यसपालि हिउँदभरि हिउँ परेन। जब चैत लाग्यो, तब माछापुच्छ्रे हिमाल सेताम्मे देखिन थाल्यो। पुस र माघ महिनाको जाडोमा समेत हिउँ नपरेको माछापुच्छ्रेमा चैतमा हिउँ पर्दा स्थानीय अचम्म परेका छन्।
‘पुस, माघको जाडोमा पनि यसपालि हिउँ परेन, अहिले आएर हिमपात भएको छ,’ माछापुच्छ्रे मोडल ट्रेक अन्तर्गत खुमैडाँडामा होटल चलाएका नारायण गुरूङले भने, ‘हिउँ नपर्दा लालीगुराँस राम्रोसँग फुलेन, फुलेका पनि असिनाले सोत्तर बनाइदियो।’
हिमपात भएपछि पोखराबाट देखिने हिमालहरू सेताम्मे देखिएका छन्। गर्मी लागेपछि परेको हिउँ लामो समय नरहने पर्यटन व्यवसायी गुरूङले बताए। अहिलेको हिउँ केही दिन घाम लाग्दा पग्लिन्छ। हिउँदमा भारी हिमपात हुने भएकाले लामो समय जमेर बस्ने उनको अनुभव छ।
माछापुच्छ्रे मात्र होइन, अन्य हिमालमा पनि यसपालि समयमै हिउँ परेन। हिमालमा हिउँ पर्ने सिजन परिवर्तन हुँदै गइरहेको पदयात्री मोनालिसा थापाले अनुभव गरेकी छिन्। शे-फोक्सुण्डो, गोसाइकुण्ड, अन्नपूर्ण फेरो, लाङटाङ लगायतका पदमार्गमा पदयात्रा गरेकी उनले हिउँ पर्ने सिजन परिवर्तनको प्रत्यक्ष असर हिमाली क्षेत्रका बासिन्दामा परेको बताइन्।
‘हिमाली क्षेत्रमा पदयात्रा जाँदा त्यहाँका मान्छेहरू अचेल हिउँ नै पर्दैन भन्छन्,’ शुक्रबार खुमैडाँडामा भेटिएकी मोनालिसाले भनिन्, ‘हामीले कालापत्थर देखेका ठाउँहरू उहिले हिउँले भरिन्थ्यो भनेर चर्चा गर्छन्।’
हिमाली क्षेत्रमा नौला फूलहरू देखिन थालेको पनि उनले बताइन्। पोखराको पृथ्वीनारायण क्याम्पसमा माइक्रोबायोलोजी अध्यनरत मोनालिसाले हिमाली क्षेत्रमा हिउँ पर्न छाडेको मात्र नभई बाढी, पहिरो र खानेपानीको अभाव बढिरहेको बताइन्।
‘हामी शे-फोक्सुण्डो पदयात्रा जाँदा पहिरोले ६ दिनको यात्रा १२ दिन लम्बिएको थियो,’ उनले भनिन्, ‘हिमाली क्षेत्रमा अझै दु:खका दिन आउन सक्छ।’
कास्कीको माछापुच्छ्रे गाउँपालिका-८ का वडाध्यक्ष राम गुरूङले हिमाली क्षेत्रमा संकट बढिरहेको बताए।
‘जलवायु परिवर्तनले हिमालमा आश्रित नागरिक संकटमा परेका छन्,’ उनले भने, ‘हिमाली क्षेत्रमा बस्न, खान र खेतिपाती गर्न पनि नसकिने स्थिति छ।’
हिउँ पर्न छोडेपछि केही वर्ष अघिसम्म हिउँले ढाकिएर हिमाल बनेका ठाउँ पनि अहिले कालो पहाडमा परिणत भएको उनले बताए।
‘हिउँ पग्लेर बग्ने खोलामा पानी घटिरहेका छन्, जलविद्युत आयोजनाले हिउँदयाममा क्षमता अनुसार आधा पनि बिजुली उत्पादन गर्न सकेको छैन,’ उनले भने, ‘बर्खामा बाढी आउने र हिउँदमा हिउँ पनि नपर्ने समस्या हामीले भाग्नुपरेको छ।’
हिमाली क्षेत्रमा संरक्षणका कार्यक्रम चलाउन आवश्यक रहेको भन्दै उनले जलवायु परितर्वनबाट जोगिने उपायको खोजी गर्नुपर्ने बताए।
