सबभन्दा पहिला नामबाटै सुरू गरौं।
आठ रात, नौ दिन चल्ने भक्तपुरको सबभन्दा ठूलो सांस्कृतिक उत्सवलाई बिस्का: जात्रा भन्ने कि बिस्केट जात्रा? यसलाई बिस्केट भन्नु र बिस्काः भन्नुमा के अन्तर छ?
बिस्काः नेवारी शब्द हो। 'बि सि खात' बाट 'बिस्यात' र 'बिसिख्याट' हुँदै बिस्काः भएको हो। भक्तपुरका बासिन्दा अहिले पनि यो जात्रालाई 'बि सिकाया' वा 'बिसिका' नै भन्छन्।
नेवारी भाषामा 'बि' को अर्थ सर्प र 'सिका' भनेको मरेपछि हो। त्यसैले यो जात्रालाई सर्प मारेको अवसरमा मनाइने उत्सवका रूपमा लिइन्छ।
त्यस्तै, 'बिस्यात' भनेको लामो काठको यःसिं र 'बिसिख्याट' भनेको सर्प भएको यःसिं भन्ने बुझिन्छ। बिस्काः जात्राको मुख्य आकर्षण रथ तान्ने उत्सव भए पनि नयाँ वर्षको अन्तिम दिन राति योसिंख्यमा यःसिं उठाउनु र नयाँ वर्षको दिन यःसिं ढाल्नु यो जात्राको मुख्य परम्परा हो। यःसिं उठाउनुअघि टुप्पोमा दुइटा सर्पको प्रतीकस्वरूप दुइटा ध्वजा बाँधिन्छ र अष्टमातृकाका प्रतीक आठवटा डोरीले य:सिं तानिन्छ।
यो जात्रामा सर्प कसरी जोडिन पुग्यो भन्नेबारे दुईवटा कथा म तपाईंहरूलाई भन्छु है!
पहिलो कथा
लिच्छवि राजा शिवदेव द्वितीयको समयमा पूर्वतिरका किराँतहरूबाट नेपाल मण्डलमाथि हमला भयो।
राजा शिवदेव बज्रयोगिनी (खड्योगिनी) को शरणमा गए। बज्रयोगिनीले राज्यका शेखर अचाजु (कर्माचार्य) सँग सल्लाह लिनू भनेर राजालाई भनिन्।
बज्रयोगिनीको आज्ञाअनुसार राजा शिवदेव शेखर अचाजुकहाँ सल्लाह लिन गए।
राजाको कुरा सुनेपछि अचाजुले समस्या समाधान गर्ने बाचा गरे।
यसैअनुसार अचाजुले बाघको रूप धारण गरे र हजारवटा बाघ तयार पारेर राति नै किराँतहरूमाथि धावा बोले। बाघको आक्रमणले किराँत फौजमा हल्लीखल्ली मच्चियो। काठमाडौं उपत्यका हान्न आएका किराँतहरू फेरि पूर्वतिरै फर्किए।
युद्ध जितेपछि शिवदेवले बाघ बनेका अचाजुलाई अक्षता छर्कंदै मन्त्र फुकेर पूर्वस्वरूपमा फर्काए र सिन्दुरेजात्रा गर्दै बिदावारी गरे।
अचाजुको यस्तो चमत्कारी खुबीबारे उनकी श्रीमती नररूपा बेखबर थिइन्।
आफ्ना श्रीमान जुनसुकै जनावरको रूप धारण गर्न सक्छन् भन्ने थाहा पाएपछि उनले भनिन्, 'तपाई अजिंगर पनि बन्न सक्नुहुन्छ? मलाई अजिंगर हेर्ने खुब इच्छा छ।'
सुरूमा त अचाजु अनकनाए। नररूपाले निकै कर गरेपछि उनी अजिंगर बन्न तयार भए।
उनले एक मुठी चामल हातमा लिए र त्यसमा मन्त्र फुकेर नररूपालाई दिँदै भने, 'म तिम्रो खुसीको लागि अजिंगर त के, जे पनि बन्न तयार छु।'
उनले अगाडि भने, 'मलाई अजिंगरबाट अहिलेकै स्वरूपमा फर्काउन तिमी यो चामलको अक्षता छर्किएर मन्त्र फुक्न चाहिँ नबिर्सनू है!'
