बिजुलीको लाइन विस्तार गर्ने क्रममा कञ्चनपुरको बेलौरी नगरपालिका–८ मा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन्।
नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई लाइन विस्तार गर्नबाट भारतीय सीमा सुरक्षा बल (एसएबी) ले आइतबार अवरोध गरेको हो।
प्राधिकरण बेलौरी वितरण केन्द्रका प्रमुख कपिल जोशीका अनुसार हुलाकी सडकखण्डको कालो पुलदेखि पचुँईसम्मको क्षेत्रमा बिजुली लाइन विस्तारका लागि पुगेका कर्मचारीलाई 'माथि कुरा गर्नोस्' भन्दै लाइन विस्तार गर्न नदिइएको हो।
हुलाकी सडकको किनारै किनार बिजुलीको पोल गाड्ने काम भइरहेका बेला पुगेको एसएसबीको टोलीले काम रोकेको जोशीले बताए।
यो विद्युत लाइन विस्तारका लागि जगदम्बा बेताल कन्स्ट्रक्सनले ठेक्का पाएको छ। चालु आर्थिक वर्षभित्रै काम सक्ने गरी ठेक्का सम्झौता गरिएको छ।
लाइन विस्तारमा भारतीय सुरक्षाकर्मीले अवरोध गरेपछि पोल गाड्ने काम अलपत्र परेको छ।
स्थानीय बासिन्दाले हुलाकी राजमार्ग क्षेत्रको जग्गा नेपालकै भए पनि भारतीय पक्षले पटकपटक अवरोध गरी दुःख दिने गरेको गुनासो गरेका छन्।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बिजुली लाइन विस्तारमा के कारणले काम रोकेको रहेछ, बुझ्ने प्रयास भइरहेको बताए।
यसअघि हुलाकी राजमार्गको पचुँई क्षेत्रमा भारतीय पक्षले सडक कालोपत्र गर्ने काममा अवरोध गर्दै आएको छ।