‘हिमालै नरहे हामीलाई मात्र होइन, सबैलाई असर गर्छ,’ उनले भने, ‘तत्काल हामीलाई मात्र समस्या परेको छ, भोलि सबैलाई समस्या पर्न सक्छ।’
जलवायु परिवर्तनले हिमाली क्षेत्रमा असर पारेको भन्दै कास्कीको माछापुच्छ्रे गाउँपालिकाले शनिबार खुमैडाँडा (३२४५ मि) मा कार्यपालिका बैठक राखेको थियो। बैठकले जलवायु परिवर्तन न्यूनीकरण गर्न र हिमाली क्षेत्रमा अनुकूलनका योजना लागु गर्न नेपाल सरकारसँग माग गर्ने निर्णय गरेको प्रवक्ता गणेश आचार्यले बताए।
‘जलवायु परिवर्तनले हिमाली क्षेत्रमा धेरै असर पारिसकेको छ, यहाँका नागरिकले धेरै दु:ख पाइरहेका छन्,’ उनले भने, ‘हामीले खुमैडाँडामा कार्यपालिका बैठक बसेर यसको न्यूनिकरणमा विशेष योजना लागु गर्न सरकारसँग माग गर्ने निर्णय गरेका छौं।’
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)भित्र पर्ने भए पनि जलवायु परिवर्तनका विषयमा एक्यापले केही काम गर्न नसकेको गाउँपालिकाको निष्कर्ष छ।
‘एक्याप लाचार छ, जलवायु परिवर्तनका विषय जनतालाई बुझाउन पनि चाहेन,’ उनले भने, ‘एक्यापले केही गरेन भनेर हामीले हेरेर बस्नु भएन नि।’
अन्नपूर्ण संरक्षण क्षेत्रबाट उठ्ने राजश्व गाउँपालिकाले पाउनुपर्ने र उक्त रकम वातावरणीय संरक्षणमा खर्च गर्नुपर्ने पनि उनीहरूले माग गरेका छन्। संरक्षित क्षेत्रका लागि आउने बजेट गाउँपालिकामार्फत खर्च हुनुपर्ने निर्णय गाउँपालिकाले गरेको आचार्यले बताए।
माछापुच्छ्रे गाउँपालिका-२ का वडाध्यक्षसमेत रहेका आचार्यले हिमाली क्षेत्रमा आउने बाढी, पहिरो जस्ता घटनाको पूर्वसुचना दिने प्रणाली राख्न पनि माग राखेका छन्। सेती नदीमा २०६९ वैशाख २३ गते आएको जस्तो बाढी आउँदा पूर्वसूचना दिने प्रणाली भए धेरै जनधनको क्षति रोक्न सकिने उनले बताए।
त्यतिबेला सेती नदीमा आएको बाढीमा परेर माछापुच्छ्रे गाउँपालिकाको खारापानी बजार बगाएको थियो भने ५० जना बढीले ज्यान गुमाएका थिए। पदयात्रीका लागि नयाँ गन्तव्यका रूपमा स्थापित खुमैडाँडामा कार्यपालिका बैठकमार्फत् जथाभावी फोहोर नफाल्न र रूख, बिरूवा जथाभावी नकाट्न पनि स्थानीयलाई गाउँपालिकाले अनुरोध गरेको छ।
पदमार्गमा समस्या नै समस्या
खुमैडाँडामा पर्यटकको चाप बढ्न थालेपछि स्थानीयले ‘ग्रेट माछापुच्छ्रे ट्रेक’ नामकरण गरेर होटल, चिया पसललगायत खोल्दैछन्। होटल र चिया पसल बनाउन व्यवसायीले लालीगुराँसलगायत बिरूवा काटेका छन्। होटल बनाउन जथाभावी रूख नकाट्न र फोहोर मैला व्यवस्थापन गर्न पनि आग्रह गरिएको प्रवक्ता आचार्यले बताए।
खुमैडाँडामा नयाँ पदमार्गका रूपमा स्थापित भएपछि होटल सञ्चालनमा आए पनि गाउँपालिकालाई कुनै फाइदा नभएको अध्यक्ष मीनबहादुर गुरूङले बताए। संरक्षित क्षेत्रभित्र होटल सञ्चालन गर्न लिनुपर्ने आवश्यक अनुमति लिन नसकेका कारण सरकारले कर संकलन गर्न नसकेको उनले बताए।
