ललितपुरको चापागाँउमा चोरी भएको मूर्ति खोज्न प्रशासनले बेवास्ता गरेको भन्दै स्थानीयले दबाबस्वरुप सडक अवरुछ गरेका छन्।
स्थानीयले प्रशासन, जनप्रतिनिधिमाथि खबरदारी गर्दै बिहान २ घण्टा सडक अवरुद्ध गरेका हुन्। चापागाँउ पुरानो बसपार्कसँगै मोती पुस्तकालय आडमा रहेको चैत्यबाट बुद्धको तीन वटा मूर्ति फागुन १७ गते बुधबार र फागुन २९ गते आइतबार राति चोरी भएको थियो। चैत्यमा विसं ८२७ मा ती मूर्ति स्थापना गरिएको शिलालेखमा उल्लेख छ।
सडक अवरुद्ध गर्दै स्थानीय प्रशासन र जनप्रतिनिधिको भूमिकाको विरोधमा खबरदारी गरिरहेका चन्द्रमान महर्जनले संस्कृति र सम्पदा संरक्षणमा नगरप्रमुख, वडा अध्यक्ष तथा जनप्रतिनिधि उदासिन भएको भन्दै असन्तुष्टी व्यक्त गरे।
‘हामीले मत दिएर जिताएका जनप्रतिनिधिलाई स्थानीय सम्पदा मासिँदा चासो हुनुपर्छ,’ उनले भने।
प्रहरी वृत चापागाउँका प्रमुख प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले स्थानीयवासीले सांकेतिक रूपमा केही समय सडक अवरोध गरेको बताए।
‘उहाँहरूले बिहान सांकेतिक रूपमा केही समय सडकमा आवागम अवरोध गर्नुभयो। अहिले सडक सञ्चालन छ। मूर्ति चोरीका सम्बन्धमा अनुसन्धान जारी छ,’ उनले भने।
प्रहरी वृत्त चापागाउँदेखि करिब तीन सय मिटर दुरीमा रहेको चैत्यमा राखिएका चार मूर्तिमध्ये तीनवटा चोरी भएको थियो।