बालुवाको ढिस्कोमा पुरिएर बैतडीमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
मृत्यु हुनेमा सिगास गाउँपालिका–२ धौलाडीकी ३३ वर्षीया राजमती भाट रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।
मङ्गलबार साँझ ७ बजेतिर धौलाडीस्थित सडकको भिरालो जमिनमा बालुवा खन्ने क्रममा ढिस्कोमा पुरिएकी राजमतीको घटनास्थलमै मुत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै बालुवाको ढिस्कोमा पुरिँदा दुई जना घाइते भएका छन्।
घाइते हुनेमा सोही ठाउँका ६२ वर्षीय सालिभानसिंह धामी र ४२ वर्षीय सङ्ग्रामसिंह धामी छन्। घाइते दुवैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरी निरीक्षक खत्रीले बताए।
सँगै बालुवा खन्न गएका नरेन्द्र धामी र मनोज धामी भने सकुशल छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।