दशनामी संन्यासीहरूको मृत्युपछि उनीहरूको पार्थिव शरीर समाधिस्थलमा गाड्ने परम्परा छ। त्यही परम्परा मान्दै मंगलबार एक वृद्ध व्यक्तिको शव भक्तपुर नगरपालिकास्थित हनुमानघाटको समाधिस्थलमा गाड्न लगिएको थियो।
शव गाड्ने ठाउँमा काठमाडौं उपत्यका विकास प्राधिकरणले धमाधम संरचनाहरू निर्माण गरिरहेको थियो। यो प्राधिकरणले उनीहरूको समाधिस्थलमा गरेको हस्तक्षेप थियो। त्यस दिन केहीबेर उनीहरूबीच विवाद पनि चर्कियो। तर मान्छे बित्दाको भावुक समय भएकाले शव गाडेर उनीहरू फर्किए।
यसरी प्राधिकरणले हनुमानघाटको समाधिस्थलमा हस्तक्षेप गरेको यो पहिलोपटक होइन।
प्राधिकरणले यो जग्गामा फुटसल, भलिबल खेल्ने, व्यायाम गर्ने तथा पार्क बनाउने मास्टर प्लान बनाएको छ। वर्षौंदेखि मृत मानिसको शव गाडिँदै आएको समाधिस्थलमा यस्ता संरचना बन्न लागेपछि नेपाल दशनामी समाज समाधिस्थल व्यवस्थापन समिति, हनुमानघाटले मुद्दा पनि हालेको थियो।
उक्त मुद्दाको फैसला गर्ने क्रममा २०७० सालमै अदालतले आदेश दिएको थियो, 'समाधिस्थलमा कुनै पनि निर्माण कार्य गर्न नदिनू।'
अदालतले फैसला गरिसकेको भए पनि यहाँ धमाधम खेलकुद मैदान बन्दैछ। यसलाई सम्पदा अभियन्ता एवं नेपाल दशनामी समाज समाधिस्थल व्यवस्थापन समिति, हनुमानघाटका संयोजक रवीन्द्र पुरी अमानवीय र गैरकानुनी गतिविधि मान्छन्।
'सर्वोच्चको आदेश नै कुल्चिनेहरूलाई सरोकार निकायले कारबाही गर्नुपर्ने होइन?' पुरीले प्रश्न गरे, 'भक्तपुर नगरपालिकाको नारा नै पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति भन्ने छ। के हाम्रो संस्कृति चाहिँ संस्कृति होइन?'
दशनामीहरू दस वटा थर मिलेर बनेका संन्यासीहरू हुन्। उनीहरूको थरहरू गिरी, विर्त, सागर, वन, अरण्य, तीर्थ, आश्रम, पुरी, भारती र सरस्वती गरेर स्थान विशेषको आधारमा बनेको मानिन्छ। भक्तपुरमा मात्रै उनीहरूले पुज्दै आएको छ सय वर्षभन्दा पुराना १६ वटा मठ छन्। दशनामीहरूको संख्या झन् हजारभन्दा बढी भएको रवीन्द्र पुरी बताउँछन्।
भक्तपुरका दशनामीहरूले १८ रोपनीमा फैलिएको हनुमानघाटको समाधिस्थलमा शव गाड्ने गरेका छन्। यस जग्गाको उत्तरतर्फ दशनामीहरूले समाधि गर्दै आएका छन् भने सोही जग्गाको उत्तरतर्फ दर्शनधारी (कपाली) जातिको शव गाड्ने स्थल छ। त्यस्तै पश्चिमतर्फ ब्राह्मण, क्षेत्री र नेवारहरूको लाश जलाउने अलगअलग ब्रह्मनाल एवं घाट छ।
'यस्तो पवित्र ठाउँमा खेलकुद मैदान त बुद्धि नभएको मान्छेले मात्र बनाउँछ। हामीले हाम्रो मान्छे गाड्दै आएको ठाउँमा खेलाडीहरूले कसरी खेल खेल्न सक्लान्? त्यो कुरा सरोकार निकायहरूले सोच्नुपर्ने होइन?,' पुरीले भने, 'यहाँ भइरहेको निर्माण काम तत्काल बन्द गरी समाधिस्थल व्यवस्थित र प्रदूषणमुक्त बनाइयोस्।'