(यसपालि 'महिनावारीका कुरा' मा हामीले मिस नेपाल वर्ल्ड २०२२ प्रियंका रानी जोशीको अनुभव समेटेका छौं। काठमाडौंमा जन्मेकी २५ वर्षीया प्रियंकाले सन् २००५ मा पूर्व मिस नेपाल सुगारिका केसीले टेलिभिजनमा फरर बोलेको देख्दा मनमनै आफू पनि मिस नेपाल बन्ने सपना बुनेकी थिइन्। तर परिवारमा कोही पनि ग्ल्यामर क्षेत्रमा संलग्न नभएकाले उनलाई मिस नेपाल कसरी बन्छन् भन्ने थाहा थिएन। हुर्किंदै, बढ्दै गएपछि प्रियंका मोडलिङतिर आकर्षित भइन्। उनी सुविन भट्टराईको किताब मनसुनको कभरमा देखिइन्। त्यसपछि उनी मोडलिङमा लागिन्। उनले सन् २०१६ बाट मोडलिङ गर्न थालेकी हुन्। सेतोपाटीका मन्दिरा घिमिरेले जोशीसँग गरेको कुराकानीमा आधारित लेख यहाँ प्रस्तुत छ।)
***
दिउँसो स्कुलबाट खेलेर बेलुकी घर फर्कंदा रगत बगेकोजस्तो अनुभूति भयो। ट्वाइलेटमा गएर के रहेछ भनेर हेर्दा रगत आइरहेको देखेँ। घाउ भयो कि! कस्तो खाले घाउ भयो भनेर आत्तिएँ। एक-दुई घण्टा त चुप लागेँ। त्यही पनि रगत बग्न छोडेन। त्यसपछि आमालाई भन्नै पर्यो भनेर बोलाएँ।
सबै कुरा भनेपछि आमाले मीठो मुस्कान दिएर ‘वेल्कम टु वुमनहुड’ भनेर भन्नुभयो। त्यसपछि आफू पहिलोपटक महिनावारी भएको भनेर थाहा पाएकी थिएँ। त्यतिबेला १० वर्षकी थिएँ र कक्षा पाँचमा पढ्थेँ।
घरमा बार्ने चलन नभएका कारण कहिले पनि आमाबालाई आफू महिनावारी भएको कुराकानी गर्न अप्ठ्यारो भएन।
मैले सानो हुँदा अरूको घरमा हुने चलन तथा प्रथाहरू खासै ध्यान दिएकी थिइनँ। तर समयक्रमसँगै त्यस्ता कुराहरू सूक्ष्म ढंगले हेर्न थालेँ।
जुनै पनि कुरा पहिलेदेखि नै चल्दै आएको छ भने त्यहाँ केही न केही कारण पक्कै पनि हुन्छ। पहिले महिनावारी हुँदा कपडा लगाउने चलन थियो, धेरैलाई कसरी लगाउने भनेर समेत थाहा हुँदैनथ्यो। रगत कहीँकतै चुहिएला र लाग्ला कि भन्ने हुन्थ्यो। त्यही भएर त्यो बेला महिनावारी बार्ने गरिन्थ्यो र भान्छा कोठामा जाने गरिँदैनथ्यो होला। तर अहिले समयसँगै महिनावारीमा आवश्यक पर्ने सामग्री राम्रो बन्न थालेका छन्। त्यसैले अहिले महिनावारी हुँदा बार्न पर्ने कुनै पनि कारण पनि छैन, यदि कसैले त्यस्तो भन्छ भने प्रश्न गर्न सक्ने हुनुपर्छ।
