दुई साता अघि पर्साको जिराभवानी गाउँपालिकाको सढी गाउँबाट वीरगञ्ज फर्किने बेला टन्टलापुर घाम थियो।
मोटरसाइकलमा यात्रा गरिरहँदा समेत हाम्रो छाला घामले पोलेको थियो। त्यही घाममा जितपुर चौरीको सुर्ती खेतमा एक हुल महिला बेपरवाह कोदालोले खेत खन्दै थिए। कोही मल छर्दै थिए। दिउँसो १२ बजेतिरको चर्को घामले नै उनीहरूमा ऊर्जा भरिदिएको जस्तो लाग्थ्यो।
त्यहाँ केही पुरुष पनि काममा थिए।
मधेशमा पुरुषसँगै कदम मिलाएर समूहमा महिलाले खेतमा काम गरेको दृश्य मेरा लागि नौलो थियो। मधेसकै मिथिलामा जन्मे हुर्के पनि यस्तो दृष्य हाम्रोतिर देख्न पाइन्न। त्यसैले पनि मेरालागि यो अनौठो भयो।
निधारबाट चुहिएको पसिना घरिघरि उनीहरूको आँखामै पर्थ्यो। नुनिलो पसिना आँखामा पर्दा आँसु पनि निस्कन्थ्यो।
जस्तै गर्मी भए पनि काम नगरी खान पाइँदैन। यो बाध्यताका सामु ४५ वर्षीया उर्मिला चौधरीलाई घाम, पसिना र आँसु सामान्य लाग्छ।
उनी र उनका साथीहरू सबैको दिनचर्या यस्तै हुन्छ।
कामको कुरामा जिज्ञासा राख्दा उर्मिला हच्किन्। बिस्तारै कुरा गर्दै जाँदा खुल्दै गइन्।
‘सधैँ कोदालो चलाउन ज्यानले साथ दिँदैन। हामीलाई बहुत दुःख छ,’ प्रश्नात्मक भावमा उनले भनिन्,‘आज कोदालो चलाइनँ भने भोलि छोराछोरीलाई कहाँबाट खुवाउने? किस्ता कहाँबाट तिर्ने?’
उनले कोदालो चलाउने ताकत भएसम्म चलाउने बताइन्।
उनले भनिन्, ‘जबसम्म कोदालो चलाउने ताकत छ तबसम्म जिन्दगी सहजै कट्छ। त्यसपछि के हुन्छ, कसरी बाँचिन्छ ठेगान छैन।’
उर्मिलाका तीन छोरी र एक छोरा छन्। जेठी छोरीको बिहे भइसकेको छ। माइली छोरीले आठ कक्षासम्म पढेर स्कुल छाडिन्। छोराले पनि नौ कक्षा पढेर स्कुल छाडे।
कान्छी छोरी छ कक्षामा पढ्दैछिन्। उर्मिला छोराछोरीले पढेको हेर्न चाहन्थिन् तर पढाउन सक्ने आर्थिक अवस्था भएन।
‘बस्नलाई जमिन छैन। हाम्रो जमिन पहिले नै महाजनले लिए। पेट पाल्न धौधौ छ अनि कसरी पढाउनु?' उनले भनिन्, ‘छोराले केही काम पाएको छैन। दुईजना छोरीलाई कहिलेकाहीँ आफूसँगै काममा ल्याउँछु।’
उर्मिला सधैँ बिहान छ बजेदेखि अपराह्न दुई बजेसम्म सिजनअनुसार गिरहत (जमिनदार) का खेतमा विभिन्न काम गर्छिन्। ज्यालामा पैसाको साटो धान पाउँछिन्, दिनभरि काम गरेबापत पाँच किलो धान।
सबै महिला कामदारको अवस्था यस्तै हो।
‘तीन वर्ष अघिसम्म दिनभर काम गर्दा साढे तीन किलो धान पाइन्थ्यो। अहिले बढाएर पाँच किलो दिन थालेका छन्,’ उनी भन्छिन्, ‘कोदालो चलाए पनि, रोपाइँ गरे पनि हामीले पाउने यतिमात्रै हो।’
यसै पनि पनि ज्याला थोरै छ। अझ महँगी बढेअनुसार ज्याला नबढेको उनको गुनासो छ।
भन्छिन्, ‘महँगाइले ढाड सेकिदिएको छ तैपनि हाम्रो ज्याला बढ्दैन। परिवार चलाउन नसकेर छोरीलाई स्कुल छोडाएर काममा ल्याउनु परेको छ।’
ज्यालामा धानको साटो पैसा लिन्छु भन्न पनि पाइन्छ। गिरहतले प्रतिकिलो ३० रुपैयाँका दरले पाँच किलोको १५० रुपैयाँ उपलव्ध गराउँछ। ज्याला थोरै मात्र होइन, अति थोरै छ।
त्यसमाथि महिला र पुरुषले फरक–फरक ज्याला पाउँछन्। उही कामबापत महिलाले पाउने ज्याला पुरुषले पाउनेभन्दा आधामात्रै छ।
दिनभरि सँगै काम गरेर महिलाले पाँच किलो धान वा १५० रुपैयाँ र पुरुषले १० किलो धान वा ३०० रुपैयाँ पाउँछन्।
