बर्दिबासबाट काठमाडौंसम्म मिटरब्याजीविरूद्ध मार्च गरेर आएका पीडितहरूलाई खुलामञ्च छिर्न रोक लगाइएको छ।
११ दिन लगाएर बर्दिबासदेखि हेटौंडा हुँदै काठमाडौंसम्म आएका मिटरब्याज पीडितहरूलाई काठमाडौं महानगरपालिकाले खुलामञ्चमा गेट बन्द गरेको हो।
सार्वजनिक स्थानमा बस्न दिन हुँदैन भनेर खुलामञ्चको गेट बन्द गरेको काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए।
‘खुलामञ्च भनेको सार्वजनिक स्थल हो,’ उनले भने, ‘त्यहाँ कसैलाई पनि बस्न दिन हुँदैन। त्यसैले हामीले त्यहाँ बस्न नदिने निर्णय गरी छिर्न रोक लगाएका हौं।’
मिटरब्याजी पीडितलाई व्यवस्थित स्थानमा बस्ने व्यवस्था मिलाइदिएको उनी बताउँछन्।
‘हामीले गौशालास्थित धर्मशालामा उनीहरूलाई निःशुल्क बस्ने व्यवस्था मिलाइदिएका छौं,’ उनले भने।
यस्तै उनीहरूलाई बस्ने व्यवस्था मिलाइदिँदा पनि सार्वजनिक स्थल खुलामञ्चमै बस्न खोजेका कारण रोक लगाउनु परेको महानगरका मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाह बताउँछन्।
‘उहाँहरूलाई कता राख्ने हो त्यो काम महानगरको काम होइन,’ उनले भने, ‘प्रदेश सरकार, संघीय सरकार र केन्द्र सरकारले सोच्नुपर्छ। महानगरले धर्मशालामा व्यवस्था मिलाइदिँदा पनि खुलामञ्चमै किन बस्नुपर्यो? हामीले सार्वजनिक स्थानमा बस्न दिन मिल्दैन।'
अहिले पीडितहरू खुलामञ्चको गेटबाहिरै धर्ना दिएर बसेका छन्।
मिटरब्याजविरूद्धको संघर्ष समितिले आयोजना गरेको मार्चमा पीडितहरूले विभिन्न प्लेकार्ड बोकेका छन्।
तमसुक व्यवस्थम खारेज गर, मिटरब्याजीलाई खारेज गर, मिटर ब्याजीको अवैध सम्पत्ति छानबिन गर, झूटा मुद्दामा गिरफ्तार गरिएका पीडितलाई रिहा गरलगायत माग राखेर उनीहरू काठमाडौं आइपुगेका हुन्।
तस्बिरहरू: