पौने एक अर्ब रुपैयाँको लगानीमा बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माण गरिएको अन्तर्राष्ट्रिय सभाहल तथा ध्यान केन्द्रमा पानी चुहिएको छ।
गत शुक्रबार परेको वर्षापछि सभाहलको छानोमा लगाइएको स्याण्डवीच प्यानलबाट पानी चुहिएको हो।
सभाहलमा पानी चुहिएको देखिएको भन्दै लुम्बिनी विकास कोषले तत्काल मर्मत गर्न निर्माण कम्पनी लुम्बिनी अर्घाखाँची बाबुल जेभिलाई निर्देशन दिएको छ।
कोषले निर्माण कम्पनीलाई पत्र पठाउँदै तत्काल भरपर्दो तरिकाले मर्मत गर्न निर्देशन दिएको हो।
‘आकाशबाट आएको पानी छानोबाट चुहिएको देखिएकाले यथाशिघ्र भरपर्दो मर्मत गरी प्राविधिक रूपमा पानी नचुहिने प्रत्याभूति गर्नुहुन निर्देशन दिइएको छ,’ कोषका सदस्य सचिव सानुराजा शाक्यले लेखेको पत्रमा भनिएको छ।
शाक्यले कोषका योजना प्रमुख सरोज भट्टराई र भौतिक पूर्वाधार निर्माण तथा मर्मत शाखालाई बोधार्थ दिँदै छानो मर्मत सम्पन्न नहुन्जेलसम्म अन्तिम बिल भुक्तानी रोक्न भनेका छन्।
लुम्बिनी विकास कोषको भौतिक पूर्वाधार निर्माण तथा मर्मत शाखाले भने अन्तर्राष्ट्रिय सभाहल तथा ध्यान केन्द्रको छानामाथि बुद्धको आँखा जडान गर्दा ठोकिएका स्क्रुबाट पानी चुहिएको हुन सक्ने बताएको छ।
अन्तर्राष्ट्रिय सभाहल तथा ध्यान केन्द्रको निर्माण कार्य सम्पन्न भई गत वर्ष बुद्ध पूर्णिमामा उद्घाटन समेत भइसके पनि छाना माथिको बुद्ध आँखा भने केही महिनाअघि मात्रै जडान गरिएको हो।
‘प्रचार गरिएजस्तो त्यति ठूलो समस्या होइन, छानाको बाहिरी भागमा बुद्ध आँखा जडान गर्दा ठोकिएका स्क्रुबाट पानी रसाएको हुन सक्छ, निर्माण कम्पनीलाई तत्काल मर्मत गर्न भनिसकेका छौं,’ कोषका योजना प्रमुख भट्टराईले भने।
२०७३ सालमा २५६० औं बुद्ध जयन्ती समारोहको लागि निर्माण गरिएको अस्थायी टेन्टलाई हावाहुरी र वर्षाले उडाएर कार्यक्रम बिथोलिएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सोही कार्यक्रममार्फत् लुम्बिनीमा ५ हजार क्षमताको सभाहल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
सोही अनुसार २०७५ साल वैशाख १७ गते २५६२ औं बुद्ध जयन्तीको दिन तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सभाहलको शिलान्यास गरेकी थिइन्।
शिलान्यास गर्दा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने बताए पनि चार वर्षमा निर्माण गरिएको सभाहलको गतवर्ष जेठ २ गते परेको बुद्ध जयन्तीको दिन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए।
कोरियन प्रविधिबाट छाना निर्माण गरिएको र भित्री सजावटमा चिनियाँ सामग्री प्रयोग गरिएको सभाहलको छाना गोलाकार गुम्बा आकारमा निर्माण भएको छ।
सभाहलको चारैतर्फ चाइनिज इँटाको गाह्रो लगाइएको छ भने सभाहलभित्र पस्न मुख्य तीन वटा सेन्सर ढोका र ५२ वटा साधारण ढोका राखिएका छन्।
सभाहल निर्माण गर्दा ३२ करोड रुपैयाँ लागत अनुमान गरिएको भए पनि पहिलो र दोस्रो चरणमा गरी निर्माण सम्पन्न गर्दा ७५ करोड रुपैयाँ बढी खर्च भएको विकास कोषको दाबी छ।
बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा टिकटक प्रतियोगिता हुने
आगामी वैशाख २२ गते परेको बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा टिकटक प्रतियोगिता हुने भएको छ।
लुम्बिनीको प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धनको लागि भन्दै लुम्बिनीमा टिकटक प्रतियोगिता गर्न लागिएको लुम्बिनी विकास कोषले जनाएको छ।
लुम्बिनी विकास कोषको हालै बसेको बोर्ड बैठकले लुम्बिनीको थप प्रचार र पर्यटकीय प्रवर्द्धनका लागि टिकटक प्रतियोगिता गर्ने निर्णय गरेको हो।
प्रतियोगितामा उत्कृष्ट हुने सहभागीलाई पुरस्कार समेत दिइने कोषले जनाएको छ। यद्यपि पुरस्कारको निर्णय भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्नेछ।
यस्तै, बुद्ध जयन्तीको अवसरमा बुद्ध संस्कृति अवलम्बन गर्ने सबैलाई फ्री भिसा प्रदान गर्न नेपाल सरकारसँग पहल गर्ने निर्णय पनि विकास कोषको बैठकले गरेको छ।
विकास कोषका सदस्य सचिव सानुराज शाक्यका अनुसार बुद्ध जयन्ती मनाउन आउनको लागि बुद्ध संस्कृति भएका राष्ट्रहरूलाई फ्री भिसाको लागि कोषले पहल गर्नेछ।