दाङको तुलसीपुर उपमहानगरपालिकालाई २३ थान वाकीटकी प्रदान गरिएको छ।
गैरसरकारी संस्था तयार नेपालले उपमहानगरपालिकाको विपद व्यवस्थापन शाखालाई ती सञ्चार उपकरण प्रदान गरेको हो।
उपमहानगरका हरेक १९ वडालाई एक/एक वटा, आपतकालीन कार्यसञ्चालन केन्द्रलाई एउटा, मेयरको सचिवालयलाई एउटा, दमकल शाखालाई एउटा र अर्को विपद शाखालाई ती वाकीटकी वितरण गरिएको विपद शाखा प्रमुख टोपबहादुर डाँगीले जानकारी दिए।
यसैबीच, वाकीटकी कसरी संचालन गर्ने भन्नेबारे तुलसीपुरमा कार्यरत प्रहरी सहायक निरीक्षकहरू खिमबहादुर विष्ट र रमेश विष्टले मेयर टीकाराम खड्का, वडाध्यक्षहरू, वडा सचिवलगायत अन्य जनप्रतिनिधिलाई प्रशिक्षण दिएका थिए।
प्रहरी अधिकारीहरूले विपदको समयमा वाकीटकीको मद्धतबाट एकैसाथ उपमहानगर भर सूचना प्रवाह गर्न सहज हुने जानकारी दिएका थिए।
विपदको समयमा छोटो समयमा र छिटो एकैसाथ सूचना प्रवाह गर्न सहज होला भन्ने उद्देश्यले वाकीटकी प्रदान गरिएको भन्दै दुरूपयोग नगर्न उनीहरूले सचेत तुल्याएका थिए।
आमसभा वा राजनीतिक सभामा व्यक्ति विशेषले नलैजान, गलत सूचना सम्प्रेषण नगर्न तथा जे पायो त्यही कुराहरू मनपरी नबोल्न सचेत तुल्याउँदै प्रहरी अधिकारीहरूले त्यसो गरे कारबाही हुने बताएका थिए।
‘छिटो सूचना र सजिलोको लागि प्रदान गरिएका यी उपकरणको दुरूपयोग गरेको पाइएमा कानुनबमोजिम कारबाही हुन्छ,’ उनीहरूले भनेका थिए, ‘अहिले पनि दाङको हकमा प्रहरीसँग मात्रै यस्ता संचार सेटहरू छन् भन्ने आम मानिसमा छ त्यसैले आमसभाजस्ता स्थानमा बोकेर नजानु होला।’
जिल्लाका दश पालिकामध्ये पहिलो पटक तुलसीपुरले मात्रै वाकीटकी प्रयोगमा ल्याउन थालेको हो।
तयार नेपालका प्रतिनिधि श्रमलाल चौधरीले करिब ५ महिना पहिले नै ती संचार उपकरण उपमहानगरपालिकाको विपद शाखालाई प्रदान गरेको जानकारी दिए।
एउटा सेटको खरिद मूल्य साढे चालिस हजार परेको र २३ वटाको कूल मूल्य नौ लाख ३१ हजार पाँच सय रुपैयाँ परेको चौधरीले बताए।
वाकीटकी सञ्चालनका लागि आवश्यक पर्ने रिपिटर सेटको मूल्य थप पाँच लाख ९६ हजार रुपैयाँ परेको उनले जानकारी दिए।
उपमहानगरका विपद शाखा प्रमुख टोपबहादुर डाँगीले तालिमलगायत विभिन्न कारणले तयार नेपालले प्रदान गरेका वाकीटकी प्रयोगमा आउन केही ढिलाइ भए पनि मंगलबारदेखि प्रयोगमा आएको जानकारी दिए।