यति भनेर उनले अक्षता नररूपाको हातमा राखिदिए र उनलाई मन्त्र पनि सिकाइदिए, अनि आफू श्रीमतीको मन राख्न अजिंगरको रूप धारण गरे।
जसै उनी अजिंगर बने, नररूपा डरले थुरथुर भइन्। जिउबाट पसिना छुटे, हातगोडा लगलग कामे। दाँत किटकिट बज्न थाले।
त्यसपछि उनलाई आफ्ना श्रीमानले भनेको कुरा होसै भएन।
अचाजुलाई वास्तविक स्वरूपमा फर्काउन उनले चामलको अक्षता छर्केर मन्त्र फुक्नुपर्ने थियो। तर उनी अक्षता भएको मुठ्ठी कसेर त्यहाँबाट कुलेलाम ठोकिन्।
नररूपा भागेको देखेपछि अजिंगर बनेका अचाजु सम्झाइबुझाइ गर्न उनको पछि पछि लागे।
उनी जति पछ्याउँथे, नररूपा उति डराउँथिन्। उनलाई अजिंगर आफूमाथि नै हमला गर्न आएको हो कि भन्ने लाग्थ्यो।
डराएर भाग्दै गर्दा एकठाउँ नररूपाको पटुकी फुस्कियो। उनले पटुकी कस्न हातमा रहेको अक्षता क्वाप्प मुखमा हालिन्।
नररूपाले जसै अक्षता मुखमा हालिन्, उनी आफू पनि अजिंगर बनिन्।
यसरी श्रीमान-श्रीमती दुवै अजिंगर भएपछि अब उनीहरूलाई वास्तविक स्वरूपमा फर्काउने कसले?
अजिंगर बनेका अचाजु चिन्तित भए।
उनले झल्याँस्स सम्झिए- यसअघि बाघको रूप धारण गरेर किराँत फौजमाथि हमला गर्दा उनले आफूलाई वास्तविक स्वरूपमा फर्काउने मन्त्र राजा शिवदेवलाई सिकाइदिएका थिए। राजा शिवदेवले त्यही मन्त्र फुकेर अक्षता छर्केपछि उनी बाघबाट मान्छे बनेका थिए।
यो कुरा दिमागमा आएपछि अजिंगररूपी अचाजु दम्पती राजदरबार गए।
तर राजा शिवदेवले उनीहरूलाई चिनेनन्। आफ्नो राजसभा बैठकमा आएका दुइटा अजिंगरलाई उनले 'कसैलाई हानि-नोक्सानी नगर्नू' भनेर फिर्ता पठाइदिए।
त्यसपछि त अचाजुसँग मानव स्वरूपमा फर्किने कुनै उपाय बाँकी रहेन।
निराश हुँदै उनी आफ्नी पत्नीसहित भक्तपुरको योसिंख्यमा गए र भद्रकाली पिठनेरको प्वालमा धसिएर आत्महत्या गरे।
अचाजु दम्पतीको आत्महत्यापछि भक्तपुर राज्यमा अनिकाल परेर हाहाकार मच्चियो। राजा शिवदेवले अनिकालको कारण के हो भनेर राज्यका गुरूपुरोहितसँग सरसल्लाह गरे। अजिंगर दम्पतीको आत्महत्याकै कारण राज्य संकटमा परेको भन्नेमा सबैको एकमत रह्यो।
त्यसपछि राजा शिवदेव योसिंख्य गए, जहाँ अचाजुले आत्महत्या गरेका थिए।
त्यहाँ उनले दुइटा अजिंगर घिस्रिएको चिह्न देखे। त्यो चिह्न पछ्याउँदै जाँदा उनले योसिंख्यको भद्रकाली पिठनेर अजिंगर दम्पतीको लास देखे। उनले दुइटै लासलाई घोरिएर हेरे।
अघिल्लो राजसभा बैठकमा अजिंगररूपी अचाजुलाई नचिनेका राजा शिवदेवले त्यतिखेर भने उनलाई फ्याट्टै चिनिहाले। त्यसपछि उनलाई आफूबाट भएको गल्तीमा निकै पछुतो भयो।
तर पछुताएर के गर्नू! तीर धनुषबाट छुटिसकेको थियो!