मलाई एउटा कुरा अचम्म लाग्छ। के कारणले हो थाहा छैन। तर दसैं आउनु र मेरो महिनावारी हुनु सँगै हुन्छ। व्यक्तिगत रूपमा मेरो मनपर्ने चाड भएका कारण र महिनावारी हुँदा टीका लगाउन हुँदैन भन्ने कुरालाई तोड्न पनि मैले महिनावारी भएको बेलामा सधैं टीका लगाउने गर्छु। किनकि महिनावारी र चाडपर्वसँग कुनै पनि लेनदेन छैन।
छरछिमेक, आफन्तले बार्ने र आफूले नबार्ने हुँदा कतिपय कुराहरू मिल्दैन र लुकाएर राख्नुपर्छ। किनकि उनीहरूको बुझ्न सक्ने क्षमताको स्तर एउटै नहुँदा कुराहरू लुकाएर राख्दा नै उत्तम हुने रहेछ भनेर बुझेँ।
महिनावारी हुनुभन्दा अगाडि स्कुलमा कहिले पनि ज्ञान दिइएको थिएन, न त जनचेतनामूलक कुराहरू नै सिकाइएको थियो। घरमा आमा महिनावारी हुँदा जहिले पनि मलाई चासो लाग्ने गर्थ्यो।
उहाँले एउटा प्याडजस्तो के बोक्नुहुन्थ्यो, त्यो के हो भनेर सोध्दा उहाँले ‘यो प्याड हो, महिनावारी हुँदा हामीले लगाउँछन्। यो नारीहरूले लगाउँछन्’ भनेर भन्नुभएको थियो। जसले गर्दा मलाई आफू महिनावारी हुँदा प्याड समाउने कसरी चलाउने, लगाउने र सम्हाल्ने भनेर अन्योलमा पर्नु परेन।
घरमा महिनावारीको समयमा बारेर कडाइ गरेको कहिले पनि देखिको थिइनँ। तर मेरो एक जना नातेदारको घरमा दिदी महिनावारी हुँदा घरका सदस्यले चिया समेत उमालेर खानुहुँदैन रहेछ। त्यो चार दिन उहाँहरूले खाना बाहिर रेष्टुराँबाटै मगाएर खानु हुँदो रहेछ।
बिहेपछि महिनावरी हुँदा बुढालाई छुन र सँगै सुत्न नहुने भन्ने रहेछ। छुट्टै कोठामा सुत्नुपर्छ भन्ने रहेछ। यो कुरा त मैले पहिले कहिले पनि सुनेकी थिइनँ। जब यी कुराहरू सुन्न थालें तब मलाई अचम्म लागेको थियो।
यस्ता भनाइहरू परिवर्तन हुन अवश्य पनि समय लाग्छ किनभने यी वर्षौंदेखि सुनिँदै र अभ्यास गरिँदै आएका कुरा हुन्। त्यसको लागि मानिसहरूले पहिले किन बार्ने गरेको थियो भन्ने इतिहास बुझ्न जरूरी छ। जसले गर्दा मानिसहरूले अब किन बार्नुपर्दैन भनेर शिक्षा पाउँछन्। त्यसैगरी महिलाहरूलाई जनचेतना दिन पनि उत्तिकै आवश्यक छ। यसरी महिलाहरूले महिनावारीको समयमा चार दिन थुनेर राख्यो भने त उनीहरूको जीवनीमा हरेक महिना चार दिन थुन्दै राख्दा त कतिदिन र वर्ष गइरहेको छ, कति-कस्तो असर परिरहेको छ भन्ने कुराको समेत हिसाब राख्नुपर्यो नि त!
