राष्ट्रिय किताबखानाले नेपाल सरकारका उपसचिव र शाखा अधिकृत सरहका कर्मचारीहरूलाई एक महिनाभित्र व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ।
कर्मचारीको सरुवा-बढुवा, पुरस्कार र पदस्थापन विज्ञताका अधारमा मात्र गर्ने सरकारको तयारीपछि किताबखानाले बुधबार यस्तो सूचना जारी गरेको हो।
धेरैजसो कर्मचारीको सुरू सेवा प्रवेशको मात्र शैक्षिक योग्यता रहेको तथा सरुवा-बढुवाको विवरण समेत अद्यावधिक नरहेकाले सूचना जारी गरी विवरण अद्यावधिक गर्न लागिएको राष्ट्रिय किताबखानाका महानिर्देशक डा. टोकराज पाण्डेले बताए।
'निजामती सेवा नियमावली-२०५० को नियम १० मा भएको व्यवस्था बमोजिम यस्तो निर्णय गरिएको हो,' महानिर्देशक पाण्डेले भने।
उपसचिव र अधिकृतको पदमा पुगेका कर्मचारीको पनि व्यक्तिगत विवरणमा एसएलसी वा प्रविणता प्रमाणपत्र तहको मात्र शैक्षिक योग्यता रहको पाइएको छ। धेरै ठाँउमा सरुवा भइसकेका कर्मचारीको पनि पुरानै विवरण रहेकाले विवरण अद्यावरण गर्न सूचना नै जारी गरिएको किताबखानाको भनाइ छ।
किताबखानामा जारी सूचनाअनुसार यसको आधिकारिक वेबसाइटमा रहेको इमेलमार्फत वा स्वयम् कागजात लिई पुल्चोकस्थित कार्यालयमा गएर विवरण अवधिक गर्न सकिन्छ।
हाल निजामती सेवामा उपसचिव र शाखा अधिकृत सरहका करिब सात हजार कर्मचारीहरू कार्यरत छन्।
यसअघि किताबखानाले सचिव र सहसचिव सरहका कर्मचारीहरूको विवरण अद्यावधिक गरिसकेको छ। संघीय निजामती सेवा ऐन जारी हुन लागेको र सरकारले विज्ञताका अधारमा कर्मचारी खटाउने भनिरहेको समयमा व्यक्तिगत विवरण अद्यावधिक गर्न लाग्नुलाई महत्वपृर्ण कामका रूपमा लिइएको छ।