सामान्यतया कुनै पनि विकास निर्माणको काम होस् या भवन निर्माणको काम सुरूमा शिलान्यास गर्ने गरिन्छ। शिलान्यासपछि निर्माणको काम अघि बढ्छ। तर दाङको तुलसीपुरमा भने एउटा भवन निर्माण प्रक्रिया सुरू भएपछि शिलान्यास गरिएको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले तुलसीपुरमा ‘तुलसी ट्रेड टावर’को शिलान्यास गरेका हुन्। सोमबार एक औपचारिक कार्यक्रमबीच नेकपा एमालेका नेता समेत रहेका मुख्यमन्त्री गिरी र तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले सात तले ट्रेड टावरको शिलान्यास गरेका हुन्।
टावर निर्माणको बेसमेन्टको काम लगभग अन्तिम चरणमा पुगेपछि भवनको शिलान्यास गरिएको हो।
तुलसीपुरका इञ्जिनियर पवन योगीले टावर निर्माणको काम २० प्रतिशत जति पूरा भइसकेको सेतोपाटीलाई बताए।
२०७७ साल माघ १४ गते तत्कालीन नगर प्रमुख घनश्याम पाण्डे र नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाबीच सात तले तुलसी ट्रेड टावर निर्माण गर्ने सम्झौता भएको थियो। नगर विकास कोषको ७० प्रतिशत ऋण र उपमहानगरपालिकाको ३० प्रतिशत लगानी छ। ८ प्रतिशत ब्याजदरमा २० वर्षभित्र नगर विकासलाई ऋण तिरिसक्ने सम्झौता छ।
कुल २८ करोड १७ लाख ३९ हजार रुपैयाँ लागतमा भवन बन्न लागेको हो। जसअन्तरगत १९ करोड ७२ लाख १७ हजार ३०० रुपैयाँ नगर विकासले व्यहोर्ने र उपमहानगरपालिकाले ८ करोड ४५ लाख २१ हजार ७ सय रुपैयाँ लगानी रहेको इञ्जिनियर योगीले जानकारी दिए।
टावर निर्माणका लागि २०७८ कात्तिक १६ गते इबिडिङमार्फत् उपमहानगरपालिकाले टेन्डर आह्वान गरेको थियो। कुल लागत २२ करोड २९ लाख ३३ हजार ६ सय बढी भ्याटसहित सार्वजनिक सूचनामार्फत् टेन्डर आह्वान गरिएको थियो।
८ वटा निर्माण कम्पनीले काम गर्न चासो देखाए पनि ६ वटा मात्रै पास भएका थिए। त्यसमध्ये पनि सबभन्दा कम दररेट कबोल गर्ने समानान्तर डाइनामिक नारायनं. जेभी बाँकेले टावर निर्माणको काम जिम्मा लिए पनि काम भने स्थानीय निर्माण व्यवसायी गेहेन्द्र गिरीले गरिरहेका छन्।
उसले भ्याटबाहेक १४ करोड ४२ लाख ७० हजार ६ सय बढीमा कामको जिम्मा लिएको थियो।
टावर निर्माणको लागि २०७८ साल चैत २९ गते निर्माण कम्पनी र उपमहानगरपालिकाका बीचमा दुई पक्षीय सम्झौता भई कार्यादेश पाएको थियो। सात तलामा निर्माण गर्न थालिएको यो टावर एउटा वेसमेन्टसहित ६ तलामा निर्माण हुनेछ।
टावर निर्माण गर्न लागिएको क्षेत्रफल ४७ सय ३७ दशमलव ५ सय ८ स्क्वायर मिटर छ। जसको ग्राउन्ड फ्लोरमा १६ वटा पसल, २ वटा लिफ्ट, १ इलिभेटर रहने छन्।
त्यस्तै, फर्स्ट फ्लोरमा १३ वटा पसल, दोस्रो र तेस्रो तला कार्यालय प्रयोजनका लागि निर्माण गरिने छ।
चौथो तला रेष्टुरेण्ट, पाँचौंमा बहुउद्धेश्य प्रयोजनका लागि र छैठौं तला पनि त्यही रूपमा डिजाइन गरिएको इञ्जिनियर योगीले जानकारी दिए।
तुलसीपुरमा नयाँ काम के हुँदैछ?
ऋणमा डुबेको तुलसीपुरले यसपटक आफ्नै बलबुताले कुनै पनि नयाँ र ठूला योजना तय गर्न सकेको छैन। झन्डै ४ करोड जति लागतमा गाउँ घरमा सडक कालोपत्रेको काम मात्रै गर्दैछ।
योजना शाखाका अनुसार रातामाटादेखि आँखा अस्पताल २८ लाख २६ हजार रुपैयाँ ठेक्का सम्झौता भई काम पूरा भइसकेको छ। बेलझुण्डी– मनिकापुर सडक ३० लाख ९८ हजार रुपैयाँ काम पूरा भइसकेको छ।
त्यस्तै, गैरापातु सडक, कृष्ण मन्दिर–टिकरी, तल्लो चन्द्रगञ्ज, श्रीनगर टोल –बेलुवा समेत गरी नगरका १९ वडामा २६ वडा योजनाको काम ७ देखि १५ लाखमा भइरहेको छ।
आफ्नै कार्यालयको सम्मुखमा ‘तुलसीपुर टावर’ बहुउद्धेश्य व्यापारिक टावर निर्माणको काम सुरू गरे पनि यो पूर्व मेयर पाण्डेकै पालालको योजना हो।
निर्माणाधीन टावरसँगैको उपमहानगरकै जग्गामा पूर्वतर्फ वर्षौंदेखि व्यक्तिको रजाइँमा चल्दै आएको छ। यहाँ व्यक्तिका तीन भवनहरू निर्माण रहे पनि अझै ती घर उपमहानगरले हटाउन सकिरहेको छैन। यद्यपी उसले सार्वजनिक सूचना भने जारी गरेको छ।
विदेशमा डेढ लाख कमाउनुभन्दा स्वदेशको १५ हजारले जित्छ: मुख्यमन्त्री गिरी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विदेशमा मासिक डेढ लाख कमाउनुभन्दा स्वदेशको १५ हजार कमाउनेले जित्ने बताएका छन्।
दाङको तुलसीपुरमा निर्माणाधीन सात तले बहुउद्धेश्यीय ‘तुलसी ट्रेड टावर’को शिलान्यासपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री गिरीले अब युवाहरूलाई सम्झाइबुझाइ स्वदेशमै राख्न जरूरी रहेको जोड दिए।
‘विदेशमा गएर डेढ लाख कमाउनुभन्दा यहाँ मासिक १५ हजार कमाउनेले जित्छ,’ उनले भने, ‘एक जनाले १५ हजार कमाउँदा घरको अर्कौ सदस्यले पनि त्यति कमाउँछ र घरको जग्गा जमिनमा पनि आफैं काम गर्छ अनि परिवार राम्रोसँग चलाउन सकिन्छ।’
ठूलो महत्वाकांक्षा बोक्न नहुने भन्दै अलिकता जुंगाको रेखी बस्ना साथ विदेश ताक्ने रोगको अन्त्य गरिनुपर्ने उनले बताए।
‘अलिकता जुंगाको रेखा बस्न थाल्यो भने हाम्रा युवा पिँढी पढ्न छोडेर पढेर के हुन्छ र जागिर पाइँदैन भन्ने रोग पालेर विदेश पलाएन हुन थालेका छन्,’ उनले अगाडि भने, ‘मन र दिमागमा त्यो कुरा बोक्ने परम्पराको अन्त्य गरिनु नितान्त आवश्यक छ।’