दाङको घोराहीबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।
घोराही उपमहानगरपालिका-१६ बैरबुटाका २१ वर्षीय भुवन डाँगी र घोराही-१० नारायणपुरका २० वर्षीय प्रवेश रोका पक्राउ परेका हुन्।
उनीहरू दुबै जना बैरबुटाको शिवशक्ति टोलबाट पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उनीहरूबाट एक ग्राम ब्राउन सुगर बरामद भएको हो।
ब्राउन सुगरकै घटनामा फरार रहेका अर्का एक जनालाई पनि प्रहरीले पक्राउ गरेको छ।
गत असोज २९ गते घोराही-१३ बडहराबाट २० वर्षीय सरोज महरा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको थियो। उनीबाट ५ ग्राम ४३० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो। त्यस घटनामा संलग्न एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा घोराही-१७ गुलरियाका २३ वर्षीय डिम्याक्सलाल दसौदी छन्।
पक्राउ परेका उनीहरूविरूद्ध लागु औषध सम्बन्धी मुद्धा चलाउने प्रहरीको तयारी छ।