चितवनकै सर्वाधिक धनराशीको ‘एक्सपर्ट क्वीज च्याम्पियन–२०२३’ को उपाधि भरतपुरको अरोमा कलेजले जितेको छ।
आइतबार भएको फाइनल प्रतिस्पर्धामा चार वटा कलेजलाई पछि पार्दै अरोमा कलेजले उपाधि जितेको हो।
अरोमाले उपाधिसंगै नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाणपत्र र अन्य विभिन्न उपहारहरु प्राप्त गर्यो। अरोमाबाट रोशन भण्डारी र जेनिश सुवेदी प्रतिस्पर्धा गरेका थिए।
भरतपुरको वाल्मीकि शिक्षा सदन फस्ट रनरअप बन्यो। उसले नगद ३० हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाणपत्र र अन्य विभिन्न उपहारहरु प्राप्त गर्यो।वाल्मीकिबाट सनिश सापकोटा र अर्चना न्यौपाने प्रतिस्पर्धा गरेका थिए।
त्यस्तै, पूर्वीचितवनको रत्ननगरस्थित नेपाल नमूना माध्यमिक विद्यालय सेकेण्ड रनरअप बन्यो। उसले नगद २० हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाणपत्र र अन्य विभिन्न उपहारहरू प्राप्त गर्यो। नेपाल नमूनाबाट बालकृष्ण कार्की र चेतना शर्मा प्रतिस्पर्धामा थिए।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुन सफल विद्यार्थीहरूलाई युनाइटेड टेक्निकल कलेज भरतपुरले भर्ना शुल्कमा क्रमशः एक लाख, ८० हजार र ७० हजार रुपैयाँ छुट दिने घोषणा गरेको छ। प्रतियोगितामा सहभागी अन्य ४८ वटा कलेजका विद्यार्थीहरूलाई भने ५० हजार रुपैयाँ छुट दिने घोषणा गरेको छ। एक्सपर्टले पनि विद्यार्थीहरूलाई विभिन्न शुल्कमा छुट घोषणा गरेको छ।
विजेताहरूलाई आयोजक नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्सका अध्यक्ष तथा प्रवन्ध निर्देशक राजु चौधरी, एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस चितवनका अध्यक्ष घननाथ अर्याल, निर्देशक डिल्लीराम अधिकारी, ब्राइटन कलेज अष्ट्रेलिया र अष्ट्रेलियन स्कुल अफ एकाउण्टिङका रिजनल म्यानेजर मुकेश भण्डारी, शिक्षा विकास तथा समन्वय इकाई चितवनका प्रमुख भूमिलाल शर्मा सुवेदी, हिसान चितवनका अध्यक्ष दिपेन्द्र ढकालले पुरस्कार वितरण गरेका थिए ।
फाइनल प्रतिस्पर्धाको उद्घाटन बागमती प्रदेश सभा सदस्य उत्तम जोशीले गरेका थिए।