राजा शिवदेव निराश हुँदै दरबार फर्के र आफ्नो राज्यलाई किराँतहरूको आक्रमणबाट बचाउने शेखर अचाजुको पराक्रम अनन्तकालसम्म सम्झनामा रहिरहोस् भनेर वर्षको अन्तिम दिन अजिंगरका दुवै लास लामो काठको यःसिंमा झुन्ड्याएर 'बिस्यात' भन्ने जात्रा चलाए।
किम्बदन्ती त्यसै बन्दैन। त्यसभित्र इतिहासको कुनै घटनाक्रम लुकेको हुन्छ। बिस्का: जात्रासँग जोडिएको यो किम्बदन्तीमा लुकेको ऐतिहासिक घटना खोज्ने हो भने लिच्छवि र किराँतहरूबीच भएको युद्धको झलक पाइन्छ।
इतिहासअनुसार भारतको वैशालीबाट आएका लिच्छवि राजाहरूले किराँतहरूलाई हराएर नेपाल मण्डलमा शासन गरेका थिए। किराँतहरूमाथिको विजय उत्सव मनाउने क्रममा भक्तपुरमा बिस्का: जात्रा मनाउन थालिएको हुनसक्छ।
त्यसो हो भने बिस्का: जात्रालाई एउटा राजवंशमाथि अर्को राजवंशले विजय हासिल गरेको राजनीतिक उत्सव मान्न सकिन्छ।
दोस्रो कथा
परापूर्वकालमा एक प्रतापी राजा थिए। उनलाई आफ्नी छोरीको विवाह हुन नसकेकोमा खुब चिन्ता थियो।
राजाले छोरीको विवाह गराउने प्रयत्न नगरेका होइनन्। छिमेकका एक-से-एक समृद्ध राज्यबाट एक-से-एक पराक्रमी राजकुमार विवाह गर्न आएका थिए। तर जसले पनि राजकुमारीसँग विवाह गरेर एक रात बिताए, अर्को दिन ऊ जीवित रहेन। भोलिपल्ट बिहान कोठामा उनको लास फेला पर्यो।
त्यही भएर राजाले आफ्नी छोरीसँग एक रात बिताएर जिउँदै बाहिर आउने व्यक्तिलाई ज्वाइँ बनाउने र अथाह धनसम्पत्ति र राज्यसमेत दिने घोषणा गरे।
एकदिन एक प्रतापी राजकुमार जंगलको बाटो हिँड्दै थिए। खोला किनार पुगेपछि एक बूढी आमैसँग उनको जम्काभेट भयो।
कुरैकुरामा बूढी आमैले राजकुमारीको विवाहमा उत्पन्न समस्या सुनाइन् र भनिन्, 'दुलाहा सुतिसकेपछि राजकुमारीका नाकका दुई प्वालबाट एक जोडी सर्प निस्कन्छ। त्यही सर्प ठूलो हुँदै अजिंगर बन्छ र दुलाहालाई डसेर मार्छ।'
उनले अगाडि भनिन्, 'त्यो अजिंगरबाट बच्ने उपाय मसँग छ।'
राजकुमार उपाय सुन्न उत्सुक भए।
बूढी आमैले भनिन्, 'यहाँबाट पूर्वी दिशामा त्रिवेणी भन्ने खोला छ। त्यो खोलाको किनारमा एउटा खड्ग छ। जसले त्यो खड्ग लिएर राजकुमारीको नाकका प्वालबाट निस्कने जोडी सर्पलाई एकै प्रहारमा दुई टुक्रा पार्न सक्छ, उसको भाग्य खुल्नेछ। उसले राजाकी छोरीसँग विवाह गरेर राजा हुन पाउनेछ।'
