भनिन्छ, मान्छेको मुटु कमलो हुन्छ। कमलो मुटु भएका मान्छेहरू माया, दया, करूणाजस्ता भावले भरिएका हुन्छन्। जो मानिस अरूप्रति बेपरवाह छन् वा यस्ता भावनाहरू अभिव्यक्त गर्दैनन् उनीहरूका लागि प्रयोग हुने विम्ब हो, ढुंगाको मुटु।
निरश मानिसको विम्बका रूपमा रहेको ‘ढुंगाको मुटु’ सुनसरीको इटहरीमा सुन्दर आकृतिका साथ उपस्थित छ। इटहरीको चौरास्त चोकबाट सात सय मिटर पूर्व लागेर उत्तरतिर पाँच किलोमिटर पार गरेपछि पुगिने यो ठाउँ तालतलैयाको नामले प्रख्यात छ।
मान्छेको मुटुको आकृतिमा बनाइएको क्रंक्रिटको मूर्तिले तालतलैया घुम्न आउने धेरैलाई आकर्षित गरिरहेको छ।
त्यसो त तालतलैया पर्यटकीयस्थलमा कलाकारहरूले यस्ता धेरै मूर्तिमा आफ्ना कला पोखेका छन्। मानव जीवनका सुख दुःखका क्षणदेखि पृथ्वी र पर्यावरणको सम्बन्धसम्मका विषयलाई मूर्तिकलामार्फत् प्रस्तुत गरिएको छ। मूर्तिकलाका पारखीहरूका लागि अध्ययनको र अन्य घुमन्तेहरूका लागि आकर्षक दृश्यका रूपमा यी मूर्तिहरू तालतलैयामा उपस्थित छन्।
‘यहाँका सबै मूर्तिहरूमा यहाँ घुम्न आउनेहरू धुइरिएको देखिन्छ’, तालतलैया विकास तथा संरक्षण समितिका अध्यक्ष लक्ष्मी खनालले सेतोपाटीसँग भने, ‘युवायुवतीहरूको बढी चासो ढुंगाको मुटुमा छ। यो मूर्तिसँग फोटो खिचाउनेहरू धेरै नै देखिन्छन्।’
कोशी प्रदेशको पर्यटकीय गन्तव्यहरूमध्येको एक मुख्य थलोमा पर्छ, तालतलैया। इटहरी उपमहानगरको वडा नम्बर २ र ३ मा फैलिएको तालतलैयामा बनभोज मनाउनेदेखि शैक्षिक अवलोकनमा आउनेहरूसम्मको ताँती लाग्छ। ती सबैको रोजाइमा यहाँका मूर्तिहरू पर्ने गरेका छन्।
रूखो मानिसको प्रतीक मानिने ढुंगाको मुटु किन ठडियो यहाँ?
‘यो ढुंगाबाट बनेको मान्छेको मुटु हो’, अध्यक्ष खनालले भने, ‘कसैले बनाउनुपर्छ भनेर होइन, कलाकारहरूले आफ्नो कल्पना र सिर्जनशीलता प्रयोग गरेर बनाउनुभयो। अहिले यहाँ आउनेहरूले आ-आफ्नो ढंगबाट यसको व्याख्या गर्ने काम भइरहेको छ। यसले हाम्रो प्रचारमा टेवा नै पुगेको छ।’
अध्यक्ष खनालका अनुसार सात वर्ष अघि तालतलैयामा यी मूर्तिहरू बनेका थिए। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, इटहरी उपमहानगर र तालतलैया समितिको संयुक्त आयोजनामा त्यसबेला यहाँ मूर्तिकलाका १८ जना कलाकारहरू १८ दिनसम्म बसेर कार्यशाला चलाएका थिए। नेपालका मात्रै होइन, विदेशका पनि कलाकार सहभागी कार्यशालाका सहभागी कलाकारहरूले यी मूर्तिहरू बनाएका थिए।
‘हामीसँग मान्छेको मुटुको, दुःखमा रहेका नारीहरूको, पृथ्वीको आकार र यससँग जोडिएका जुइना र नटबोल्टहरूको, मान्छेको बुढ्यौली जनाउने अवस्थाहरू सहितका मूर्ति छन्,’ खनालले भने, ‘कलाकारहरूले कल्पना गरेर बनाएका यी मूर्तिहरू अहिले तलातलैयाका मुख्य शोभा बनेका छन्।’
तालतलैयामा २८ वटा मूर्ति रहेको उनले जानकारी दिए।
स्थानीयसमेत रहेका अध्यक्ष खनालका अनुसार कुनैबेला यो ठाउँ सिमैसिमले भरिएको थियो। २०५५-०५६ सालतिर इटहरीक तत्कालीन मेयर सर्वध्वज साँवाको नेतृत्वमा तालतलैया क्षेत्रलाई पर्यटन केन्द्रका रूपमा विकास गर्ने काम सुरू भएको थियो। २०६२ सालमा सहरी विकास तथा भवन डिभिजन कार्यालय इटहरीको जुटविकास टोलबाट तालतलैयासम्म पुग्ने मोटरबाटो निर्माण गर्ने, तालतलैया संरक्षण क्षेत्रभित्र भवन निर्माण गर्ने, खानेपानीको व्यवस्था मिलाउने, कल्भर्ट निर्माण गर्ने, चर्पी निर्माण गर्ने, पिकनिक खानका लागि कटेज निर्माण गर्ने तथा पर्यटक हिँड्ने गोरेटो बाटो निर्माणको काम भएपछि यसले पर्यटक आकर्षण गर्न थालेको थियो।
अहिले बिदाका दिन कम्तीमा ५ सयभन्दा बढी मानिस यहाँ आउँछन्। मंसिर, पुस माघमा दिनहुँ २ सय वटा टोली पिकनिकका लागि आइपुग्ने गरेको खनालले बताए।
तालतलैयामा प्रवेश शुल्क ३० रुपैयाँ लिने गरिएको छ। तालमा हुने बोटिङ र चिल्ड्रेन पार्कको शुल्क भने अलग्गै तिर्नुपर्ने व्यवस्था छ।
२१.५ हेक्टर क्षेत्रफलमा फैलिएको तालतलैयामा मूर्तिकलाका अलावा बाल उद्यान, घाइते जन्तुको उद्धार केन्द्र पनि छ। जहाँ लाटोकोसेरो, अजिंगर, गिद्ध, दुम्सी, चित्तल, खरायो जस्ता जीवजन्तुहरू राखिएको छ।
घोड सफारी तथा बोटिङ पनि यहाँको अर्को मुख्य आकर्षण हो। दुईटा ठूला ताल र अरु साना ५ गरी ७ वटा तालहरू यहाँका विशेषता हुन्।