चैत २२ गते बिहान साढे नौ बजेतिर रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ३ का ४१ वर्षीय तारामान बुढा र श्रीमती ग्वारी बुढाले चार छोरी र दुई छोरा सँगै बसेर खाना खाए।
विद्यालय बिदा थियो। खाना खाइसकेपछि १० वर्षीया साइँली छोरी रिना र ८ वर्षीया कान्छी छोरी कालीमायाले बुवा आमालाई आफूहरू सिस्नो र निगुरोको सागका साथै खरायोका लागि घाँस लिन जाने कुरा गरे।
रिनाले सिस्नो र निगुरोको साग र कान्छी छोरीले घरमा आठ वटा खरायो पालेको हुँदा उनीहरूका लागि घाँस काटेर ल्याउने भनेर पोलिथिनको झोला लगेर घरबाट करिब दश बजेतिर निस्के। यी दुई दिदीबहिनी त्यसभन्दा पहिले पनि साग सिस्नु टिप्न वा खरायोलाई घाँस काट्न जाने गर्थे।
दुई बहिनीको साथमा सिस्नुको साग र निगुरो टिप्न भनेर छिमेकी तथा मित बहिनीको छोरी तथा वडा सदस्यकी छोरी देविका बिक पनि सँगै गइन्। उनीहरू लगभग एकै उमेर समूहका थिए। रिना र देविकाले रमाउँदै खेल्दै सिस्नो र निगुरोको साग टिपे भने भने कालीमायाले खरायोका लागि घाँस काटिन्। एकै उमेर समूहका भए पनि नाताले देविका उनीहरूकी फुपू थिइन्।
उनीहरू घरभन्दा तलतिर झन्डै २० मिनेटको पैदल दूरीको खेतबारी भएको ठाउँमा गएका थिए। यहाँ जंगल वा भिरपाखो थिएन। केही बैंचका रुखहरू मात्रै थिए। त्यो दिन आसपासमा खेतबारीमा काम गर्ने अरू मानिसहरू पनि थिए।
दिउँसो पौने दुई बज्दै गर्दा देविकाले रिनालाई सिस्नु पुगिसकेको भन्दै घर फर्केर जान आग्रह गरिन्। तर, रिनाले भनिछन्, ‘फुपू हाम्रो परिवार ठूलो छ। यत्ति सिस्नु वा निगुरीको सागले पुग्दैन तपाईं जाँदै गर्नुस्। हामी दुई बहिनी केहीबेर अरू टिपेर फर्किने छौं।’
देविका साढे २ बजे साग टिपेर आफ्नो घर पुगिसकेकी थिइन्। देविकाले सँगै गएका भतिजीहरूले भनेको कुरा उनीहरूको घरमा गए पनि भनिन्।
घाम डाँडा खोलापारि पुग्यो। साँझको तरकारी पकाउने समय हुन थाल्यो। तर सिस्नु र निगुरोको साग टिप्न गएका दुई छोरीहरू घर आएनन्। अघिपछि उनीहरू दिउँसै घर आइपुग्थे। बुवा तारामान डाँडोमा गएर छोरीहरूलाई बोलाए।
उनीहरूले जवाफ फर्काएनन्। छोरीहरूले जवाफ नदिएको कुरा उनले श्रीमती ग्वारीलाई सुनाए। ग्वारी आँत्तिइन्। डाँडोमा गएर छोरीहरूलाई बोलाइन्। फेरि पनि जवाफ आएन।
उनीहरूकी जेठी छोरी १९ वर्षीया ज्ञानुले पनि बहिनीलाई बोलाइन्। जवाफमा केही सुनिएन।
सूर्य डाँडामा पुगिसकेको थियो। रिना र कालीमायाको अत्तोपत्तो थिएन। आमा-बुवाको मन चिसो भयो।
बालिकाहरू कहाँ गए होलान् भनेर गाउँघरमा हल्लाखल्ला भयो। तारामान र उनको परिवारले आशा मारेनन्।
साढे ७ बजेतिर ५०/६० गाउँले जम्मा भए। बाजागाजा बजाउँदै खोजीमा निस्के। तारामानका अनुसार अहिले पनि हिमाली भेगमा साना नानीहरूलाई भुतले सुटुक्क लैजान्छ भन्ने मान्यता छ। भुतले लगेको भए बाजागाजा बजाउँदै हो-हल्ला गर्दै गएमा त्यो सुनेर उसले लाज मानी छोडिदिन्छ भन्ने विश्वास छ।
मध्यरातसम्म खोज्दा पनि रिना र कालीमाया फेला परेनन्। राति १ बजे गाउँलेहरू घर फर्किए।
‘हामीले दुई छोरी साग सिस्नो टिप्न गएको तल खोज्यौं,’ तारामानले भने, ‘उनीहरूलाई त त्यसभन्दा करिब एक किलोमिटर माथि डाँडोमा लगेर हत्या गरी भिरबाट खसालिएको रहेछ।’
