अपराधीको निशानामा परेको हात्ती चञ्चलकलीले आइतबार साँझ सुँडबाटै करिब डेढ सय लिटर पानी खाएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन्।
मंगलबार राति चितवन, सौराहास्थित हात्तीसारमा रहेको ४५ वर्षको पोथी हात्ती चञ्चलकलीको सुँड काटिएको थियो। दुखाइले छट्पटाएको घाइते हात्तीले पाँच दिनदेखि आफैं खान सकेको थिएन। शनिबार दिउँसो बल्ल सुँडमा पानी भरेर मुखमा पुर्याउने प्रयास गरेको थियो।
राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका वन्यजन्तु भेटेरिनरी प्राविधिक किरण रिजालका अनुसार हात्तीले आइतबार साँझ आफैंले सुँडबाट पानी खाएको छ। एक सुँडमा ७–१० लिटर पानी अट्छ। पानी भरिएपछि हात्तीले सुँडको अघिल्लो भागलाई मुखभित्र जिब्रोको पछाडि पुर्याएर निल्छ।
'मुखबाट पानी खान नपाउँदा धेरै तिर्खाएको थियो। शनिबारबाटै प्रयास गरे पनि धेरै खान सकेको थिएन। आइतबार साँझ लगातार ३२ सुँड पानी खायो। डेढ सय लिटरभन्दा बढी पानी एकै पटक खाएको हो,' रिजालले भने।
मंगलबार राति सुँड काटिएपछि चञ्चलकलीको रेक्टल विधि (मलद्वारबाट पाइप छिराएर पानी शरीरमा पानी पुर्याउने) बाट शरीरमा पानी पुर्याइएको थियो। हात्तीले पानी खान नसकेको अवस्थामा शरीरलाई आवश्यक पर्ने पानीको मात्रा रेक्टल विधिबाट पुर्याइन्छ।
उसलाई यसअघि दैनिक तीन पटक रेक्टल विधिबाट पानी दिइएको थियो। खाना भने माउतेले मुखमा हालेर खुवाइदिन्छन्। हात्तीका लागि आवश्यक घाँस अहिले चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्र खोरसोरका कर्मचारीले उपलब्ध गराइदिएका छन्।
'उसको घाउ सुक्न थालेको छ। संक्रमण छैन। सोचेभन्दा छिटो प्रगति भइरहेको छ। यहीअनुसार प्रगति हुँदै गयो भने छिट्टै सुँडले खानेकुरा पनि टिपेर खान सक्छ,' रिजालले भने, 'त्यसपछि त काम गर्न पनि सकिहाल्छ।'
चञ्चलकलीको हरेक दिन आठदेखि दसपटकसम्म घाउ सफा गरिन्छ। एकपटक सिरिञ्जबाट पेनकिलर, एन्टिबायोटिक लगायतका औषधि दिइन्छ।
मंगलबार राति करिब ११ बजेतिर हात्तीको सुँड काटिएपछि माउते दीपक मर्दनियाले हात्तीपालक पर्यटन व्यवसायी दीपेन्द्र खतिवडालाई फोन गरेका थिए। स्वास्थ्यकर्मीहरू करिब १२ बजेतिर हात्तीसार पुग्दा हात्ती छटपटाइरहेको थियो।
हात्तीको सुँड कसले किन काट्यो भन्ने थाहा हुन सकेको छैन। चितवन राष्ट्रिय निकुञ्ज र चितवन प्रहरीले यसको अनुसन्धान गरिरहेका छन्।