रौतहटको ईशनाथ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार उनीविरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।
गुप्ताले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो।
उनी २०५१ वैशाख २९ गतेमा सार्वजनिक सेवामा प्रवेश गरेदेखि २०७९ जेठ २५ गतेसम्मको अवधिमा विभिन्न शीर्षकहरूमा भएका आय र व्यायमाथि अख्तियारले अनुसन्धान गरेको थियो।
अनुसन्धान हुँदा एक करोड ४९ लाख ९७ हजार ८६४ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको प्रवक्ता दाहालले बताए। उनले पेश गरेको सम्पत्ति विवरण अमिल्दो र अस्वभाविक देखिएको अख्तियारले बताएको छ।
सेवा अवधिमा रहँदा उच्च जीवनस्तर यापन गरेको र सार्वजनिक पदको दुरूपयोग गरी एक करोड ४९ लाख ९७ हजार ८६४ रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको भन्दै अख्तियारले उनीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो।
उनीमाथि बिगो रकम कायम गरी कैद र जरिवाना गराउन पनि मागदाबी गरेको छ। त्यस्तै उनकी श्रीमती उषा गुप्ताको नाममा रहेको सम्पत्ति पनि जफत गर्न अख्तियारले माग गरेको छ।
नन्दकिशोरले गैरकानुनी रूपमा आर्जन गरेको रकमले जग्गा र घर निर्माण समेत गरेको प्रवक्ता दाहालले बताए। ती जग्गा भने श्रीमती उषाको नाममा राखिएको भन्दै सम्पत्ति पनि जफत गर्न माग गरेको हो। अख्तियारले उषालाई पनि प्रतिवादी कायम गरेर सम्पत्तिमध्ये बिगो जफत गरी मागदावी गरेको हो।