१० हजार शाक्यहरूको विनाश गरिएको इतिहास बोकेको कपिलवस्तुको सगरहवामा राष्ट्रिय मूर्तिकला कार्यशाला हुँदैछ। लुम्बिनी र कपिलवस्तुको तिलौराकोटको समिपमै रहेर पनि प्रचारमा आउन नसकेको भन्दै लुम्बिनी विकास कोषले सगरहवामा पन्ध्र दिने राष्ट्रिय मूर्तिकला कार्यशाला आयोजना गरेको हो।
चैत २३ देखि वैशाख ७ गतेसम्म हुने मूर्तिकला कार्यशालाले दबिएको सगरहवाको इतिहासलाई उजागर गरी पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। यसअघि फागुन २३ गतेदेखि हुने भनिएको कार्यशाला तयारी नपुगेको भन्दै एक महिना पछाडि लगिएको लुम्बिनी विकास कोषले जनाएको छ।
कलाकारहरूले भगवान् बुद्धको जीवनसँग जोडेर सगरहवाको कथालाई ढुंगामा कुँदेर उतार्ने गरी मूर्तिकला कार्यशाला आयोजना गरिएको विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए।
मूर्तिकला कार्यशालाका लागि अहिले सगरहवामा आवश्यक ढुंगा संकलन गर्ने तथा विद्युतलगायत अन्य प्राविधिक व्यवस्थापन भइरहेको छ।
सदरमुकाम तौलिहवाबाट ९ किलोमिटर उत्तर जगदीशपुर तालको पश्चिम दक्षिणमा रहेको सगरहवा बौद्ध धर्मावलम्बीको महत्वपूर्ण स्थल मानिन्छ। चिनियाँ स्रोतले उल्लेख गरेअनुसार यहाँ ९ हजार ९ सय ९९ शाक्यहरूको सामूहिक बध गरिएको थियो। कतिपयले भने यहाँ ७७ हजार शाक्यहरूको महाविनाश गरिएको बताउने गर्छन्।
सातौं शताब्दीमा बुद्धस्थल तिलौराकोट आएका चिनियाँ पैदल यात्री ह्वेङ साङले आफनो यात्रा विवरणमा सगरहवामा हजारौं शाक्यहरूको सामूहिक बध गरिएको उल्लेख गरेका छन्।
इतिहासमा लेखिएअनुसार राम्रो कुल मानिने शाक्य गणराज्यसँग नाता सम्बन्ध गाँस्न कौशल नरेश प्रसेनजितको विवाह शाक्य कुलमा गराइएको थियो। त्यहाँ उनको बासभ खत्तियासँग विवाह भएको थियो। प्रसेनजितका छोरा विरूद्धक आफ्नो मामाघर प्राचीन कपिलवस्तु तिलौराकोटमा आउँदा उनले खाएको ठाउँमा लिपपोत गरेर दूधले धोएर चोख्याइएको देख्छन्।
आफूले खाएको स्थान लिपपोत गरेको देखेपछि सोधीखोजी गर्दा विरूद्धकले आफ्नी आमा दासीपुत्री भएको र आफू दासीपुत्रीको पुत्र भएकोले यस्तो गरेको थाहा पाएपछि शाक्यहरूको महाविनाश गर्ने कसम खान्छन्।
सोही प्रतिशोधपछि विरूद्धक शाक्य राज्यमा आक्रमण गरी दश हजार शाक्यहरूको बध गरी एकै चिहानमा गाडेको बौद्ध इतिहासमा उल्लेख गरिएको छ। सोही स्थान हो अहिलेको सगरहवा। पहिले ठूलो आकारको तलाउ रहेको सगरहवामा अहिले तलाउको आकार पनि साँघुरो बन्दै गएको छ। स्थानीयहरू सगरहवालाई लम्बुसागरको रूपमा पनि चिन्ने गर्छन्।
सन् १८९७ मा जर्मन सर्भेयर डाक्टर फुहररले सगरहवामा उत्खनन् गरी पोखरीको दक्षिणतर्फ ८ र पश्चिमतर्फ ९ वटा स्तुप फेला पारेका थिए। त्यसमध्ये १२ स्तुपमा अस्तु पात्र समेत भेटिएको थियो।
सन् १८९९ मा भारतीय पुरातत्वविद् पिसी मुखर्जीले सगरहवाको नक्सा बनाएका थिए। मुखर्जीले बनाएको नक्सामा सगरहवाको पोखरीको पश्चिमतर्फको खाल्डोमा ४९ वटा ससाना कोठा रहेको उल्लेख छ। त्यसयता भने सगरहवाको उत्खनन् हुन सकेको छैन।
शाक्यहरूको सामूहिक विनाश गरिएको स्थल भएकोले सगरहवासँग शाक्य वंशहरूको दुःखको सम्बन्ध जोडिएको छ। यहाँ आउने बौद्ध तिर्थालुहरू अकालमा मारिएका शाक्यहरूको आत्माको चीर शान्तिको कामना गर्छन्।
कपिलवस्तु नगरपालिका वडा नम्बर ९ को ७४.८२ बिघा क्षेत्रफलमा रहेको सगरहवाको यही इतिहासलाई बाहिर ल्याउने गरी मूर्तिकला कार्यशाला आयोजना गरिएको लुम्बिनी विकास कोषले जनाएको छ। मूर्तिकला कार्यशालाले सगरहवाको इतिहासलाई उजागार गर्ने मात्र होइन त्यहाँको पर्यटन विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।