रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-३ का १० वर्षीया रिना बुढा र ८ वर्षीया कालीमाया बुढाको हत्यापछि आरोपित दुई किशोरी त्रासले आफैं घर छोडेर हिँडेको तथ्य खुलेको छ।
प्रहरीका अनुसार हत्यामा संलग्न किशोरीहरू १५ वर्षभन्दा कम उमेरका छन्।
बुढा दिदीबहिनीको हत्या उनीहरूले कान र नाकमा लगाएका झन्डै एक तोलाभन्दा धेरै सुन खोस्ने लालचमा भएको तथ्य हालसम्मको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
चैत २२ गते झन्डै साढे २ बजेदेखि ३ बजेको बीचमा सिस्नो र निगुरोका साग अनि खरायोका लागि घाँस काटिरहेका रिना र कालीमायाको हत्या भएको प्रहरी अधिकारीले बताएका छन्।
हत्यापछि आरोपित दुई किशोरीले शव खेतबारीकै खोल्सामा लुकाएका थिए। बेलुकी झिसमिसे अँध्यारो भएपछि डोकोमा शव लगेर एक किलोमिटर टाढोको भिरबाट फालिदिएको पनि खुलेको घटना अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताए।
प्रहरीका अनुसार चैत २३ गते बिहान मात्रै बुढा दिदीबहिनीको शव भिरमा फेला परेको थियो। उनीहरूको निधार र टाउकोमा दाउराले आक्रमण गरेको घाउ हुनुका साथै घाँटीमा पनि निलडाम देखिएको छ। पहिले उनीहरूमाथि आक्रमण गरी बेहोस बनाई घाँटी थिचेर हत्या गरिएको थियो।
शवको नाक र कानमा सुनका गहना थिएनन्। त्यसबाट उनीहरूको हत्या गहना लुट्न भएको निष्कर्षमा प्रहरी पुगेको हो।
बुढा दिदीबहिनीको शव भिरबाट फालेदेखि नै आरोपित दुई किशोरी आ–आफ्नो घर छाडेर गाउँघरमा भौंतारिएका थिए।
'अभियुक्तहरू आफ्नो घरमा नबसेर गाउँमै कहिले कसको घरमा, कहिले कसको घरमा जाने आउने गरिरहेको तथ्य खुल्यो,' घटना अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने, 'शंका लागेर उनीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको थियो। उनीहरूले केही बेरमै हत्यामा आफूहरूको संलग्नता रहेको स्वीकार गरे।'
दुवै किशोरी भएकाले प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन।
'दुई बालिकाको हत्या कसले किन गरेको होला भन्नेमा अन्यौल नै थियो,' ती प्रहरी अधिकारीले भने, 'गाउँकै तथा चिनजानकै दुई बालिकाले उनीहरूको हत्या गरे होलान् भन्ने कसैले कल्पना गर्ने कुरै थिएन।'
घटनापछि अभियुक्तहरू आफैं त्रास वा आत्तिएर घरमा नबस्नुले उनीहरूले केही देखे कि भनेर सोधपुछका लागि प्रहरी कार्यालयमा ल्याइएको थियो। सोधपुछ क्रममा कल्पनै नगरेको कुरा उनीहरूबाट सुन्न पाइएको ती प्रहरीले बताए।
'उनीहरूलाई पक्राउ गर्दा धेरैले अचम्म मानेका थिए। अरू नै कसैले हत्या गरेको र उनीहरूले देखेको हुन सक्नेसम्मको आशंका थियो,' उनले भने, 'तर आजसम्मको अनुसन्धान घटनामा पक्राउ परेका दुई किशोरीबाहेक अरू कसैको संलग्नता खुल्न सकेको छैन।'
रिना र कालीमायाको हत्यापछि उनीहरूले गहना लगे पनि घरमा नलगी बाहिरै लुकाएको तथ्य खुलेको प्रहरीले बताएको छ।
'उनीहरू पक्राउ परेपछि सुन लुकाएको ठाउँको कुरा भनेका थिए। उनीहरूले नै लुकाएको सुन देखाएपछि फेला परेको हो,' उनले भने।
प्रहरीले रिना र कालीमायाको हत्या भएको २४ घन्टाभित्रै आरोपित दुई किशोरीलाई नियन्त्रणमा लिएको थियो। त्यसको अर्को दिन जिल्ला अदालतले घटना अनुसन्धानका लागि पाँच दिनको म्याद थपेको थियो।
यो पनि पढ्नुहोस्- ‘छोरीहरू बुवा भन्दै दौडिएर आउँछन् कि जस्तो लागिरहन्छ’