सुर्खेतको पञ्चपुरी नगरपालिकाका तत्कालीन नगर प्रमुख उपेन्द्रबहादुर थापासहित ७ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार दिउँसो सात जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।
तत्कालीन मेयर उपेन्द्रबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृतद्वय पित्रीभक्त गिरी, हरिप्रसाद देवकोटा, लेखा अधिकृत मोहनबहादुर बुढा, लेखापाल लक्ष्मीप्रसाद अधिकारी, नमुना समाज, सुर्खेतका कार्यकारी निर्देशक लालबहादुर जिएम भन्ने लालबहादुर घर्तीमगर र नमुना समाज, सुर्खेतका अध्यक्ष भूमिसरा पुलामीविरूद्ध मुद्दा दर्ता भएको हो।
उनीहरूले ५० लाख भ्रष्टाचार गरेको आरोप लागेको हो।
अख्तियार प्रवक्ता दाहालका अनुसार पञ्चपुरी नगरपालिका सुर्खेतले उद्यमशीलता साझेदारी परियोजना अन्तर्गत नमुना गाउँ निर्माण कार्यक्रम संचालनको लागि नमुना समाज सुर्खेतसँग सम्झौता गरेको हो।
समाजले आफ्नो लगानीको कुनै स्रोत नदेखाइ तथा कामै नगरी पञ्चपुर नगरबाट रकम भुक्तानी लिएर हिनामिना गरेको भन्ने उजुरी परेको थियो।
मेयर थापाले नमुना समाज सुर्खेतसँग सम्झौता गरेका थिए। तर सम्झौता बमोजिमको कार्यक्रम संचालन गर्न नगरपालिकाको कुनै बैठकबाट निर्णय पनि भएको थिएन।
यस्तै नमुना समाजको कार्यक्रम सञ्चालनसम्बन्धी कुनै प्रस्तावसमेत माग नगरेको पाइएको छ।
संस्था छनौट गर्दा सार्वजनिक खरिद ऐन/नियमावली लगायतका प्रचलित कानुनसमेतलाई बेवास्ता गरेको, सम्झौता गर्नुपूर्व उक्त संस्थाले प्रतिबद्धता जनाएको रकम ल्याई खर्च गर्नसक्ने क्षमताबारे सोधिखोजी नगरेको र विश्वसनीयता रहे/नरहेको आधार बिना हचुवाको भरमा नै नमुना समाजसँग सम्झौता गरेको अख्तियारको ठहर छ।
त्यसअनुसार खर्च गरी फिल्डमा काम सम्पादन गरेको थियो/थिएन भन्ने समेत अनुगमन, मूल्यांकन र कार्यसम्पन्न समेतको कार्यसम्पादन नगरी भुक्तानी दिन मेयर थापाले निर्देशन दिएको पाइएको हो।
नमुना समाजले सम्झौता बिपरीत कार्य गरेको देखिँदादेखिँदै पनि दोस्रो किस्ताको रकमको भुक्तानी रोक्नु पर्नेमा उल्टै कार्यसम्पन्न भएको भनी रकम भुक्तानीको लागि निर्देशन दिएर भुक्तानी भएको देखिएको थियो।
उनले बदनियतपूर्वक सरकारी रकम हानिनोक्सानी पुर्याएको आरोप छ।