उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको निरीक्षण गरेका छन्।
मंगलबार उनले प्रधान कार्यालयमा पुगेर भ्रमण गरी सशस्त्र प्रहरीसँग छलफल तथा निर्देशन दिएका हुन्।
उनले सशस्त्र प्रहरी बल नेपालले शान्ति, सुरक्षा, प्रतिबद्धताको मुल मन्त्रलाई आत्मसात गरी नागरिकको जिउधनको सुरक्षा, सीमा सुरक्षा, राजश्व सुरक्षा, औद्योगिक सुरक्षा कायम गर्न अहोरात्र खटिएर सेवा प्रदान गर्ने कार्य सराहनीय रहेको बताए।
राज्यले सुम्पिएका जिम्मेवारीहरू साथसाथै सशस्त्र प्रहरी बलले भैपरि आउने विषम परिस्थितिहरूमा समेत आफ्नो क्षमता, व्यावसायिकता र उच्च पेशागत दक्षता प्रदर्शन गरी राज्यको अब्बल सुरक्षा निकायको रूपमा आफ्नो पहिचान स्थापित गर्न सफल रहेको समेत बताए।
सशस्त्र प्रहरी बल नेपाललाई सीमाको डेडिकेटेड फोर्स बनाउन अन्तर्राष्ट्रिय मापदण्ड सहितको थप बिओपीहरूको स्थापना, मौजूदा बिओपीहरूको स्तरवृद्धि गर्दै समग्र संगठनलाई नै प्रविधिमैत्री एवं चलायमान बनाउनु पर्ने उनले उल्लेख गरे।
हिमाली क्षेत्रमा खटिने सुरक्षाकर्मीको लागि मापदण्डअनुसारको पोशाक, सशस्त्र प्रहरी कर्मचारीलाई उपलब्ध हुने रासनको न्यायोचित वितरण तथा अन्य सेवा सुविधामा उचित ध्यान पुर्याउने पनि उनले बताए।