नेपाल प्रहरीका चार जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)ले दर्ज्यानी चिन्ह पाएका छन्।
गत शुक्रबारको मन्त्रिपरिषदको निर्णयअनुसार डिआइजीबाट बढुवा भएका चार जना एआइजीले आइतबार दर्ज्यानी चिन्ह पाएका हुन्।
प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले एआइजी सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।
‘सरकारको लक्ष्य प्राप्तिका लागि नेपाल प्रहरीले निर्वाह गर्नुपर्ने जिम्मेवारीहरू मनग्यै छन्। तिनलाई केन्द्रविन्दुमा राखी नेपाल प्रहरीका दैनिक कार्यहरू उच्च मनोबलका साथ सम्पन्न गर्न निर्देशन दिन चाहन्छु,’ महानिरीक्षक कुँवरले भने।
उनले आगामी दिन अझ चुनौतीपूर्ण हुनसक्ने उल्लेख गर्दै उपल्ला विभागले बनाउने योजना, तयारी र नीतिले यस्ता चुनौतीको सामना गर्न सक्षम हुने बताए।
साथै सम्भावित अराजकता लगायतका गतिविधिको आँकलन गरी त्यसलाई निस्तेज गर्नमा केन्द्रित रहन उनले प्रहरी अधिकृतहरूलाई निर्देशनसमेत दिए।