बूढी आमैको कुरा सुनेपछि राजकुमार त्यहाँबाट पूर्वतिर लागे।
नभन्दै त्रिवेणी खोलाको किनारमा बूढी आमाले भनेझैं खड्ग फेला पर्यो। उनी त्यो खड्ग लिएर राजकुमारीसँग विवाह गर्न दुलहाको उम्मेदवार भएर दरबार गए।
त्यो रातभर उनी जाग्राम बसे र हातमा खड्ग लिएर राजकुमारीको नाकका प्वालहरूमा एकटक हेरिरहे।
मध्यरात राजकुमारी मस्त निद्रामा रहेका बेला उनको नाकका प्वालबाट दुइटा सर्प निस्के। ती सर्प बिस्तारै ठूलो हुँदै अजिंगर बने।
जसै ती अजिंगर डस्न तयार भए, राजकुमारले आफ्नो हातमा लिएको खड्गले एकै प्रहारमा दुवै अजिंगरलाई दुई टुक्रा पारे।
भोलिपल्ट बिहान राजकुमारीको शयनकक्षबाहिर भारदारहरूको भीड जम्मा भयो। उनीहरू पहिलेजस्तै दुलाहाको शव लिएर अन्त्येष्टि गर्न लैजाने तयारीमा आएका थिए। तर यसपटक दुलाहा कोठामा सकुशल थिए भने भुइँमा दुइटा अजिंगरको लास थियो।
यो घटनापछि राजाले बडो धुमधामका साथ राजकुमारसँग राजकुमारीको विवाह गराइदिए र राज्य पनि उनैलाई सुम्पिए।
दुई अजिंगरका लासलाई तत्कालीन दरबार भएको ठाउँ तौमढी टोलबाट खटमा राखेर जात्रा गर्दै योसिंख्य लगेर विसर्जन गरियो।
अघिल्लो किम्बदन्तीमा जस्तो यसमा लिच्छवि र किराँतहरूबीचको युद्धको झलक पाइँदैन। तै पनि अजिंगरमाथि विजय प्राप्त गरेर राज्य हासिल गरेको र युद्धमा मारिएका अजिंगरको जात्रा निकालेको कथाले किराँतहरूलाई जितेर विजय उत्सव मनाइएको हो कि भन्ने संकेत गर्छ।
संस्कृतिविद् ओम धौभडेल बिस्काःलाई लिच्छविकालीन जात्रा मान्छन्। किराँतहरूलाई पराजित गरेपछि लिच्छविहरूले विजय उत्सवका रूपमा यो जात्रा मनाएको उनको भनाइ छ।
उनका अनुसार पछि मल्ल राजाहरू विश्व, जगज्योर्ति, रणजित लगायतले यो जात्रा विकसित गर्दै अहिलेको स्वरूपमा ल्याएका हुन्।
'बिस्काः जात्रा राजनीतिक उत्सव हो। एउटा वंशको पतन र अर्कोको उदयका रूपमा यो जात्रा मनाउने गरिन्छ,' उनले भने, 'भक्तपुर पहिले नेपाल मण्डलकै राजधानी थियो। यक्ष मल्लका माइला छोरा रत्न मल्लले पछि स्वतन्त्र राज्य बनाए। त्यसपछि इलाका सानो हुँदै गयो।'
धौभडेलले अगाडि भने, 'भुवन मल्लले राज्य आफ्नो अधिनमा राख्न बिस्काः जात्रा अरू ठाउँमा पनि देखाउने क्रम जारी राखे। त्यसैले हामी साँखु, तौमढी, बोडे लगायत ठाउँमा पनि बिस्का: मनाएको देख्छौं।'
