मिटरब्याजीविरूद्ध मार्च गरेर बर्दिबासबाट काठमाडौं आएका पीडितहरूलाई काठमाडौं महानगरपालिकाले खुलामञ्च छिर्न रोक लगाइएको छ।
सोमबार साँझ खुलामञ्च छिर्न खोज्दा पीडितहरूलाई महानगर प्रहरीसँग धकेलाधकेल गरेको हो। बर्दिबासबाट हिँड्दै ११ औं दिनमा काठमाडौं आइपुगेका उनीहरू खुलामञ्चमा बस्न चाहन्थे।
सार्वजनिक स्थानमा बस्न दिन हुँदैन भनेर खुलामञ्चको गेट बन्द गरेको काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए।
‘खुलामञ्च भनेको सार्वजनिक स्थल हो,’ उनले भने, ‘त्यहाँ कसैलाई पनि बस्न दिन हुँदैन। त्यसैले हामीले त्यहाँ बस्न नदिने निर्णय गरी छिर्न रोक लगाएका हौं।’
मिटरब्याजी पीडितलाई व्यवस्थित स्थानमा बस्ने व्यवस्था मिलाइदिएको उनी बताउँछन्।
‘हामीले गौशालास्थित धर्मशालामा उनीहरूलाई निःशुल्क बस्ने व्यवस्था मिलाइदिएका छौं,’ उनले भने।
यस्तै उनीहरूलाई बस्ने व्यवस्था मिलाइदिँदा पनि सार्वजनिक स्थल खुलामञ्चमै बस्न खोजेका कारण रोक लगाउनु परेको महानगरका मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाह बताउँछन्।
'उहाँहरू कहाँ बस्ने हो, त्यो उहाँहरूले नै व्यवस्था मिलाउनुपर्ने कुरा हो,' उनले भने, 'महानगरले धर्मशालामा व्यवस्था मिलाइदिँदा पनि खुलामञ्चमै किन बस्नुपर्यो? हामीले सार्वजनिक स्थानमा बस्न दिन मिल्दैन।'
अहिले पीडितहरू टुँडिखेलको गेटबाहिरै धर्ना दिएर बसेका छन्।
मिटरब्याजविरूद्धको संघर्ष समितिले आयोजना गरेको मार्चमा पीडितहरूले विभिन्न प्लेकार्ड बोकेका छन्।
तमसुक व्यवस्थम खारेज गर, मिटरब्याजीलाई खारेज गर, मिटर ब्याजीको अवैध सम्पत्ति छानबिन गर, झूटा मुद्दामा गिरफ्तार गरिएका पीडितलाई रिहा गरलगायत माग राखेर उनीहरू काठमाडौं आइपुगेका हुन्।