अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अवकाशप्राप्त नायब सुब्बा रघुनाथ घिमिरेविरूद्ध २ करोड बढी रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ।
आइतबार आयोगले विशेष अदालत घिमिरेविरूद्ध २ करोड १४ लाख ४६ हजार ६ सय ५७ रुपैयाँ बीगो दाबी गर्दै मुद्दा दर्ता गरेको हो।
घिमिरेले एयरपोर्ट भन्सार, विभिन्न भन्सार कार्यालय र राजश्व अनुसन्धान विभागमा बसेर राजश्व हिनामिना गरी राजश्व छल्ने कार्य गरेको, गैरकानूनी काम गरी राजश्वका विभिन्न कार्यालयमा बसी करोडौं सम्पत्ति कमाएर श्रीमती लगायत परिवारका विभिन्न व्यक्तिहरुको नाममा लुकाएर राखेको, विभिन्न कम्पनीहरुमा लगानी, शेयर खरिद, जग्गा खरिद लगायतको कार्य गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीमाथि अनुसन्धान गर्दा वैधानिक आयभन्दा२ करोड रुपैयाँ बढी सम्पत्ति देखिएको आयोगल जनाएको छ।
घिमिरे २०५२ कात्तिक२८ देखि सरकारी सेवामा प्रवेश गरेका थिए। २०७९ मंसिर१२ गतेसम्मको उनको सम्पत्ति अनुसन्धान गर्दा वैधानिक रूपमा ५ करोड २५ लाख १६ हजार ३ सय २७ रुपैयाँ कमाएको देखिन्छ। त्यही अवधिमा उनले गरेको खर्च भने ७ करोड ३९ लाख ६२ हजार ९ सय ८४ रुपैयाँ छ। वैधानिक आम्दानीभन्दा २ करोड १४ लाख ४६ हजार ६ सय ५७ रुपैयाँ बढी खर्च भएको हुँदा उक्त रकम उनले अवैधानिक रूपमा कमाएको आयोगले ठहर गरेको छ।
गैरकानुनी रूपमा कमाएको रकम बीगो माग गर्दै आयोगले मुद्दा हालेको हो।
घिमिरे आर्थिक वर्ष २०७९/८० को बजेट बनाउँदा अनधिकृत रूपमा अर्थ मन्त्रालयमा प्रवेश गरेर करका दर हेरफेर गरेको भन्ने विवादमा मुछिएका थिए।
उक्त विवादपछि बनेको छानबिन समितिले अनधिकृत व्यक्तिले करका दर हेरफेर गरेको नपाइएको प्रतिवेदन दिएको थियो।