दाङको तुलसीपुरमा उद्धारपछि अस्पतालमा उपचारका लागि लगिएकी एक युवतीको मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ बसपार्कस्थित सडकपेटीमा बस्दै आएकी २८ वर्षीया पुष्पा डाँगीको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मंगलबार मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।
उनलाई सोमबार मात्रै मानव सेवा आश्रमले उद्धार गरी अस्पताल पुर्याएको थियो।
प्रहरी प्रवक्ता प्रहरी निरीक्षक पर्वत केसीका अनुसार उनी विगत ४/५ दिन यता बसपार्कको पुलमुनि एक्लै बस्दै आएकी थिइन्।
त्यो सूचना पाएपछि प्रहरी र मानव सेवाका व्यक्तिहरू गएर पुष्पाको उद्धार गरी आश्रममा लगेका थिए। पुष्पा बिरामी जस्तो देखेपछि उपचारका लागि अस्पताल पुर्याइएको र उपचारका क्रममा मृत्यु भएको केसीले बताए।
प्रहरीका अनुसार उपचारमा संलग्न चिकित्सकले उनमा गम्भीर प्रकृतिको जन्डिसले अन्तिम अवस्थामा पुर्याएको हुँदा बचाउन नसकेको बताएका छन्।
पुष्पाको घरठेगाना भने खुल्न सकेको छैन। मृतकका आफन्तको समेत पहिचान हुन नसकेकाले शव पोस्टमर्टम लागि अस्पतालमा राखिएको छ।
पुलमुनि बस्नुभन्दा पहिले पुष्पा कहाँबाट आएर त्यहाँ बस्न थालेकी हुन् भन्ने अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।