अवैध रूपमा लुकाइछिपाई बाह्य मुलुकतर्फ लैजान लागेको २७ हजार एक सय २९ अमेरिकी डलरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दुई जना बंगालादेशी नागरिक ३७ वर्षीय एमडी मोफिजुल इस्लाम र ४७ वर्षीय देवा सहिसकुमार साह र अर्का भारतीय नागरिक ४३ वर्षीय सन्दीपकुमार रहेको प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय, केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालबाट विमान बंगलादेशको उडानद्वारा ढाकातर्फ जान लागेका बंगलादेशी नागरिकको ह्यान्ड-ब्यागेज जाँच गर्ने क्रममा दुवै जनाको साथबाट १०/१० हजार गरी जम्मा २० हजार अमेरेकी डलर प्रहरीले फेला पारी पक्राउ गरेको जनाएको छ।
यसैगरी फ्लाई दुबईको उडानद्वारा दुबई हुँदै अमेरिका जान लागेका भारतीय नागरिक सन्दीप कुमारलाई सात हजार एक सय २९ अमेरिकी डलरसहित प्रहरीले पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहर भवन पुल्चोक, ललितपुर पठाइएको प्रहरीले जनाएको छ।