानिने तीन दाजुभाइ थिए। तिनमा जेठो चन्द्र हास, माहिलो षसि हास र कान्छो रज हास थिए।
केही समयपछि ती तीन पुरूषका शाखा–सन्तान बढे। यसले व्यावहारिक कठिनाइ भयो र तीन पुरूषका सन्तानलाई तीन शाखामा विभाजन गरियो। तिनीहरू क्रमशः जेठोका थाथु, माहिलोका दथु र कान्छोका कुथु समूह बन्न गए। उक्त विभाजनपछि हाडाहरूको कर्मकाण्डका लागि शाखाहरू छुट्टिए। एक शाखाभित्र १३ दिने दाजुभाइ मात्र परे।
औपचारिक रूपमा नभए पनि अनौपचारिक रूपमा ती शाखाभित्र धेरै नाम–थर हुँदै आए। जस्तो– जेठो चन्द्र हासका सन्तानको शाखालाई ‘इकं कप्पा’ भन्ने सामूहिक नाम दिइयो। ‘इक’ भनेको एक प्रकारको सागको नेवारी नाम हो। यस शाखाका बहुसंख्यक परिवार कृषक भएकाले यो नाम रहेको धारणा छ।
माहिलो षसि हासको खलकलाई लोरा, बिजुक्छें, घ्यूः साहु, न्हुछेू आदि नामबाट पुकार्ने गरिन्छ। प्रायः पेसाका आधारमा यी नाम रहेको देखिन्छ।
कान्छो रज हासको सन्तान खलकलाई ‘खिमुरू’ नामबाट पनि पुकारिन्छ। यो शाखा छोरीबाट फैलिएको विश्वास गरिन्छ र यो समूहले कुल देवताका धेरैजसो पूजामा भाग लिन नपाउने प्रावधान छ।
‘ती समूहमा आ–आफ्नो रीति र व्यवहार अलग–अलग भए पनि कुलदेवतासम्बन्धी पूजा सबै समूह एक भएर चलाउने गर्छन्। ती तीनै समूहको सामूहिक नाम पनि बिजुक्छें नै हो,’ गंगा कर्माचार्य (हाडा) ले ‘हाडा वंश र कुलदेवता– एक अध्ययन’ भन्ने लेखमा लेखेका छन्।
संस्कृतिविद् ओम धौभडेलका अनुसार हाडाहरूले भारतको राजस्थानदेखि पूर्वी पाकिस्तानमा क्षेत्रीय शासक भई आफ्नो इतिहास बनाएका छन्। नेपालमा हाडाहरूको आगमन पनि राजस्थानबाटै भएको उनी बताउँछन्।
‘हाडा बिजुक्छेंहरूको आगमन कहिले भयो भन्ने भरपर्दो आधार छैन। तर भक्तपुरमा तुलजा भवानीको आगमनभन्दा धेरै अगाडि हाडाहरूको विलाछें आगम बनिसकेको मानिन्छ। विलाछें आगमलाई तलेजुकी दिदी भन्ने चलनबाट यो स्पष्ट हुन्छ,’ उनले भने।
जसरी हाडाहरू बिजुक्छें भएका छन्, राठौरहरू पनि राजस्थानबाट सिमरौनगढ हुँदै काठमाडौं उपत्यका आएपछि ‘ग्वंग’ भएका छन्।
नेपाल भाषामा ग्वंग भनेको कुखुराको भाले हो। राठौरहरूलाई ग्वंग नाम किन दिइयो भन्ने विषयमा एउटा कथा छ–
सन् १७०२ मा राजा भूपतिन्द्र मल्लले तौमढी टोलमा पाँचतले मन्दिर (ङ्यातापोल) बनाउन लगाएका थिए। जहाँ राजाले मन्दिर बनाउने भनेर सोचेका थिए, त्यो ठाउँमा स्थानीयहरूको जग्गाजमिन थियो। राजाले त्यहाँ मन्दिर बनाउने भएपछि पालिखेलको ठूलो मैदानमा उनीहरूलाई जग्गा व्यवस्था गरिदिए।
तौमढीमा पाँचतले मन्दिर बनाउन चाहिने इँटा मूलढोकामा बस्ने एक जना मानिसले उत्पादन गरेर राजालाई बेच्थे। उनी राजालाई इँटा बेच्न बिहान सबेरै पुग्थे। तीन–चार दिनसम्म राजाले त्यो मान्छे कराउँदै इँटा बेच्न आएको थाहा पाएपछि भनेछन्, ‘कस्तो ग्वंग (कुखुरा) जस्तै एकाबिहानै कराउन आउँदो रहेछ यो मान्छे त!’
