जिल्ला प्रशासन काठमाडौंबाट तिब्बती नागरिकलाई नेपाली नागरिकता दिलाउने घटनामा संलग्न नायब सुब्बालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले देवराज गौतमलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको थियो।
उनी प्रशासनमा कार्यरत नायब सुब्बा हुन्।
एक गिरोहले प्रशासनका कर्मचारीसँगको मिलेमतोमा करिब ५०० नागरिकता तिब्बती नागरिकलाई दिलाएको खुलेको थियो। यस घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरिसकेको छ।
झापा घर भई इमाडोल बस्ने ४७ वर्षीय कृष्णबहादुर कटुवाल, बबरमहल घर भई मध्यपुर ठिमी बस्ने ७० वर्षीय न्युल्केश श्रेष्ठ, मोरङ घर भई धोबीघाट बस्ने ४९ वर्षीय हिरालाल शिवाकोटी, तनहुँको तिब्बतियन शरणार्थी क्याम्पमा बस्ने २५ वर्षीय लोब्साङ ठिन्ले र गोदावरी बस्ने ३० वर्षीय विजय लामालाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरूमाथि सोधपुछ पछि प्रहरीले नासुलाई पक्राउ गरेको हो। उनीबाट थप व्यक्तिहरूको पहिचान खुल्ने एसपी रेग्मीले बताए। यसरी प्रशासनबाट नागरिकता दिलाउने गिरोहका मुख्य आरोपी कृष्णबहादुर कटुवाल हुन्। उनले ३ देखि ५ लाखसम्म लिएर तिब्बतीलाई नागरिकता दिलाएको खुलेको थियो।
विजय लामा भने ९ वर्षदेखि प्रशासनको क्यान्टिनमा काम गर्थे। त्यहाँबाट उनले भित्री सेटिङ मिलाउने काम गरेको प्रहरीको अनुसन्धानबाट देखिएको थियो।
यो पनि: प्रहरीको ‘फेक चार्ली’ अपरेशन: काठमाडौं सिडिओ कार्यालयबाटै नक्कली नागरिकता बनाउने पाँच जना पक्राउ