बसपार्कमा पार्किङ गरेको गाडीबाट डिजेल चोर्दाचोर्दै पक्राउ परेका दुई जनालाई ७ दिन म्याद थप गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ।
बुधबार राति करिब २ बजे दाङको तुलसीपुरस्थित बसपार्कमा रहेको गाडीबाट युवाहरूले डिजेल निकालेका थिए।
तुलसीपुर उपमहानगरपालिका ९ का १८ वर्षका नवीन केसी र सोही ठाउँका १८ वर्षकै विशाल रावतलाई प्रहरीले डिजेल चोर्दाचोर्दै नियन्त्रणमा लिएको थियो।
पार्किङमा राखेको ना ४ ख ६४९५ नम्बरको गाडीबाट उनीहरूले करिब २० लिटेल डिजेल निकालेर अर्कौ ग्यालिनमा भर्न नपाउँदै प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरी इञ्चार्ज सन्तोष आचार्यले बताए।
बस धनीले पक्राउ परेका दुई किशोरविरूद्ध चोरीसम्बन्धी उजुरी बुधबार नै इलाका प्रहरी कार्यालय तुलसीपुरमा पुगेर दर्ता गराएका थिए। ती दुई किशोर मध्यरातमा ना ४ च ५७८७ नम्बरको कारमा आएर बसबाट डिजेल चोरी गर्दै गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो।
पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतले सात दिन थुनामा राखेर घटना अनुसन्धान गर्न म्याद दिएको उनले जानकारी दिए।
पक्राउ परेकाहरूमाथि आजदेखि अनुसन्धान सुरु हुने तुलसीपुरका प्रहरी प्रवक्ता पर्वत केसीले बताए। डिजेल चोर्न प्रयोग गरिएको कार तुलसीपुर ८ का दिलीप विकको रहेको प्रहरीले बताएको छ। बिक कालिका मालिका अटो प्रालिका अध्यक्ष हुन्।
कार धनी बिकले भने घटनामा आफ्नो कुनै संलग्नता नरहेको बताए। ‘मैले अघिल्लो दिन दिउँसो नै अर्का एक साथीलाई कार दिएको थिएँ। मलाई थाहा नदिएर मेरो कार दुरुपयोग भएको सुन्दा मलाई दुःख लागेको छ,’ उनले भने।
उनले प्रहरीलाई घटनाको अनुसन्धानमा सघाउने बताए।
यो पनि: कार चढेर आएकाले चोरे पार्किङमा राखेको गाडीबाट डिजेल