वरपर घना जंगल। बीचमा काठको बारभित्र समीको बोट छ।
त्यही समीको फेदमा रहेको सालको जरा र स–साना मूर्तिहरू पूजा गर्न चैत महिनाका पन्ध्र दिन भक्तजनहरूको घुइँचो लाग्छ।
जगतपुर बजारबाट करिब दुई किलोमिटर भित्र, चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय नजिकै छ विक्रमबाबाको थान!
चितवनका थारु समुदायले आस्थाको धरोहर मानेर पूजा गर्दै आएको विक्रमबाबाको थानमा अचेल थारूभन्दा अन्य समुदायका मान्छे बढी पुग्छन्।
वर्षौंदेखि यहाँको पुजारी रहेका बाबुराम चौधरीका अनुसार सोचेका, मागेका कुराहरू विक्रमबाबाले पूरा गर्ने विश्वास लिएर दैनिक हजारौं मान्छे यहाँ आउने गर्छन्।
भरतपुर–२३ जगतपुरमा हरेक चैत महिनाको औंसीदेखि पूर्णिमासम्म विक्रमबाबा मेला लाग्छ। मान्छेहरू त्यहाँबाट हिँडेर राप्ती नदीको पारी चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको विक्रमबाबाको थानमा पुगेर पूजा गर्छन् अनि मेलामा रमाइलो गरेर फर्कन्छन्।
थारुहरूलाई चितवनका आदिवासी मानिन्छ। कुनै समय माडी गर्दीमा ‘विक्रम’ नाम गरेका शक्तिशाली गुरौ बस्थे। झारफुक गर्ने, वैद्यले झैं जडिबुटीको काम गर्ने व्यक्तिलाई थारु समुदायमा गुरौ भनिन्छ। उनले बिरामीको रोग निको पारिदिने, सन्तानप्राप्ति नभएका बाझोपन भएका महिलालाई जडिबुटीको माध्यमबाट सन्तान सुख दिन्थे भन्ने किम्बदन्ती पाइन्छ।
पुजारी बाबुराम चौधरीकाअनुसार सधैं झैं जंगलमा जडिबुटी खोज्न निस्किएका विक्रम लामो समयसम्म घर फर्किएर आएनन्। उनी जडिबुटी खोजी गर्नेक्रममा हाल थान रहेको स्थानमा आएर साधना गर्न थालेछन्। त्यहीँ देह त्याग गरेछन्।
करिब १५ वर्षदेखि विक्रमबाबाको थानमा पूजा गर्दै आएका भरतपुर–१३ का बासुदेव सापकोटा उनै शक्तिशाली गुरौको सम्झनामा थारुहरूले सालको रुखमुनि पूजा गर्न थालेको बताउँछन्।
यो क्षेत्रलाई पहिले बेलौद प्रगन्ना भन्ने गरिन्थ्यो। सापकोटाकाअनुसार थारु समुदायमात्रै बसोबास गरिरहेको यो क्षेत्रमा रोगको महामारी, आगलागी, अन्य विभिन्न विपत्ति आइलागेछ। गाउँलेहरू आत्तिएर विभिन्न ठाउँमा रहेका गुरौहरूलाई गुहारेछन्। हेराउँदा उनीहरूले विक्रम नामका गुरौ हराए पनि खोजतलास नभएको, उनको मृत्यु भइसक्दा पनि परिवारले काजकिरिया नगरेको कारण विपत्ति आएको बताएछन्।
‘खोज्दै जाँदा यहाँको सालको रुखमुनि हाडखोर भेटिएछ। परिवारले यहीँ काजकिरिया गरेछ। थारु समुदायले क्षमा माग्दै अब आइन्दा दुःख नदिन आग्रह गरेर हरेक वर्ष पूजा गर्ने वाचा गरेछन्,’ सापकोटाले भने, ‘त्यही बाचा पूरा गर्न उनीहरूले चैत दशैंको अवसर पारेर हरेक वर्ष चैते औंशीदेखि पूर्णिमासम्म पूजा गर्न थाले।’
२०३० सालतिर आफू सानो छँदा यहाँ चौधरीहरू मात्र पूजा गर्न आउने गरेको देखेको सापकोटाले बताए। बिस्तारै अन्य समुदाय पनि आउन थाले।
‘यहाँ पूजा गरेर चौधरीहरूको मनोकांक्षा पूरा हुन्छ भने हाम्रो पनि हुन्छ भनेर अरू पनि आउन थाले। अहिले त नेपालमात्रै होइन भारतबाट पनि पूजा गर्न आइपुग्छन्,’ उनले भने।