स्कुल लेभलमा महिनावारी जस्ता विषयमा पढाइ हुन जरूरी छ, पढाइ हुँदैन भने छलफलमात्र भए पनि हुनुपर्छ।
हाम्रो शैक्षिक प्रणालीको मुख्यः खोट भनेको नै जनचेतना दिइने काम हुँदैन। प्रजनन् स्वास्थ्य र महिनावारीको विषयमा खुलेर कुराकानी गर्यो भने अझ राम्रो हुनेछ। महिनावरी नारीत्वको स्वागतमात्र नभई मातृत्वको स्वागत पनि हो। हामीले महिनावारीको शिक्षा महिला र पुरूष दुवैलाई दिनुपर्छ। शिक्षा पुरूषहरूलाई खाँचो छ भने जनचेतना महिलाहरूलाई दिनुपर्छ।
मलाई पहिले एकदमै मुड स्वीङ हुने गर्थ्यो। काममा भएका कुराहरू समेत घरमा आएर पोख्थें जसले गर्दा काममा कुनै असर पर्दैनथ्यो। तर अहिले समयसँगै महिनावारी हुँदा मेरो मुड स्वीङ हुँदैन, अहिले मुड स्वीङले मलाई कन्ट्रोल गर्ने होइन मैले मुड स्वीङलाई कन्ट्रोल गर्नुपर्छ भनेर काम गर्छु।
महिनावारीको कुरा हामीले पुरूषसँग पनि खुलेर कुराकानी गर्नुपर्छ ताकि पुरूषहरूले पनि महिनावारी भनेको त सामान्य कुरा रहेछ भनेर बुझून्।
मिस नेपालको फाइनलमा गाउन लगाएर बस्दाखेरी स्टेजमा जानुअगावै महिनावारी भएको थाहा पाएँ। त्यतिबेला त्यहाँ प्याड रहेनछ। आमालाई अगाडिबाट बोलाउन मिलेन त्यहाँको सहयोगीलाई सोध्दा प्याड छैन भन्नुभयो। तर अन्त्यमा कसैसँग मागेर ल्याइदिनुभएको थियो। त्यसैले महिनावारीले आफूलाई तनाव दिँदादिँदै पनि त्यसलाई अरू कुराले भुलाउन सकियो भने काम गर्न सकिन्छ।
जसरी महिनावारी हुनुभन्दा अगाडि मेरी आमाले महिनावारीबारे ज्ञान दिनुभएको थियो। त्यसरी नै अरू आमाबाले पनि आफ्नो नानीहरूलाई महिनावारीबारे ज्ञान दिनुभयो भने साना बहिनीहरूलाई सहज हुन्छ।
यो पनिः
१- एलिना चौहान भन्छिन्- हाम्रो घरमा भाइले बहिनीलाई प्याड किनेर ल्याइदिन्छ (भिडिओ)
२- कमेडियन सीता भन्छिन्- पहिले महिनावारी हुँदा कुरा काट्थे, अचेल केक काट्छन्! (भिडिओ)
३- सृष्टि केसी भन्छिन्- कतिले त तिमीहरू पनि महिनावारी हुन्छौ र भनेर सोध्छन् (भिडिओ)
४- अल्ट्रा धावक मीरा भन्छिन्- महिनावारी बारेको कहिल्यै थाहा पाइनँ (भिडिओ)
५- रंगकर्मी सिर्जना भन्छिन्- महिनावारी भएको ६ महिनासम्म कसैलाई भनिनँ (भिडिओ)
६- एलिन भण्डारी भन्छन्- महिनावारीले मलाई तँ पुरूष होइन, महिला होस् भनेझैं लाग्थ्यो (भिडिओ)
७- कलाकार बेनिशा हमाल भन्छिन्- महिनावारी भएका बेला क्यामरा छोएर सुटिङ रोकियोसम्म भन्थे! (भिडिओ)
८ - महिनावारीबारे कुरा गर्न लजाउनु हुँदैन (भिडिओ)
९- म पहिलोपटक महिनावारी हुँदा आमाले खुसी भएर अरूलाई सुनाउनुभएको थियो (भिडिओ)
१०- डिआइजी मीरा चौधरी भन्छिन्- महिनावारी बार्न लगाउनु अधिकार हनन हो (भिडिओ)
११- 'नछुने भन्ने शब्द नै मलाई मनपरेको थिएन' (भिडिओ)
१२- 'महिनावारीबारे पुरूषले पनि बुझ्नुपर्छ' (भिडिओ)