रोल्पामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।
परिवर्तन गाउँपालिका–१ कुरेलीका ४५ वर्षीय बुद्धिबल बुढा मगरको घर नजिकै भिरबाट लडेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार बिहीबार बिहान १० बजेतिर उनी घरदेखि दक्षिण दुई किलोमिटरको दूरीमा रहेको रिमुली गैरा जंगलमा एक्लै झ्याँक्रा काट्न भनेर गएका थिए।
बेलुका अबेरसम्म पनि उनी घर फर्किएर नआएपछि आफन्त तथा स्थानीय जंगलमा खोज्न गएका थिए।
राति दश बजेतिर सोही जंगलको एक भिरभन्दा १५ मिटरमुनि खसेर घाइते मगरलाई उद्धार गरी घर लगिएको थियो। त्यसपछि उपचारका लागि जिल्ला अस्पताल रेउघातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।