त्यसपछि त्यो व्यक्तिको थर नै ग्वंग रहेको भनाइ छ।
पछि उनले इँटा बनाउन माटो निकालेको खाल्डोमा वर्षातको समय पानी जम्मा भयो र पोखरी बन्यो, जसलाई ग्वंग पुखु (पोखरी) भनेर चिनिन्छ। यो पोखरी भक्तपुरको मूलढोकामा छ।
राठौरहरूको वंशावलीअनुसार उनीहरूका पुर्खा हरसिंहदेवसँगै नेपाल आएको शिवराज बताउँछन्।
‘राजस्थानसँग जोडिएको मध्यप्रदेशको उत्तर–पश्चिमस्थित निमार (निवाड) भन्ने देशसँग नान्यदेव र उनका पुर्खाको घनिष्ठ सम्बन्ध थियो। उनी र उनका पुर्खाको त्यहाँका लडाकू राजपुत, पारमार र विशेषतः हाडा राजपुतहरूका साथै चौहान र राठौर राजपुतहरूसँग विशेष सम्बन्ध थियो होला,’ शिवराजले भने, ‘सिमरौनगढ राज्य खडा गरेपछि आफ्नो मान्छे चाहियो भनेर नान्यदेवले त्यहाँबाट उनीहरूलाई झिकाएको हुनुपर्छ। त्यही मान्छे पछि काठमाडौं उपत्यका आए। मल्लराजाहरूका दरबारमा झा, मिश्र र कायस्थजस्ता मैथिली विद्वान मन्त्रीहरू र हाडा, राठौरजस्ता सेनानायकहरूको महत्वपूर्ण भूमिका थियो।’
काठमाडौं उपत्यकाका नेवारहरूले राँगा खाने परम्परा अनि तुलजा भवानीलाई कुलदेवीका रूपमा पूजा गर्ने परम्परा सुरू हुनुमा पनि सिमरौनगढकै प्रभाव थियो भन्नेमा दुईमत छैन। यो परम्परामा भारतका जुन ठाउँबाट हाडा, राठौर, चौहान लगायतका जातजातिलाई सिमरौनगढ झिकाइयो, तिनै ठाउँको प्रभाव देखिने शिवराज बताउँछन्।
उनका अनुसार भारतको मध्यप्रदेशस्थित खण्ड्वा रेल्वे स्टेसन नजिकै तुलजा भवानीको प्राचीन भव्य मन्दिर छ। शोलापुरमा पनि तुलजा भवानीको प्रख्यात मन्दिर छ। त्यस नजिकै चालुक्य शासकहरूले पहिलो राजधानी बनाएका थिए। चालुक्य शासकहरूकै सेना थिए, नान्यदेव। त्यही प्रभावका कारण तुलजा भवानीले सिमरौनगढ हुँदै नेपालमा समेत ख्याति पाएको शिवराजको भनाइ छ।
त्यस्तै, राजस्थानको भिल्लवाडामा भैरव र चामुण्डा देवीको मन्दिरमा राँगा (भैंसी) को बलि दिने प्रथा छ। बलि दिएको राँगोलाई सानो थुम्कोमा रहेको मन्दिरबाट खसाल्ने चलन छ।
‘राँगाको बलि दिने प्रथा राजस्थान र त्यस आसपासको क्षेत्रबाहेक अन्त कतै छैन। त्यही ठाउँबाट सिमरौनगढ पुगेका मान्छेहरूकै कारण नेपाल उपत्यकामा राँगा खाने चलन आएको हुनसक्छ,’ शिवराजले भने।
नेवारहरू (विशेषगरी छ थरे) अक्षय तृतीयालाई ठूलो चाडका रूपमा मान्छन्। यो दिनलाई दक्षिणपूर्वी राजस्थानसँग जोडिएको उत्तरी मध्यप्रदेशको बुन्देलखण्डमा पनि ठूलो चाडका रूपमा मनाइन्छ। नेवारी चलनअनुसार त्यस दिन माटाको गाग्रीमा बटुवाहरूका लागि पानी राखिन्छ। जौको सातु र गुड–चिनी–पानीको सरबत बनाएर खाने र बाँड्ने गरिन्छ। यही परम्परा भारतको बुन्देली र हडौती भन्ने ठाउँको चलनसँग मिल्ने शिवराज बताउँछन्।
