सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।
सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी र जिन्सी शाखा प्रमुख सुरेशप्रसाद यादवविरूद्ध मुद्दा दायर भएको हो।
नगरपालिकाले अनावश्यक रूपमा सफ्टवेयर खरिद गरी भ्रष्टाचार गरेको आरोप उनीहरूमाथि छ। उक्त सूचना पाएपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो।
आर्थिक वर्ष २०७६/०७७ मा जिन्सी व्यवस्थापनको केन्द्रीय प्रणाली समेतको सफ्टवेयर खरिद तथा जडान/विस्तार गर्ने कामका लागि प्रमुख प्रशासकीय अधिकृत मरासेनी, लेखाअधिकृत चौधरी र जिन्सी शाखा प्रमुख यादवले टिप्पणी पेश गरेका थिए। साथै सफ्टवेयर खरिदको लागि स्वीकृति दिएर एक लाख ९९ हजार ८९७ रुपैयाँ भुक्तानी पनि लिएका थिए।
सफ्टवेयर खरिद गरी प्रयोग नै नगरी सरकारी सम्पत्ति बदनियतपूर्वक हानिनोक्सानी गरेको अख्तियारको ठहर छ।
उनीहरूविरूद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार उक्त बिगो रकम कायम गरी सजायको मागदाबी गरेको छ।