महोत्तरीको बर्दिबासबाट ११ दिन पैदल हिँडेर काठमाडौं आइपुगेका मिटरब्याजी पीडितहरू अहिले सरकारसँग वार्तामा छ।
गृह मन्त्रालयकी सहसचिव रूद्रदेवी शर्माको नेतृत्वमा बनेको वार्ता टोलीले भोलि फेरि वार्ता गर्ने उपसचिव दिलकुमार तामाङले जानकारी दिए।
‘हाम्रो वार्ता निरन्तर जारी नै छ। हिजो पनि बस्यौं। आज पनि बस्यौं,’ उनले भने, ‘भोलि फेरि बस्ने तयारी छ। सम्भवत: बिहान १० बजेपछि वार्ता हुन्छ।’
उनले थपे, ‘आज समझदारीतर्फ पुगिसकेका थियौं। तर उहाँहरूको प्रतिनिधिले अलिकति समय चाहिन्छ भन्नुभयो।’
प्रतिनिधिहरूले अन्य पीडितसँग छलफल गर्न समय माग गरेको पनि उनले बताए।
शुक्रबार बिहान ७ बजेदेखि १ बजेसम्म छलफल भएको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग पीडितले माग गरिरहेका थिए। प्रधानमन्त्रीले पनि प्रतिनिधिहरूलाई भेट्न समय दिइसकेको उपसचिव तामाङले बताए।
तर सबै पीडितहरूले नै भेट्न पाउनुपर्ने माग राखेका थिए।
‘उहाँहरूसँग प्रधानमन्त्रीज्यूले कुनै पनि समय भेट्नुहोला,’ उनले भने।