प्रहरीले थप एक तिब्बतियन शरणार्थी नेपाली नागरिकतासहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा २७ वर्षकी निमा ल्हामो गुरूङ रहेकी छन्। उनलाई प्रहरीले बिहीबार बौद्धबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।
तिब्बतबाट भारत विहार दिल्ली हुँदै यहाँ आएकी उनी २ वर्षदेखि बौद्धको बुद्ध तुसाल क्याम्पमा बसोबास गर्दै आएको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।
उनले सरकारी कार्यालयहरूको कागजात, छाप तथा कर्मचारीको दस्तखत समेत किर्ते गरी झूटा लिखत तथा नक्कली सिफारिस तयार गरी नक्कली बुवा समेत खडा गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएको अनुसन्धानमा देखिएको उनले जानकारी दिए।
नागरिकता बनाउनका लागि उनले नेपाली नागरिकता भएका एक जनालाई क्याम्पका व्यक्तिमार्फत् सम्पर्क गरेकी थिइन्। नागरिकता बनाइदिए बापत उनले ठूलो परिमाणमा रकम दिएको बुझिएको प्रहरीले जनाएको छ।
‘उनले क्याम्पमा बसोबास गर्ने व्यक्तिमार्फत् कृष्णबहादुर कटुवाललाई नागरिकता बनाउनको लागि सम्पर्क गरेको थिइन्’, उनले भने, ‘नागरिकता बनाउनको लागि गुरूङले ५ लाख रूपैयाँ कटुवाललाई तिरेको देखिएको छ।’
उनीबाट एक थान नागरिकता बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले नागरिकता ऐन तथा लिखतसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाएको बताएको छ।