राजा भुपतिन्द्र मल्लले बिस्का:सँगै नवदुर्गा नाच पनि ठाउँ–ठाउँमा देखाएको उनी बताउँछन्। भुपतिन्द्रकै पालामा बिस्का:को रथलाई एकतलेबाट तीनतले बनाउने चलन सुरू भएको हो।
बिस्काःमा भैरवसँगै भद्रकालीको रथ पनि तानिन्छ। भद्रकाली र भैरवलाई श्रीमान–श्रीमतीका रूपमा लिइन्छ।
कथाअनुसार एकपटक भैरव र भद्रकालीको झगडा परेछ। पछि भैरवले भद्रकालीलाई फकाएर गःहितिमा समागम गरेको भनाइ छ। त्यसैले बिस्काः जात्रा बेला भैरव र भद्रकालीको समागमका रूपमा दुई रथ जुधाउने चलन छ।
बिस्काःलाई 'विश्व जात्रा' पनि भनिन्छ। यसको प्रमाण भक्तपुरको तौमढीस्थित नेपाल सम्बत् ६३१ को यक्ष मल्लको शिलापत्र हो, जसमा 'विश्व जात्रा' भनेर लेखिएको छ।
बिस्काःमा भैरवको वाहन मानिने बेताललाई भैरवको अगाडि राखिन्छ। संस्कृतिविद् धौभडेलका अनुसार बेताल भनेको मानन्धर समुदायका साना बालक हुन्। सानो बालककै स्वरूपमा उनको मूर्ति निर्माण गरिएको हुन्छ। बेताललाई बोक्ने पनि मानन्धर समुदायकै हुन्छन्।
किम्बदन्तीअनुसार भक्तपुरको पाँचतले मन्दिरनजिकै पुःबहा (पुजारी बहाल) मा एउटा छुकछुके बच्चा आइरहन्थ्यो। आफ्नो उपद्रो स्वभावका कारण टोलभरि त्यो बच्चाको चर्चा थियो। ऊ ढोकाबाट नभएर झ्यालबाट पस्थ्यो। अर्काको भान्सामा छिरेर पकाउँदा पकाउँदैको भात पल्टाइदिन्थ्यो। कहिले सुतिरहेको मान्छेको गालामा प्याट्ट हान्थ्यो। जे गर्नु हुँदैन भन्यो, त्यही गर्थ्यो।
यस्ता सारा उपद्रोका बाबजुद ऊ भैरव भगवानको निम्ति भने राम्रो काम गर्थ्यो। त्यही भएर भैरवले उसलाई आफ्नो वाहन मानेको थियो।
भैरवनाथको रथ पूरै चुकुलले बनेको हुन्छ। एकपटक एउटा चुकुल हराएर सिकर्मीलाई आपत परेछ। पछि त्यो चुकुल एउटा केटाले खोजेर ल्यायो। बुझ्दै जाँदा त्यो केटा बेताल रहेछ।
त्यस्तै, एकपटक काठमाडौंका राजा प्रताप मल्ल र ललितपुरका राजा श्रीनिवास मल्लले भक्तपुरमा जात्रा गर्न नदिने भनेर आक्रमण गरेछन्। जात्रा नहुने छाँट देखेपछि स्थानीय दुःखी भए। त्यो बेला बेतालले एउटै औंलाले रथ तानेर जात्रा सम्पन्न गरेको मानिन्छ। पाँचतले मन्दिरको गजुर पनि उनैले राखेको स्थानीय विश्वास गर्छन्।
'त्यही भएर बिस्काः जात्राभरि बाटामा उट्पट्याङ गर्ने बच्चा देख्यो भने मानिसहरू गाली गर्दैनन्। त्यो भैरवकै वाहन बेताल हुनसक्छ भनेर जे गरे पनि छुट दिइन्छ,' धौभडेलले भने।