उनका अनुसार सिमरौनगढका राजा नान्यदेवका पुर्खाको हाडा जातिसँग बिहेवारी चल्थ्यो। भक्तपुरका मल्लराजाहरूको बिहेवारीसमेत हाडाहरूसँग हुन्थ्यो। भक्तपुरका अन्तिम राजा रणजित मल्लकी एक रानी हाडा थरकी भएको उनी अनुमान गर्छन्।
शिवराज आफ्नो नामसँग श्रेष्ठ र मल्ल दुवै थर जोड्छन्। यसको कारण के होला?
उनी कसरी श्रेष्ठ ‘मल्ल’ भए भन्नेबारे बताउनुअघि ‘मल्ल’ थर कसरी आयो, त्यो भन्छु है!
वीरेन्द्र कायस्थका अनुसार ‘मल्ल’ संस्कृत शब्द हो, जसको अर्थ युद्धमा पोख्त व्यक्ति, पहलमान वा कुस्तीबाज भन्ने बुझिन्छ। पौराणिक कालमा पनि मल्लयुद्धको चर्चा पुराणहरूमा पाइन्छ। महाभारतमा भीमसेन, दुर्योधन लगायतलाई मल्लयुद्धमा निपुर्ण भनिएको छ। लिच्छवि कालमा मल्लयुद्ध गर्नेहरूको संगठन नै हुन्थ्यो। दक्षिण भारतमा मल्ल उपाधि पदवीका रूपमा दिने चलन थियो।
‘नेपालमा राजा अरिदेवले मल्लयुद्ध गरी सर्वसाधारण जनतालाई मनोरञ्जन दिइरहेका बेला दरबारमा उनको छोराको जन्म भयो। त्यस बेला उनले आफ्नो छोरालाई मल्ल उपाधि दिए। त्यही उपाधि नै थरका रूपमा रहन गयो भन्ने वंशावलीहरूमा पाइन्छ,’ वीरेन्द्रले भने।
अब हामी शिवराज श्रेष्ठ ‘मल्ल’ ले किन दुइटा थर आफ्नो नाममा लेखे भन्ने चर्चा गरौं। शिवराज आफ्नो पुर्खा भक्तपुरका राजा रणजित मल्ल भएको बताउँछन्।
रणजित मल्लका मठ्या (ल्याइने) रानीका सात छोरामध्ये अवधूतसिंह ठाइँला छोरा थिए। पृथ्वीनारायण शाहले भक्तपुरमा आक्रमण गर्दा रणजितका ठाइँला छोरा अवधूतसिंह र काहिँला छोरा अच्युत (अजित) सिंहबाहेक सबै शाहको पक्षमा लागे। यी दुई छोराले बुवा रणजितलाई सल्लाह पनि दिएका थिए, ‘काठमाडौं र पाटनका राजाहरूसँग मिलेर गोर्खालीहरूलाई हराउन सकिन्छ।’
तर, आफ्नो मितछोरा पनि रहेका पृथ्वीनारायण शाहले धोका देलान् भन्ने रणजितलाई लागेन। त्यही भएर छोराहरूको प्रस्ताव उनले स्विकारेनन्। त्यसैको परिणामस्वरुप १८२६ सालको भक्तपुर युद्धमा काठमाडौं, पाटन र भक्तपुरका तीनै राजाले आत्मसमर्पण गर्नुपर्यो।
पृथ्वीनारायण शाहले भक्तपुर जितेपछि उनका छोराहरूलाई त्यो राज्य सुम्पने र राजा बनाइदिने बाचा गरेका थिए। तर राज्य जितेपछि पृथ्वीनारायणले उनीहरूलाई कैद गरे र भने, ‘आफ्नै बुवालाई त धोका दिने तिमीहरूले मलाई छाड्छौ होला!’