नाम नलेख्ने शर्तमा एक जना गिरहतले पुरुषको तुलनामा महिलालाई आधामात्रै ज्याला दिने चलन रहेको बताए। उनका अनुसार महिला र पुरुषले गर्ने कामकै आधारमा ज्यालामा यस्तो फरक परेको हो।
ती गिरहतले भने, ‘महिलाभन्दा पुरुष बलिया हुन्छन्। पुरुषले बढी काम गर्छन्। हामी पनि पुरुषलाई दोब्बर ज्याला दिन्छौँ। यहाँको चलन यस्तै छ।’
खेतमा काम गरिरहेका महिलाहरूले आफूहरूले पनि पुरुषको जतिकै काम गर्ने गरेको भए पनि ज्यालामा ठगिएको बताए।
यसरी ठगिएकोमा महिला कामदारहरू दुःखी छन्। महिलाले पनि पुरुषको जति नै ज्याला पाउनुपर्छ भन्ने उनीहरूलाई लाग्छ तर आफूहरूले भनेर मात्रै केही हुँदैन भन्ने धारणा बनेको छ।
उर्मिलासँगै काम गर्दै गरेकी सावित्री चौधरीले महिला पुरूषले एउटै कामका लागि समान ज्याला पाउनुपर्छ भन्ने कुरा सुनेकी छन्। नेताका भाषणहरूमा सुन्ने गरेका यी कुरा गाउँमा लागु गर्न गाह्रो छ भन्ने उनलाई लागिरहन्छ।
‘भाषणमा नेताहरूले महिला र पुरुष बराबर हुन् भन्छन् तर गाउँमा त्यस्तो हुँदैन। देहात (गाउँ) मा बराबरी अधिकार मिल्नै सक्दैन,’ उनले भनिन्, ‘बोलेर केही फाइदा छैन। हामीले ज्याला बढाउन भन्यौँ भने गिरहतले कामै दिँदैन। हामीले त काम पाउनु पनि ठूलो कुरा हो। त्यसैले बोल्दैनौँ’
जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष रेखा चौधरीले बेरोजगारी समस्याका कारण विपन्न महिलाले निकै पीडा भोग्न परेको बताइन्।
‘काममा पुरुषभन्दा महिला कहीँकतै पछाडि हुँदैनन् तर पुरुषले महिलाको भन्दा बढी काम गर्छन् भन्ने धारणा छ,’ उपाध्यक्ष चौधरी भन्छिन्, ‘महिलाले मरिमेटेर काम गरे पनि पुरुषभन्दा आधामात्रै ज्याला दिने चलन छ। मिहिनेत अनुसारको ज्याला त पुरुषले पनि पाएका छैनन्।’
उनले गिरहतले महिला र पुरुष दुबैलाई बराबर ज्याला दिनुपर्ने बताइन्। ज्याला बढाउने कुरा गर्दा गिरहतले काम नदिने डर हुन्छ।
उनी भन्छिन्, ‘तिमीजस्तो काम गर्ने मान्छे धेरै छन्, अर्कोले गर्छ भनेर गिरहतले अर्को कामदार बोलाउँछ।’
उपाध्यक्ष चौधरीका अनुसार जिराभवानी गाउँपालिकामा विपन्न परिवारको संख्या निकै ठूलो छ। उनीहरू दैनिक मजदुरी गरेरै जीवन चलाउँछन्।
ज्यालाको यस्तो विभेद हटाउन गाउँपालिकाले कुनै पनि पहल गरेको छैन। महिला मजदुरहरू ज्यालाका विषयमा कुरा गर्न नआएकाले त्यतातर्फ ध्यान नगएको उपाध्यक्ष चौधरीको भनाइ छ।
छोरीलाई स्कुल नपठाउनुको कारण पनि गरिबी नै हो। सानोतिनो काम गर्न सक्ने भएपछि आमाले छोरीलाई पनि सँगै काममा लैजान्छन्।
‘बिहान–बेलुकाको खानेकुरा जुटाउन पनि धेरैले छोरीलाई पढ्न पठाउँदैनन्। छोरीलाई पनि काममा पठाउँछन्,’ चौधरी भन्छिन्, ‘आमा एक्लैले डेढ–दुई सय रुपैयाँ कमाउँछिन्। दुई जना छोरी लिएर जाँदा छ–सात सय कमाउँछन्।’
उनले आफ्नो ठाउँमा १२–१३ वर्षको उमेरमै छोरीलाई ज्यालामा काम गर्न पठाउने चलन रहेको बताइन्।
महिलाहरू आर्थिकरूपमा निकै कमजोर र पीडित रहे पनि आफू नयाँ भएकाले चालु आर्थिक वर्षमा महिलाका लागि कार्यक्रम ल्याउन नसकेको उनले बताइन्।
‘तिमी महिला हौ, हाम्रो दुःख बुझिदेऊ भनेर थुप्रै महिलाहरू गुनासो पोख्छन्। कोही रुन्छन् पनि तर पहिलो बजेट आउँदा मलाई केही थाहै थिएन,’ उपाध्यक्ष चौधरीले भनिन्, ‘अगामी आर्थिक वर्षमा महिलाका लागि सिपमूलक तालिम दिने योजना ल्याउँछु।’
उनले सिलाइ–कटाइ गर्ने, अगरबत्ती बनाउने लगायत विभिन्न तालिम दिएर महिलालाई आत्मनिर्भर बनाउने आफूले सोचेको बताइन्।