सप्तरीमा ज्वाइँको कुटपिटबाट ससुराको मृत्यु भएको छ।
बोदेबर्साइन नगरपालिका-६ खामगडा बस्ने ५५ वर्षीय छठु महतोको शनिबार दिउँसो मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेशकुमार सिंहका अनुसार उनका ज्वाइँ २३ वर्षीय रामचन्द्र महतोले कुटपिट गरेका कारण छठुको मृत्यु भएको परिवारको आरोप छ।
उनका अनुसार छठुमाथि गत पुस ११ गते राति सवा ९ बजे ज्वाइँ रामचन्द्रले कुटपिट गरेका थिए।
घरासयी विवाद हुँदा भएको कुटपिटमा छठुको नाक, मुख टाउको र शरीरका विभिन्न भागमा चोट लागेको थियो। घाइते भएका छठुलाई स्थानीय जीवन ज्योति अस्पतालमा सामान्य उपचार गरेपछि थप उपचारको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।
स्वास्थ्यमा सुधार आएपछि उनलाई चैत १८ गते घर फिर्ता ल्याइएको डिएसपी सिंहले बताए।
घरमै औषधी खाइरहेकोमा छठुको शनिबार दिउँसो २ बजे उनको मृत्यु भएको हो।
उनको मृत्यु भएको खबर पाएपछि इलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट खटिएको प्रहरीको टोलीले अनुसन्धान अघि बढाएको थियो। यस्तै इलाका प्रहरी कार्यालय कडरबोनाबाट प्रहरी निरीक्षकसहितको अनुसन्धान टोली पनि खटिएको थियो।
मृतक छठुकी ५५ वर्षीया श्रीमती मायावती नौनियाले ज्वाइँ रामचन्द्रविरूद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिएकी थिइन्। उनले आफ्ना श्रीमान् छठुको मृत्यु हुनुभन्दा अगाडि उक्त जाहेरी दिएकी थिइन्।
अनुसन्धान पछि जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो। अदालतले रामचन्द्रसँग ५० हजार धरौटी माग गरेको थियो।
धरौटी तिर्न नसकेपछि उनी राजविराज कारागार चलान भएका थिए।
यस घटनामा छठुको मृत्यु के कारणले भएको हो भन्ने पोष्टमर्टमको रिपोर्टबाट खुलेपछि आरोपितमाथि कर्तव्य ज्यान मुद्दामा मुद्दा दर्ता गर्ने/नगर्ने निर्णय हुने डिएसपी सिंहले बताए।