गैंडाकोट बचाऊँ अभियान संघर्ष समितिले भरतपुरस्थित नारायणी नदी व्यवस्थापन कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएको छ।
ज्ञापन पत्रमा नारायणी नदीमाथिको भागमा हाल नारायणगढतर्फ एकतर्फी रूपमा बनाउन लागिएको तटबन्ध निर्माणको काम तत्काल रोक्न माग गर्दै त्यसका लागि २४ घन्टे अल्टिमेटम दिइएको छ। त्यसो नभएमा संघर्षका कार्यक्रम सुरू गर्ने चेतावनीसमेत संघर्ष समितिले दिएको छ।
समितिका संयोजक गोकुल सापकोटाले व्यवस्थापन कार्यालयका कर्मचारीलाई ज्ञापनपत्र बुझाउँदै आउँदो वर्षायाममै गैंडाकोटतर्फ ठूलो डुबान तथा धनजनको क्षति हुने गरी एकतर्फी तटबन्ध बनाउन लागिएकाले त्यसलाई नरोकिए सबै गैंडाकोटवासी आन्दोलित हुने चेतावनी दिए।
भरतपुर महानगरले सी बिच मोडलमा विकास गर्ने भनिएको नदी किनारमा हाल झन्डै १७ करोडको लागतमा पुलको केही माथिपट्टि ६४० मिटर लम्बाइको किनारमा धमाधम तटबन्ध निर्माणको काम भइरहेको छ। कंक्रिटको त्यस्तो संरचनाले नदीको बहावलाई गैंडाकोटतर्फ फर्काउने र उता ठूलो क्षति हुने देखिन्छ। खासगरी तल्लो तटमा रहेको बोटे टोल सबैभन्दा बढी जोखिममा छ।
गैंडाकोट क्षेत्रमा रहेका सबै राजनीतिक दलहरूका प्रतिनिधि सम्मिलित संघर्ष समितिको बैठकले नारायणगढतर्फको तटबन्ध निर्माण कार्य तत्काल रोकिनु पर्ने र यो बर्खायामपछि बृहत् अध्ययन र छलफलपछि दुबै पक्षको सहमतिमा मात्रै त्यस्तो निर्माण कार्य हुनुपर्नेमा जोड दिएको छ।