रिनाले कानमा सुनको आधा मोहर र कानमा ५ लालको फुली लगाएकी थिइन्। कालीमायाले कानमा सुनकै आधा सुक्का र नाकमा ५ आनाकै मोहर लगाएकी थिइन्। तारामानका अनुसार उनीहरूले लगाएका सुनका गहनामध्ये जेठी छोरी ज्ञानीले गत वर्षमात्रै तिमीहरूको कान रित्तै भए भनेर आफ्नो कानमा लगाउने मोहर मासेर गहना बनाइदिएकी थिइन। नाकमा लगाउने सुन भने बुवा तारामान र आमा ग्वारीले त्यसअघि नै बनाइदिएका थिए। साइली रिना स्थानीय आधारभुत विद्यालय रन्मामा यही वर्ष कक्षा ४ मा पुगेकी थिइन् र कान्छी फेल भएर कक्षा २ मै थिइन्।
बिहान पाँच बजेतिर गाउँलेहरू खोजीमा निस्के। साढे ६ बजेतिर तारामानका कान्छा सालाले कराउँदै भने, ‘भेना, कान्छी कालीमाया यहाँ छिन।’
कालीमायाको शव फेला परेको करिब २० मिटरमूनि रिना पनि अचेत अवस्थामा फेला परिन।
‘त्यो कुरा सुन्दा मेरो उठेर हेर्न जाने हिम्मत नै भएन,’ तारामानले भने, ‘कान्छी छोरीलाई काखमा राखेर बसेको मैले साइँली छोरी पनि जिउँदै छ कि? भनेर सोध्न पनि सकिनँ।’
घटनाबारे प्रहरीलाई खबर भयो। घटना शंकास्पद लागेपछि बाँकेबाट तालिम प्राप्त कुकुरसहित हेलिकप्टरबाट प्रहरी आउने भए।
घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट पैदल झन्डै एक दिनको दुरीमा पर्ने हुँदा प्रहरी प्रमुख डिएसपी रञ्जना श्रेष्ठसहितको टोली पुग्न समय लाग्यो। २३ गते रातभर पनि प्रहरीसहित स्थानीयले शव कुरेर बसे।
२४ गते बिहान १२ बजेतिर बल्ल तालिम प्रापत कुकुर र डिएसपी श्रेष्ठसहितको जिल्लाको टोली पुगेपछि मुचुल्का बनाउने क्रम सुरू भयो।
मोटरबाटो थिएन। गरह भन्ने ठाउँसम्म मात्रै स्ट्रेचरमा बोकेर दुई शव लगिए। त्यहाँबाट पालिकाको एम्बुलेन्सले शब बोक्यो। चैत २४ गते बेलुका अबेर मात्रै उनीहरू जिल्ला अस्पताल रूकुमकोट पुगे। २५ गते बिहान १० बजे मात्र रिना र कालीमायाको शवको पोष्टमार्टम हुने भयो।
पोष्टमार्टमपछि रन्मास्थित घरतर्फ ल्याउन रातको १२ बजिसकेको थियो। शबहरू ल्याउन थालेको कुरा गाउँ घरमा खबर पुगिसकेको थियो।
‘घरमा रिना र कालीमायाका शबहरू लैजाँदा सम्हाल्न गाह्रो हुन्छ भन्ने लागेर घरमा नलगी तलतल शवहरू डाँड भन्ने सदगद ठाउँमा लगेका थियौ,’ तारामानले भने, ‘गाउँलेहरूले तयार पारेका काठका बाकसमा शवहरू राखेर खाल्डोमा गाड्दा म र अरूहरू पनि खुबै रोँयको थियौं।’
२६ गते बिहान १ बजेतिर मात्रै घर फर्किएको बुवा तारामानले बताए।
उनलाई अझै पनि छोरीहरू मरे भन्ने विश्वास नै लाग्दैन।
‘मलाई अझै पनि दुई छोरीहरू बुवा भन्दै दौडिएर आउँछन् कि भन्ने आश लागिरहन्छ,’ उनले भने, ‘श्रीमती र छोराछोरीका अगाडि आँशु लुकाए पनि एकान्तमा बेस्सरी रून्छु।।’
प्रहरी स्रोतका अनुसार रिना र कालीमाया दुई दिदी बहिनीको हत्या सुन खोस्ने कारणले स्थानीय दुई किशोरीले मिलेर गरेको देखिएको छ।
उनीहरूको हत्या दिउँसो साढे दुईदेखि तीन बजेतिर भएको अनुमान गरिएको छ। पहिले दिदी रिनाको हत्या गरी पछि कालीमायाको हत्या भएको र हत्या पछि खोल्सामा शव लुकाएको आरोपीले बयान दिएका छन्।
त्यसपछि उनीहरूले साँझमा डोकोमा शव राखेर एक किलोमिटर टाढाको भिरबाट खसालिदिएको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार हत्यामा संलग्न दुई किशोरीहरू १५ वर्ष भन्दा कम उमेरका छन्। त्यसैले उनीहरूको नाम गोप्य नै राखिएको छ। पक्राउ परेका उनीहरूमाथि घटना अनुसन्धानका लागि जिल्ला अदालतले पाँच दिनको म्याद दिएको डिएसपी श्रेष्ठले बताइन्।