छाडा छोडिएका र भुस्याहा कुकुरहरूको टोकाइका घटना बढ्दै जान थालेपछि कुकुरहरूको नियन्त्रणका लागि बुटवलमा स्थायी बन्ध्याकरण गर्न सुरू गरिएको छ।
बुटवल उपमहानगरपालिकाभित्र सडकमा छाडिएका कुकुरहरूको संख्या वृद्धि नहोस् र रेबिज रोग फैलिन नपाओस् भन्ने उद्देश्यले स्थायी बन्ध्याकरणसँगै रेबिजविरूद्धको खोप लगाउन थालिएको हो।
यसअघि तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकाले सडकमा भेटिएका भुस्याहा कुकुरहरूको बन्ध्याकरण गरेका थिए।
बुटवल उपमहानगरपालिकाले भने वातावरण तथा सामाजिक परिवर्तनका लागि युवासँगको सहकार्यमा मंगलबारदेखि बन्ध्याकरण र खोप लगाउन थालेको हो।
यो अभियान तीन दिनसम्म चल्ने उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए।
पन्थीले यस्तो अभियानले भुस्याहा कुकुरको संख्या वृद्धि रोकिने बताए।
यस्तै, घरमा कुकुर पाल्नेहरूले सार्वजनिक स्थलमा दिसापिसाब गराएको पाइए कारबाही गर्नुका साथै कुकुर पाल्नका लागि उपमहानगरपालिकाबाट अनुमति लिनुपर्ने गरी कानुन बनाइरहेको पन्थीले बताए।
‘बुटवल जहाँबाट ल्याएर छोड्न पनि सबैका लागि सहज पहुँच भएको स्थल बनेको छ, कुकुर मात्र होइन घरमा पाल्ने पशु चौपायालाई पनि दूध दिन छोडेपछि, बुढो र रोगी भएपछि बुटवलका सडकमा ल्यायो छोडिदियो,’ पन्थीले भने।
तीन दिनसम्म चल्ने अभियानमा बुटवलका १९ वटै वडाका सडकमा भेटिएका कुकुरहरू संकलन गरी बन्ध्याकरण गरिने उपमहानगरपालिकाका पशुपंक्षी विकास शाखाका प्रमुख झविन्द्र बञ्जाडेले जानकारी दिए।
तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकाले भने यसअघिदेखि नै छाडा कुकुरहरूको बन्ध्याकरण सुरू गरिसकेका छन्। सिद्धार्थनगर नगरपालिकाले गत फागुनमा एक सयभन्दा बढी कुकुरको बन्ध्याकरण गरेको थियो।
त्यस्तै, तिलोत्तमा नगरपालिकाले पनि गत फागुनमा ९० भन्दा बढी कुकुरको बन्ध्याकरण गरेको थियो।
तिलोत्तमामा कुकुर पाल्नका लागि अनिवार्य रूपमा अनुमति पत्र लिनुपर्ने नियम लागू गरिएको छ।
पछिल्लो केही महिनायता बुटवल, तिलोत्तमा, देवदहलगायत स्थानमा भुस्याहा कुकुरहरूको टोकाइका घटना बढ्दै गएका छन्।
सडकमा छाडा छोडिने कुकुरहरूले पैदलयात्री तथा टोल छिमेकका बासिन्दालाई टोक्न थालेपछि रेबिज विरूद्धको सुइँ लगाउन दैनिक एक सयभन्दा बढी बिरामी अस्पताल जाने गरेका छन्।
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा कुकुरले टोकेको भन्दै दैनिक १ सय जनासम्म बिरामी जाने गरेका छन्।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल रेकर्डर अधिकृत भोला क्षेत्रीका अनुसार गत फागुन महिनामा मात्रै कुकुरले टोकेको भन्दै तीन हजारभन्दा बढी मानिसले रेबिज विरूद्धको खोप लगाएका छन्।
कुकुर, बिराला, बाँदरजस्ता जनावरले टोकेपछि ३ पटक ३/३ दिनको फरकमा रेबिज विरूद्धको खोप लगाउनुपर्ने हुन्छ।
लुम्बिनी प्रादेशिक अस्पतालमा रेबिज विरूद्धको खोप निःशुल्क रूपमा उपलब्ध हुँदै आएको छ।
चिकित्सकका अनुसार रेबिज विरूद्धको नियमित खोप लगाएका चौपायाले टोक्दा जोखिम न्यून हुने भए पनि छाडा छोडिएका भुस्याहा कुकुरले टोक्दा रेबिज रोग लाग्ने सम्भावना उच्च रहन्छ।