गुरौ छँदा रोग निको पार्ने, गुरौले अहिले पनि यी कुराहरू पूरा गरिदिने जनविश्वास छ।
‘हाम्रो मनोकामना पूरा भयो भनेर आउनेहरू पनि उत्तिकै छन्,’ सापकोटा भन्छन्, ‘यही आस्था र विश्वासले गर्दा यहाँ हरेक वर्ष भक्तजनको संख्या बढिरहेको छ।’
हाल विक्रमबाबाको थान रहेको स्थानमा मन्दिर बनाउन थारु समुदायले धेरै प्रयास गरेका थिए।
‘दिनभरी मन्दिर बनाउने, राति भत्किने भएछ। त्यसपछि मन्दिर बनाइएन,’ चौधरीले भने, ‘थारुहरू प्रकृति पूजक हुन्। विक्रम गुरौले प्रकृतिको पूजा गर्दागर्दै खुला ठाउँमै देहत्याग गर्नुभयो। त्यसैले थानलाई प्राकृतिक रूपमै रहन दिनुपर्छ भनेर यसै छाडिएको पुराना गुरौहरूले सुनाउनुहुन्थ्यो।’
पुजारी चौधरीकाअनुसार यहाँ पहिले सालको रुख थियो। त्यो रुख ढलेर ठूटो बन्यो। ठूटो पनि कुहिएर अहिले जरामात्रै छ। सालको ठूटोबाटै पलाएको समी अहिले बढिरहेको छ। समीको फेदमा विभिन्न जनावरका आकृतिका भग्नावशेषहरू भेटिने उनले बताए। त्यसलाई उनीहरू जीवात्मा मान्छन्।
यो समुदाय राप्तीवारि रहेको छितामाई मन्दिरलाई विक्रमकी दिदी मान्छन्। पहिले दिदीको पूजा गरेर भाइको गर्ने चलन रहेको पुजारी चौधरीले बताए।
पहिले थारु समुदायका मानिसहरू दुई तीनदेखिनै नुवाई धुवाई गरेर चोखो बसेर विक्रमबाबाको थानमा जाने गर्दथे। नरिवल, सालको लिंगो, सुपारी, परेवा चढाएर विक्रमबाबासँग आफ्नो दुःख सुख साट्ने काम गर्थे। थारु गुरौहरू पनि विक्रमबाबाको शरण नतमस्तक भएर आफ्ना समुदायमा परेका दुःख कष्टका बारेमा विलौना गर्थे।
‘प्रार्थनापछि विक्रमबाबाले सबै कुरा पूरा गरिदिन्छन् भन्ने विश्वास थियो। त्यो अहिले पनि कायमै छ,’ उनले भने।
रौतहटकी साहना यादव सपरिवार विक्रमबाबाको पूजा गर्न पुगेकी थिइन्। उनले यहाँ पूजा गरेपछि परिवारमा सुख आउँछ भन्ने सुनेर हरेक वर्ष आउने गरेको बताइन्।
‘सोचको पूरा भइरहेको छ। त्यसैले हरेक वर्ष परिवार नै आउँछौं,’ उनले भनिन्।
भरतपुर महानगरपालिका वडा नम्बर २३ का वडाध्यक्ष दीपक दवाडीले पहिले थारु समुदायलेमात्रै पुज्ने विक्रमबाबा अब सारा हिन्दुहरुको आस्थाको थलो बनेको बताए। उनले विक्रमबाबाको महिमालाई विश्वभरका हिन्दुसम्म पुर्याएर धार्मिक पर्यटनको विकास गर्न लागिपरेको बताए।
‘विक्रमबाबालाई संसारभर हिन्दु धर्ममा आस्थाराख्नेको आदर्शको केन्द्र बनाउनुपर्छ,’ उनले भने, ‘हिन्दु धर्म र पर्यटनलाई जोड्न सकियो भने आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्छ।’
उनले धर्म र पर्यटनलाई जोडेर जगतपुरलाई पर्यटनको केन्द्र बनाउने लक्ष्य रहेको बताए।
‘विक्रमबाबाको दर्शन गर्ने, चितवन राष्ट्रिय निकुञ्ज, सामुदायिक वन घुम्ने पर्यटकहरू बढिरहेका छन्,’ वडाध्यक्ष दवाडीले भने, ‘हामी विक्रमबाबाको थान भएको क्षेत्रलाई वडाको स्वामित्वमा ल्याएर विकास गर्न चाहन्छौं।’
यस वर्ष अष्टमीमा ८० हजार, नवमीमा ५० हजार जना भक्तजनहरू विक्रमबाबा मेला भर्न आएको दवाडीले बताए। यहाँ एकैदिनमा डेढ लाख जनासम्म भक्तजनहरू आएको रेकर्ड छ।