त्यसपछि उनीहरूको नाक–कान काटेर सर्वस्व हरण गरिएको भनिन्छ। राजा रणजित मल्ल भने आफ्नी कान्छी रानी र अवधूतसिंहलाई लिएर काशी गए।
पृथ्वीनारायण शाहले भक्तपुर कब्जामा लिएपछि अवधूतसिंहले लुकिछिपी हमला गर्ने प्रयास गरेको देखिन्छ। उनी पृथ्वीनारायणका सबभन्दा ठूलो दुश्मन बनेका थिए। त्यही भएर उनी र उनका सन्तानलाई जहाँ देख्यो त्यहीँ मार्ने उर्दी थियो।
उनी र उनका सन्तान लुक्दै–भाग्दै बस्न थाले। हाल अवधूतसिंहका सन्तान पाल्पा, बुटवल र डोटीसम्म फैलिएका छन्। शिवराज श्रेष्ठ ‘मल्ल’ को पुख्यौली घर पनि डोटी हो।
‘हामी अवधूतसिंहकै सन्तानमध्येका एक पुस्ता हौं। पृथ्वीनारायणले अवधूतसिंहका सन्तानलाई मार्ने उर्दी दिएकाले हाम्रो पुर्खा धेरैजसोले थर परिवर्तन गरेका रहेछन्,’ उनले भने, ‘हाम्रो कुलदेवता तलेजु नै हो। हाम्रो गोत्र पनि मानव हो, जुन मल्लराजाहरूको पनि गोत्र थियो। त्यही नै हामी मल्लराजाका सन्तान हौं भन्ने प्रमाण हो।’
गोर्खाली आक्रमणपछि नै शाहहरूको डरले धेरै नेवारहरू लुकिछिपी काठमाडौं उपत्यकाबाहिर बस्न गएको देखिन्छ। पछि रणबहादुर शाहले पनि बिफर रोग फैलिएका बेला साना केटाकेटीसहित यहाँका नेवार परिवारलाई बाहिर खेदेका थिए। त्यस क्रममा थुप्रै नेवार काठमाडौं उपत्यकाबाट विस्थापित भए।
त्यति बेला नेपालबाट सिक्किम पुगेका धेरै नेवार आफ्नो थर प्रधान लेख्छन्। उनीहरू पहिलोपटक सिक्किम पुगेका भक्तपुरका लक्ष्मीदास कसजूका सन्तान हुन्। एकपटक नेपाल सरकारले सिक्किमका नेवारलाई फिर्ता ल्याउन खोजेको रहेछ। तर, त्यहीँको रहनसहनमा भिजिसकेका नेवारलाई लक्ष्मीदासका सन्तानले सिकाएछन्, ‘नेवार खोज्दै आए हामी त प्रधान हौं, नेवार होइनौं भन्नू है।’
त्यही समयदेखि सिक्किमका सबै नेवारले ‘प्रधान’ थर लेख्न थालेको भनाइ छ।
यसबाट के थाहा पाउन सकिन्छ भने मधेसका मान्छे यहाँ आएर नेवार थरमा परिणत हुनु र यहाँका नेवारले अन्य थर लेख्नु कुनै नौलो कुरा होइन। इतिहासकार शिवराजले भनैझैं कुनै पनि जाति हुनु भनेको भाषा र संस्कृतिको सम्मीश्रण न हो।
...