‘मैले एक्यापसँग पनि कुरा गरेको छु, संरक्षित क्षेत्रभित्रका व्यवसाय कानुनी दायराभित्र ल्याएर वैधानिकता दिनुपर्छ,’ उनले भने, ‘व्यवसायीले कानुनअनुसार चल्नुपर्छ, सरकारलाई तिर्नुपर्ने कर तिर्नुपर्छ।’
ग्रेट माछापुच्छ्रे ट्रेलका अध्यक्षसमेत रहेका माछापुच्छ्रे-१ का वडाध्यक्ष इन्द्र गुरूङले उक्त पदमार्गलाई नमूना पदमार्गका रूपमा गाउँपालिकाले प्रवर्द्धन गर्नुपर्ने बताए। पदमार्ग भर्खर सञ्चालनमा आएकाले व्यवसायीले आवश्यक प्रक्रिया पूरा गर्न बाँकी रहेको बताए।
‘पदमार्ग भर्खर सञ्चालनमा छ, यहाँ होटल बनिसकेका छैनन्, विस्तारै आवश्यक प्रक्रिया पूरा गरेर व्यवस्थित गर्छौ,’ उनले भने।
यता, माछापुच्छ्रे-९ का वडाध्यक्ष राजेन्द्र क्षेत्रीले पदयात्री जुन बाटो गयो, त्यही बाटो फर्किने परिपाटी बन्न नदिन माग राखे। खुमैडाँडा जाँदा सरिपाखा हुँदै हिलेखर्कबाट खुमैडाँडा पुगिन्छ। खुमैडाँडाबाट ३ हजार ६८२ मिटर उचाइको कोर्चाङ पुगेर मेश्रम हुँदै सैंदीघट्ट झर्ने रूट ब्युँताउनुपर्ने उनले माग गरे।
‘कोर्चाङ जुन बाटोबाट पुगे पनि फर्किँदा अर्को बाटोबाट पर्यटक फर्काउन सकिन्छ, यो पुरानो माछापुच्छ्रे मोडल ट्रेल ब्युँताउनुपर्छ,’ उनले भने।
गाउँपालिका अध्यक्ष गुरूङले कोर्चाङबाट जुन बाटो हिँडे पनि गाउँपालिकाभित्र पर्ने भएकाले मिलेर अघि बढ्नुपर्ने बताए। पदमार्गलाई व्यवस्थित बनाएर पर्यटकलाई आवश्यक सुविधा दिनुपर्नेमा उनले जोड दिए।
उक्त पदमार्गमा दशैंयता पर्यटकको चाप बढेकाले समस्या पनि उत्तिकै रहेको स्थानीय व्यवसायीले बताएका छन्। पदमार्गमा सबैभन्दा ठूलो समस्या खानेपानी अभाव रहेको व्यवसायी सुरेश सुनामले बताए।
‘खानेपानी लिन जाने र आउन मात्र ३ घन्टा लाग्छ, हामीले खच्चडमा पानी बोकाउँछौं,’ उनले भने, ‘यहाँ सबैभन्दा ठूलो समस्या नै पानीको छ।’
समुन्द्री सतहदेखि ३ हजार २४५ मिटर उचाइमा रहेको खुमैडाँडामा अहिले तीन वटा होटल चलेका छन्। उक्त पदमार्गमा दैनिक ५ सय जनासम्म पदयात्री आउने गरेका छन्। असोजयता गुलजार बनेको खुमैडाँडामा भर्खर खुलेका नयाँ होटलहरूले अत्याधिक पदयात्रीको चाप थेग्न समस्या परेको सुरेशले बताए।
ग्रेट माछापुच्छ्रे ट्रलका अध्यक्ष इन्द्र गुरूङले भर्खर होटल सञ्चालनमा आएकाले बास बस्न समस्या भएको बताए। पदमार्गअन्तर्गत हिलेखर्कमा अहिले तीन वटा होटल छन् भने खुमैडाँडामा पनि तीनवटा होटल सञ्चालनमा छन्। सञ्चालनमा भएका होटल पनि व्यवस्थित छैनन्।
हिलेखर्क र खुमैडाँडाको बीचमा केही होटल तथा चियापसल सञ्चालन गर्न संरचना बनिरहेका छन्। हिलेखर्क र खुमैडाँडामा थप २/२ वटा होटल निर्माण गर्न लागेको उनले बताए।
‘बल्ल पदमार्ग चल्न थालेका छन्, नयाँ भएकाले समस्या धेरै छन्,’ उनले भने, ‘हामी विस्तारै समाधान गर्दै लैजान्छौं।’