‘मिथिलाक कथासभ’ श्रृंखलाका स्टोरीहरू पढेपछि नै एकदिन मलाई थिमीका संस्कृतिविद् गणेशराम लाछीले फोन गरेर भनेका थिए, ‘हाम्रो प्रजापतिहरूको पनि सिमरौनगढसँग कुनै सम्बन्ध छ कि भनेर खोजिदिनुस् न।’
उनले मलाई एउटा कथा पनि सुनाएका थिए–
सिमरौनगढबाट नेपाल उपत्यका (भक्तपुर) आउँदै गर्दा उनीहरू जंगलमा हराएछन्। जंगलै जंगल हिँड्दै गर्दा उनीहरू बेलुका फेरि जहाँबाट हिँडेको त्यहीँ पुगेछन्। तीन-चारपटकसम्म बाटो भुलेपछि उनीहरूले परमेश्वरलाई सम्झिएछन् र ‘बाटो पहिल्याइदेऊ’ भनेर पूजा गरेछन्। पूजा गरेपछि उनीहरूले बाटो भेटेछन् र भक्तपुर आएछन्।
त्यही समयदेखि केही प्रजापति थर भएकाहरूले ‘लँ पूजा’ भनेर हरेक वर्ष बाटोको पूजा गर्ने गरेको उनी बताउँछन्।
‘देवाली पूजा गर्नुअघि उनीहरू लँ पूजा गर्छन् र भोलिपल्ट देवाली पूजा गर्छन्। त्यसरी लँ पूजा गर्ने प्रजापतिहरू सिमरौनगढबाट बाटो पहिल्याउँदै आएका हुन् भनिन्छ,’ लाछीले भने।
इतिहासकार शिवराज श्रेष्ठ ‘मल्ल’ भारतमा थुप्रै प्रजापति समुदाय रहेको र उनीहरू पनि माटोकै काम गर्ने भएकाले सिमरौनगढबाट आएका थुप्रै मान्छेमा उनीहरू पनि हुनसक्ने बताउँछन्।
...
यो ‘मिथिलाक कथासभ’ को पहिलो शृंखलाको अन्तिम अध्याय हो।
योसमेत गरी मिथिला कथा शृंखलाका सत्रवटा कथा पढेर तपाईंहरूले थाहा पाउनुभयो होला, मिथिलाबारे जान्ने पहिलो ठाउँ मिथिला नै हो। त्यसका लागि तपाईं प्राचीन मिथिला क्षेत्र पुग्नुपर्छ, जुन पूर्वमा कौशिकी (कोसी) नदीदेखि पश्चिममा गण्डकी र दक्षिणमा गंगा नदीदेखि उत्तरमा हिमालयसम्म फैलिएको थियो।
मिथिलाबारे जान्ने दोस्रो ठाउँ चाहिँ काठमाडौं उपत्यका हो।
हामी मिथिला क्षेत्रका कथा खोज्न बारा जिल्लामा पर्ने सिमरौनगढ र धनुषा जिल्लामा पर्ने जनकपुरका विभिन्न ठाउँ पुगेका थियौं। धेरैजसो कथाको सम्बन्ध कुनै न कुनै रूपमा काठमाडौंसँग ठोक्किएको थियो, जसले काठमाडौं र मिथिलाको गहिरो सम्बन्ध छर्लंग पार्छ।
हामीले यो श्रृंखलामा मिथिला अनि त्यहाँको समाज र संस्कृतिबारे चर्चा गर्दा धेरै इतिहासकारले कर्नाटवंश र सिमरौनगढलाई बडो रोचकतापूर्वक चासो देखाएको पायौं। काठमाडौंमा भेटिने थुप्रै नेवार समुदाय र यहाँका केही मल्लराजासमेतले आफूलाई कर्नाटवंशसँग जोड्दा गर्व महशुस गरेको पनि भेट्यौं। यसको कारण कर्नाटवंश एकदम प्रभावशाली र सम्पन्न राज्य हुनुले हो।
शिवराज श्रेष्ठ ‘मल्ल’ भन्छन्, ‘यदि हामीले मिथिला क्षेत्रबारे जान्ने हो भने मिथिलाका कर्नाटवंशी र नेपाल मण्डलसँग उनीहरूको सम्बन्धबारे बुझ्नुपर्छ। झन् सिमरौनगढ र कर्नाटवंशीहरूको उद्गम स्थलमा पुग्ने हो भने मिथिलासँग जोडिएका अनेकन रोचक तथ्य भेट्न सक्छौं होला।’
यी पनि पढ्नुहोस्: